निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उत्रिएको छ। कम शो पाएको भन्दै बिहीबारबाट निर्माताले नेपालभरका हलबाट फिल्मलाई निकालेका हुन्।
आज कुनै पनि हलहरुमा यस फिल्मको शोहरु उपलब्ध छैनन्।
घटस्थापनाको अवसरमा असोज १७ गतेबाट रिलिज भएको यस फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुलेको थियो। पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा प्रयाप्त शो पाउन सकेन।
कम शो पाएपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखेका थिए। साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए।
फिल्मका निर्माता तथा अभिनेता निश्चलले आजबाट सम्पूर्ण हलबाट फिल्म उत्रिसकेको जानकारी दिए। साथै, उनले हप्तादिनमा ओटीटी प्लेटफर्म एएसएम भिडिओमा फिल्म ल्याउने योजना रहेको सुनाए।
‘आजबाट सम्पूर्ण हलबाट फिल्म उत्रिसकेको छ। अब यो फिल्म एमएसएम भिडिओमा आउँछ। अस्तिदेखि एपमा ओटीपीको समस्या आइरहेको थियो। अहिले त्यो समस्या लगभग समाधान भइसकेको छ। नयाँ भएकाले के के समस्या आँउछ भनेर ट्राइ पनि गरिरहेका छौँ। सायद अब हप्ताभित्रमा फिल्म रिलिज हुन्छ,’उनले भने।
उनका अनुसार एमएसएम भिडिओ गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ। दर्शकहरुले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन्। भर्खेरै मात्रै हलमा लागेकाले यस फिल्मलाई प्रिमियम कन्टेन्टको रुपमा एपमा राखिने उनले बताए।
हलको जति पैसा तिरेर दर्शकहरुले फिल्म हेर्न पाउने समेत उनले बताए।
भन्छन्, ‘प्रिमियम कन्टेन्टको रुपमा फिल्मलाई राखिनेछ। अहिले ठ्याक्कै कति रुपैयाँ राख्ने भन्ने फिक्स भएको छैन। नयाँ फिल्म भएका हलकै जति (३ देखि ४ सय) सम्मनै पैसा तिरेर दर्शकहरुले हेर्न पाउँछन्।’
निश्चलले दर्शकलाई आफ्नो चलचित्र हेर्नका लागि एप डाउनलोड गर्न समेत आग्रह गरेका छन्।
यद्यपि, यो फिल्म अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा उपलब्ध हुने छैन। यी देशहरूमा हलमै लाग्ने भएकाले तत्काल ओटीटीमा नआउने उनको भनाइ छ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन्।
यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो।
निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको फिल्मको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्। यस फिल्मले उमेर पुगेपछि आउने बिहेको प्रेसरको कथा भन्छ।
Shares

प्रतिक्रिया