ad ad

कला


फ्लप ‘रावायण’, चलेनन् पल शाह

कमजोर कथा, ध्वस्त भीएफएक्स र पूजाको बेलगाम बोली भयो भारी
फ्लप ‘रावायण’, चलेनन् पल शाह

लक्ष्मी बलायर
भदौ २६, २०८१ बुधबार १९:४६, काठमाडौँ

गत असार २८ गते प्रदर्शन भएको ‘घरज्वाइँ’ पछि कुनै पनि नेपाली फिल्मले बक्सअफिसमा कमाल गर्न सकेनन्। साउन महिना एक त बर्खायाम, त्यसमाथि सामान्य फिल्म। जसले हलसम्म दर्शक नपुग्नु स्वाभाविकै मानियो।

भदौ सुरु भएपछि सिनेमाको प्रदर्शन क्यालेन्डर भरिभराउ हुन्छ। यो वर्ष पनि यस्तै भयो। ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ देखि अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित ‘शाम्बाला’ सम्मका फिल्म यस महिनाको क्यालेन्डरमा अटाए।

यसमा पनि सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’ बहुप्रतीक्षित थियो। एक्सन जनरामा निर्माण भएको फिल्मका मुख्य कलाकार थिए, पल शाह र पूजा शर्मा।

दक्षिण भारतीय फिल्मको फ्लेवर। त्यसमाथि पलको डबल रोल। गीतको रेकर्डदेखि गायकगायिका पनि भारतकै। पोस्टप्रोडक्सनको काम पनि उतै। अनि लभस्टोरीमा जमेका सुदर्शनले लिएको जोखिम। जसका कारण सिनेकर्मीलाई यस फिल्ममाथि ठूलो आस थियो।

रावायण घोषणादेखि नै चर्चामा थियो। पहिले यस फिल्मको मुख्य भूमिकामा अनमोल केसी अनुबन्धित भएका थिए। तर, स्क्रिप्ट चित्त नबुझेको भन्दै अनमोलले फिल्मबाट हात झिके। त्यही कारण केसी हिरासतसम्म पुग्नुपरेको थियो। पछि उनकै ठाउँमा अभिनेता पल शाहलाई लिइयो।

कतिपयले त यस फिल्मबाट पलका दिन सुरु भएको भन्न पनि भ्याएका थिए। नाबालिग बलात्कारको मुद्दामा सफाइ पाएर कारागारमुक्त भएका पल पनि हिट कमब्याकको खोजीमा थिए। यसै वर्ष रिलिज भएको ‘पूजार सार्की’ बाट पलले चर्चा पनि पाए। तर, त्यसमा उनी मुख्य भूमिकामा थिएनन्। आर्यन सिग्देल र प्रदीप खड्काको मुख्य भूमिका थियो। त्यसैले यो फिल्मको सफलताको जस पलले पाउने अवस्थै थिएनन्।

रावायणबाट भने पल एक्सन हिरोको रूपमा उदाउने विश्वास गरिएको थियो। पूजाकै लगानी रहेको फिल्मले राम्रै हाइप बनाएको थियो। टिजरदेखि ट्रेलर हेरेर धेरैले मेकिङको प्रशंसा गरेका थिए। पब्लिसिटीमा पनि व्यापक खर्च गरिएको थियो।

तर, शुक्रबार रिलिज भएको यो फिल्म बक्सअफिसमा नराम्ररी पछारियो। शुक्रबार र शनिबारसमेत फिल्मले दर्शकहरूको साथ पाउन सकेन। उपत्यकाका केही हलहरूमा पल-पूजा पुगेर दर्शकसँग भेटघाट गरे। सामान्य उपस्थितिलाई ठूलो भिडभाड देखाएर हल्लाखल्ला गरियो।

तर, आइतबारबाट फिल्मको अकुपेन्सी न्यून रह्यो। आज (बुधबार) को शो हेर्दा पनि फिल्मको बुकिङ दयनीय छ। तीन/चार सय सिट क्षमताको हलमा जम्मा ५ देखि १० टिकट बिक्री भएका देखिन्छन्।

फिल्मको कमजोर व्यापार देखेर पल र पूजा पनि मोफसल हान्निएका छन्। फिल्म चलाउनका लागि उनीहरू मोफसलका दर्शकलाई भेटिरहेका छन्।

यसैबीच, फिल्म नचलेपछि फेरि पूजा अनेक फन्डा गरिरहेकी छिन्। पुण्य गौतमदेखि सन्तोष देउजासम्मका युट्युबरलाई बटुलेर मनलाग्दी बोलिरहेकी छिन्। दयाहाङ राईको फिल्म जातीय एकताले चलेको भन्नेदेखि आफूलाई यस उद्योगबाट लखेट्न खोजेको भन्नसमेत उनले भ्याएकी छन्।

तर, फिल्म नै कमजोर भएपछि दर्शकले कसरी मन पराउँछन् त? यस फिल्मको कथावस्तुदेखि प्रस्तुतीकरणमा समेत समस्या छ। महिलाको चित्रणदेखि हिंसात्मक दृश्यको प्रयोग ज्यादा, ध्वस्त भीएफएक्स। जबर्जस्ती साउथ इन्डियन फिल्मको फ्लेवर ल्याउन खोज्दा फिल्म चल्न नसकेको विश्लेषण गर्न सकिन्छ।

फिल्म समीक्षक तथा लेखक सामीप्यराज तिमल्सेना पनि फिल्म गतिलो नहुँदा दर्शकहरूको साथ पाउन नसकेको बताउँछन्।

उनले भने, ‘यो फिल्म नचल्नुका विभिन्न कारण छन्। जसमध्ये मुख्य कारण फिल्म गतिलो हुन नसक्नु नै हो। टिजर र ट्रेलरमा एक्सनमा खत्रा मेहनत गरेका थियौँ भनेर उनीहरूले हाइप बनाउन खोजे। तर, वास्तवमा दर्शकलाई तान्ने हिसाबको नहुँदा फिल्म नचलेको हो। सुदर्शन र पूजाका फिल्म चल्न छाडेको धेरै भइसक्यो।’

त्यसैगरी, लभरब्वायको भूमिकामा देखिँदै आएका पल शाहलाई एक्सन भूमिकामा स्वीकार गर्न नसकेको देखिन्छ। नक्कली दारीजुँगा र कपाल नसुहाएको प्रतिक्रिया आउँदा पल पनि क्यारेक्टरमा फिट भएका छैनन्।

राजेश हमाल हुँदै निखिल उप्रेती, विराज भट्ट नेपालमा एक्सन हिरोको रूपमा चिनिन्छन्। तर, पलको छवि एक्सन हिरोको नहुँदा दर्शकहरूले विश्वास गर्न नसकेको समीक्षक तिमल्सेनाको तर्क छ।

यी कारणबाहेक पूजा शर्माको बोलीमा लगाम नहुँदा पनि असर परेको देखिन्छ। रिलिजअगावै प्रचारप्रसारमा रहेकी पूजाले पलको बचाउ गर्दै एक अभिव्यक्ति दिएकी थिइन्।

‘एउटा एक्ट्रेसहरूको टिम नै बनाएको रहेछ। त्यहाँबाट मलाई आउट गरेको रहेछ। तर पनि केही छैन। भगवान छ, सत्यको जित हुन्छ। मलाई केही पनि फरक पर्दैन। आज कानुनले नै प्रुभ गरेको चिज हो। कानुनले बोलिसकेपछि सिद्धियो। कसैले बोलिरहन जरुरी छैन। पललाई अट्याक गर्न जरुरी छैन। तपाईंको आफ्नै छोरा छ भने सम्झिनुहोस् के,’ पूजाले एक पडकास्टमा भनेकी थिइन्।

जुन भिडिओ फेसबुकममा सेयर गर्दै गायिका समीक्षा अधिकारीले आक्रोश पोखेकी थिइन्। उमेरले झन्डै १४ वर्ष कान्छी कलाकारलाई यसरी बारम्बार प्रहार गर्नु गलत रहेको समीक्षाको भनाइ छ। पुरानो कुरा कोट्याएर पीडा दिएको र सिनेमा चलाउन यसो भनेको उनको आरोप थियो।

यो फेसबुकको जुहारीपछि समीक्षाका फ्यानहरूले पल-पूजाको फिल्म नहेर्ने प्रतिक्रिया दिएका थिए, रिलिजकै मुखमा।

त्यस्तै, नाबालिग बलात्कारको मुद्दा खेपेका पलको छवि पहिलेजस्तो छैन। जसकारण पललाई मिडियाले पनि स्पेस दिएनन्। युट्युब च्यानल र पडकास्टमा अन्तर्वार्ता दिँदा पलको प्रस्तुति त्यस्तै रह्यो। त्यसले पनि दर्शकहरूले बहिष्कार गरेको हुन सक्ने तिमल्सेना सुनाउँछन्।

‘मिडियामा जस्तो प्रस्तुति रह्यो, त्यो हेरेर पलप्रतिको सहानुभूति हराउँदै गएको छ। गायिका निर्दोष भन्ने दर्शकहरूले फिल गरिरहेका छन्,’ उनी भन्छन्।

पछिल्लो समय एक्सन जनराको फिल्म बनाउने क्रम बढ्दा ‘रावायण’ फ्लप हुनुले फिल्ममेकरहरूलाई पनि सोच्न बाध्य पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .