शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्म ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ। यो गीत मुख्य अभिनेता विपिन कार्कीकी स्वर्गिय आमा सरस्वती कार्कीप्रति समर्पित छ। गत साता मात्रै विपिनले आमा गुमाएका थिए।
सार्वजनिक गीतमा फिल्मको सार प्रस्तुत गर्न खोजिएको छ। हर्क साउदको शब्द रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर सुन्न सकिन्छ। गीतमा कल्याण सिंहले संगीत भरेका छन्।
लिरिकल गीतको भिडिओमा मुख्य कलाकार विपिनसहित वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड छन्। भिडिओमा फिल्मका दृश्यहरु समावेश गरिएका छन्।
यस फिल्ममा विपिन दोहोरो भुमिकामा छन्। फिल्ममा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाउने छन्।
‘तेल भिसा’बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका फिल्म निर्माण तथा निर्देशन गरेका थिए।
Shares

प्रतिक्रिया