‘यो जुनी त यस्तै भयो। अर्को जुनी दिन्छौ भने हे ईश्वर मलाई छोरो बनाइदेऊ, म बाआमाको खुसी बन्न चाहन्छु।’
यो संवाद फिल्म ‘सतीदेवी’ को टिजरमा समावेश छ। यो संवाद मात्रै नभई फिल्मको सार पनि हो। किनकि यस संवादले छोरा खोज्ने समाजमा छोरी हुँदा भोग्नुपरेको पीडा बोल्छ। अनि मुख्य पात्र सतीदेवी अधिकारीको मनस्थिति र अवस्थालाई चित्रण गर्छ।
फिल्ममा अभिनेत्री मलिका महत सतीदेवीको भूमिकामा देखिएकी छिन्। काठमाडौँमा जन्मेहुर्केकी मलिकाले न दु:ख भोग्नुपर्यो न विभेद। मलिकाका एक दाइ र एक भाइ छन्। एउटै छोरी भएकाले बुवाआमाले कहिल्यै भेदभाव गरेनन्। बरु छोरीको इच्छा र चाहनालाई बुझ्दै करिअरलाई अगाडि बढाउने टेको बनिदिए।
तर, सतीदेवीमा उनले ठ्याक्कै उल्टो पात्रको भूमिका खेल्नुपर्यो। गाउँमा हुर्किएकी सतीदेवीको जीवन अत्यन्त पीडादायी छ। घरकी जेठी छोरी हुन् सतीदेवी। उनकी आमाले लगातार छोरी मात्रै पाउँछिन्। जसले सतीदेवी र उनकी आमाले दिनहुँ दुर्वचन सुन्नुपर्छ, यातना भोग्नुपर्छ। समाज र बुवाको अपहेलनाबीच परिवारको जिम्मेवारी पनि सतीदेवीकै काँधमा हुन्छ।
भिडिओ-
त्यो कठिन जीवनलाई पर्दामा उतार्न सहज थिएन मलिकालाई। तर, उनले चुनौतीलाई स्वीकार गरिन् र सतीदेवी बन्न तयार भइन्।
झण्डै दुई वर्षअघि निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदीबाट फिल्मको अफर आयो। सुवेदीले म्यासेजमार्फत फिल्मको मूलकथाबारे जानकारी दिँदै प्रस्ताव गरे। फिल्मको कन्सेप्ट सुन्नेबित्तिकै मलिकालाई चासो लाग्यो। र, उनले स्क्रिप्ट पठाउन भनिन्।
कथा अनि लेखाइ सुन्दर लागेपछि फिल्म खेलेको उनको भनाइ छ।
‘स्क्रिप्ट पढ्नेबित्तिकै मलाई यो फिल्म गर्नुपर्छ भन्ने लाग्यो। किनकि स्क्रिप्ट निकै राम्रो थियो। लेखाइ पनि सुन्दर। पढिराख्दा नै मलाई फिल्म नै भिजुअलाइजेसन भएको थियो,’ उनले भनिन्, ‘सतीदेवी पात्रको कथा एकदमै मिठो छ। उसको भोगाइ र जीवनमा घटेको घटनाहरू समाजकै हुन्। सानो कुराले कसैको जीवनमा कसरी प्रभाव पार्दो रहेछ भनेर समाजलाई देखाउनुपर्छ लाग्यो। जुन मेरो जिम्मेवारी हो भनेर खेल्न तयार भएँ।’
पात्रजस्तै भेदभाव नभोगे पनि मलिकाले छोराछोरीबीचको विभेदका कुरा सुन्दै आएकी थिइन्। जसले स्क्रिप्ट पढ्दा कथासँग सजिलै जोडिइन्।
फिल्मको वर्कसप सुरू गरियो। जहाँ मलिकाले आफूलाई सतीदेवी चरित्रमा ढाल्न अनेक प्रयत्न गर्न थालिन्। सतीदेवीको भित्री कुरा खोतल्न थालिन्। उसको व्यक्गित स्वभावदेखि आत्मासँग नजिक हुन थालिन्। त्यसपछि आफू मज्जाले कनेक्ट भएको सुनाउँछिन् उनी।
तर, जब मलिका सेटमा पुगिन्। तब सतीदेवीले भोगाइहरू उनलाई वास्तविकझैँ लाग्न थाले। ती भोगाइ पर्दामा उतार्दा आँखा भिजेको पनि पत्तो पाइनन् उनले। ‘सतीदेवी’ खेलेपछि आफ्नो जीवनदृष्टि नै बदलिएको बताउँछिन् मलिका।
‘जब सेटमा गएँ, तब मेरो जीवनलाई हेर्ने नजर नै फेरियो। म सेटमा प्रस्तुति दिइरहेकी थिएँ। म कलाकार भए पनि त्यो कसैले भोगिरहेको कुरा थियो। सबै सिनको तौलले नै भावुक बनाउँछ। सबै कलाकार पनि निकै प्रतिभावान हुनुहुन्थ्यो। उहाँहरूबाट त्यही इनर्जी आउँदा भावुक भइन्थ्यो। पर्दामा त्यो भोग्दा म त कति धेरै भाग्यमानी रहेछु भन्ने लाग्यो। कति आरामको जिन्दगी रहेछ भन्ने महसुस भयो। फिल्म सकुञ्जेल म आफ्नो वर्तमान जीवनलाई लिएर अझै धन्य भएँ,’ उनले भनिन्।
सतीदेवीको पात्रमा निर्दोषितासँगै बहादुरी पनि थियो। मलिका आफैँलाई प्रश्न गर्थिन्: मैले सतीदेवीको जीवन भोग्नुपरेको भए सक्थेँ र?
फिल्ममा सतीदेवीलाई जुत्ताको माला लगाउने दृष्य छ। त्यसको छायांकनका लागि भिड जम्मा गर्नुपर्ने थियो। गाउँलेसामु उक्त सिन गर्दा आफ्नै माया लागेको सुनाउँछिन् उनी।
भन्छिन्, ‘हुन त जुत्ताको माला लगाउने दृश्य स्क्रिप्टमै थियो। यसबारेमा छलफल पनि भएको थियो। यो सिन विशेष डिमान्डिङ छ। सुटमा जुत्ताको माला लगाउने समय आउँदासम्म पनि यो चरित्र मात्र हो भन्ने सोचेको थिएँ। तर त्यहाँ गाउँकै बुवाआमासहित अरु जम्मा हुनुहुन्थ्यो। उहाँहरूले पनि के गरेको त्यस्तो विचरालाई भनेको सुन्दाखेरी आफूलाई आफ्नै माया लागेको थियो।’
यस फिल्ममा जोडिएपछि महिलाका विषयमा अझ धेरै बुझेर निकै दु:ख लागेको सुनाउँछिन् उनी।
उनले भनिन्, ‘महिलाको कुरामा मलाई पहिल्यैदेखि थाहा थियो। तर, जब म महिलाकेन्द्रित फिल्ममै जोडिएँ, तब थाहा भयो, फिल्मका दृश्यहरू वास्तविक घटनाबाट प्रभावित छन्। त्यो गरिराख्दा निकै नरमाइलो लाग्यो। धेरै बच्चा जन्माउँदा आमालाई कति गाह्रो भइरहेको छ। तर, बाध्यताले उहाँहरूले धेरै बच्चा पाइरहनुभएको हुन्छ। त्यो कतिसम्मको अन्याय हो भन्ने लाग्यो। त्यो गरिराख्दा महिला दिदीबहिनीका लागि दु:ख लागेको थियो।’
कक्षा ४ पढ्दाताका मलिकाले पहिलोपटक नाटकमा अभिनय गर्ने अवसर पाएकी थिइन्। गुरुकुलमा मञ्चन गरिएको मधुमालती कथामा नाटक खेलेपछि उनमा अभिनयप्रति रूचि बढ्दै गयो। त्यसपछि उनले कक्षा ८ मा पनि नाटक खेल्ने मौका पाइन्।
एसएलसी पास भएपछि मलिकाले व्यवस्थापन पढ्न थालिन्। मोडलिङतिर चासो राख्ने उनी इन्स्टाग्राममा फोटो पोस्ट गरिरहन्थिन्। तिनै तस्बिरका कारण उनलाई म्युजिक भिडिओसहित फिल्ममा काम गर्ने अफर आयो। २०७५ चैतमा रिलिज भएको ‘यात्रा: द म्युजिकल भ्लग’ मलिकाको डेब्यु फिल्म हो।
फूलबुट्टे सारी, टाढा भए पनि लगायतका म्युजिक भिडिओमा मलिकालाई निकै रूचाइयो। तर, पाँचवर्षे फिल्म करिअर मलिकाको त्यति सुखद हुन सकेन। यात्रासहित मलिका पानीफोटो र अगस्त्यमा मुख्य भूमिकामा देखिन्। यी कुनै पनि फिल्म बक्सअफिसमा सफल हुन सकेनन्।
सतीदेवी मलिकाको चौथो फिल्म हो। यात्रादेखि सतीदेवीसम्म आइपुग्दा आफूले धेरै कुरा सिक्न पाएको मलिकाको अनुभव छ।
‘यात्रादेखि सतीदेवीसँग जुन जुन प्रोजेक्ट गरेँ, एकदमै खुसी लाग्छ। जुन प्रोजेक्टले कनेक्ट गराउँछ, त्यो फिल्म मात्रै गरिरहेको हुन्छु। खेल्दै गर्दा कति धेरै कुरा सिकिसकेको रहेछु भन्ने लागेको थियो। त्यसकारण म सन्तुष्ट छु,’ उनले भनिन्।
आफूले खेलेका फिल्महरूले लगानी नउठाउँदा दबाब महसुस हुने सुनाउँछिन् उनी।
भन्छिन्, ‘अवश्य पनि प्रेसर फिल त हुन्छ। फिल्ममा ठूलो लगानी हुन्छ। जसले लगानी गर्नुहुन्छ। उहाँहरूको पनि मेहनतको परीक्षा हो। लगानी गरेपछि नाफा खोजिन्छ। त्यो हुँदा कलाकार भएका हिसाबले प्रोड्युसरको पैसा जोगियोस् भन्ने हुन्छ। त्यस्तो पैसा खर्च गर्दा घाटा हुँदा रमाइलो भएन नि त।’
मलिकाका दर्शकहरूले फिल्म हेर्नुको मुख्य कारण मनोरञ्जन मान्छिन्। जसकारण यथार्थवादी फिल्मभन्दा पनि हँसाउने र मनोरञ्जन दिने फिल्म ज्यादा चल्ने उनको भनाइ छ।
‘तर अहिले ट्रेन्ड चेन्ज हुँदै गइरहेको छ। यथार्थवादी र चरित्रप्रधान फिल्म पनि चल्न थालेका छन्। हामीले गर्न सक्ने भनेको बेस्ट फिल्म बनाउने हो। त्यही फिल्मबाट एउटा अडियन्स बन्दै जाओस् भन्ने हो,’ उनी भन्छिन्।
मलिकालाई सबै जनराका फिल्महरू मन पर्छन्। तर, सस्पेन्स थ्रिलर जनराका फिल्म हेर्न र काम गर्न बढी मन भएको उनको भनाइ छ। पछिल्लो समय म्युजिक भिडिओतिर कम देखिएकी मलिकाले केही समयअघि पगला घोडा खेलेकी थिइन्।
Shares
प्रतिक्रिया