तिहार सुरु भएसँगै देउसी भैलोको स्मरण हुन्छ। देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ। अब यस वर्षको तिहार सुरु हुन केही दिन मात्रै बाँकी छ। त्यसैले पनि अहिले काठमाडौंमा मादल किन्नेहरूको भीड छ।
अन्य समयमा खोजी नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरूको घुइँचो लाग्छ। विभिन्न जिल्लाबाट मादल खरिद गर्नका लागि काठमाडौं आइपुग्छन्। आफूलाई मन पर्ने मादल छानेर किन्ने र घर लगि तिहारमा रमाउने हेतुले टाढाबाट काठमाडौं मादल किन्न ग्राहकहरू आउने गरेका छन्।
ओखलढुंगाको केत्तुकेबाट मादल किन्न आएका सुमन तामाङ गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल अनिवार्य हुने र मादल बिना रमाइलो नहुने बताउँछन्। त्यसैले पनि समूहका लागि मादल किन्न आएको बताउनँछ्।
अन्य ठाउँमा भन्दा विष्णु म्युजिक सपमा राम्रो मादल पाइने भएकाले आफू काठमाडौं आएको बताए। उनले आफूले विष्णु म्युजिक सपबाट तीन वर्ष यता मादल किन्ने गरेको बताए।
उनले भने, ‘गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल चाहिन्छ। यसले रमाइलो पनि हुन्छ। मादल राम्रो पाइन्छ। म यहाँ आउन थालेको तीन वर्ष भयो। रितिरिवाज, संस्कृति जगेर्ना पनि भयो।’
काठमाडौंको विष्णु म्युजिक सप सञ्चालन गर्दै आएका व्यवसायी रिपबहादुर कुलले गत वर्षको तुलनामा यस वर्ष मादलको व्यापार राम्रो रहेको बताए।
उनले २५ वर्ष यता काठमाडौंको वसन्तपुर क्षेत्रमा मादल व्यापार गर्दै आएको बताउँदै उनले १३ सयदेखि १२ हजारसम्मका मादल आफूले पसलमा राख्ने गरेको बताए। यस वर्ष १५ सयको हाराहारीमा मादल बेच्ने आफ्नो लक्ष्य रहेको बताए। मादलको लागि काठ सहजै पाउने भएपनि छाला भने ल्याउन गाह्रो रहेको बताए।
उनले भने,‘तिहार आउँदैछ, मध्यम व्यापार भइरहेको छ। भर्खर सुरु हुँदैछ, ग्राहकहरू आइरहनुभएको छ। पहिलाको तुलनामा मादल राम्रै विक्री भएको छ। व्यापार अलि बढेकै हो। मैले २५ वर्ष जति भयो व्यापार गरेको। १३ सयदेखि १२ हजारसम्मका मादल छन्। काठ मकवानपुरतिरबाट ल्याउँछौँ। तिहारमा १५ सय वटा जति मादल बेचिन्छ होला। मादलको सामान छालाहरू ल्याउन गाह्रो छ। छाला फोहोर पनि भयो। नेपाली बाजा, लोकबाजा छ, सरकारले केही संरक्षणमा लागेको छैन। हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि पुर्याउन जरुरी छ।’
उनले नेपाली लोकबाजालाई सरकारले संरक्षण गर्न जरुरी रहेको बताए। एउटा मादल तयार गर्न करिव १० दिन लाग्ने मादल व्यवसायीहरू बताउँछन्।
काठ खोपेर ढुङ्ग्रो बनाउनुपर्ने भएकोले अत्याधिक मेहनत र समय लाग्छ। विगतकै मूल्यमा मादल बेचिरहेको र बजार मूल्य चित्तबुझ्दो नरहेको व्यवसायीहरूको भनाइ छ।
Shares

प्रतिक्रिया