नाजिर हुसेनको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ।
समुन्द्र भट्ट निर्देशित फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट भएको हो। जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियो जस्ता प्रतिष्ठित फिल्म संस्थाहरू पनि सहभागी हुनेछन्।
यसवर्षदेखि फिल्म मार्केट पनि सुरु गर्न लागेको तस्बिर फिल्म मार्केटले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई लक्षित गर्दै उनीहरूलाई फिल्म विकास र वितरणका लागि आवश्यक स्रोतहरू प्रदान गर्ने उद्देश्य राखेको छ। तस्बिर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले मार्केटको थालनीलाई निकै सकारात्मक मानेकी छिन्।
उनले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रुपमा हेर्दै फिल्म निर्माताहरूका लागि यो महत्त्वपूर्ण अवसर हुने बताएकी छन्।
यस फिल्ममा नाजिरले पारालैंगिक महिला ९ट्रान्सवुमन०को भूमिका निर्वाह गरेका छन् । यो भूमिका नेपाली सिनेमा जगतमा एक साहसी प्रयासको रुपमा हेरिएको छ।
फिल्ममा नाजिरसहित सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ। यो फिल्म भट्टको दोस्रो निर्देशकीय फिचर हो।
नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ।
चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो।
यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो। आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ।
यो फिल्मलाई फेस्टिभल सर्किटपछि नेपालमा प्रदर्शन गरिने निर्देशक भट्टले जानकारी दिइन्।

प्रतिक्रिया