जनै पुर्णिमा तथा रक्षा बन्धनको अवसरमा नीता ढुंगानाको फिल्म‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति तय गरिएको छ। यो फिल्म आगामी कार्तिक ३० मा रिलिज हुनेछ।
यसअघि यो फिल्म असोज ३ गतेबाट प्रदर्शन हुने भनिएको थियो। तर, फिल्मको प्राविधिक काम नसकिने भएपछि रिलिज सारिएको हो।
हाल सिनेमाको पोष्ट प्रोडक्सनको काम मुम्बईमा भैरहेको छ। दर्शकलाई एउटा पुर्ण रुपमा मनोरञ्जन दिने सिनेमा पस्किने उद्देश्यले प्राविधिक काममा कुनै कम्प्रमाइज नगरिएको अभिनेता हरिहर अधिकारीले बताए।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। फिल्ममा नीता र हरिहरसहित ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनबढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली सिनेमा हो।
अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ। मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ।
Shares

प्रतिक्रिया