फिल्म अध्यापन गर्दै आएको अस्कर कलेजले फिल्म तथा सिरिज निर्माणसमेत गर्ने भएको छ।
मंगलबार अस्कर कलेजको २० औं वार्षिकोत्सवको अवसरमा प्रध्यानाध्यापक रामराजा दाहालले कलेजका वर्तमान तथा दीक्षित दुवै विद्यार्थीलाई लक्षित गरी फिल्म निर्माण गर्न लागिएको घोषणा गरे।
उनले भने, ‘विद्यार्थीहरुलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठूलो चिन्ता हुन्छ। त्यही चिन्ता दूर गर्न कलेजले वर्तमान तथा दीक्षित विद्यार्थीहरुलाई फिल्म निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोत साधन उपलब्ध गराउने छ।’
कलेजको २० औं वार्षिकोत्सवमा प्रमुख अतिथि तथा कलेजका संस्थापकसमेत रहेका नीर शाहले कलेजले दुई दशक लामो प्राज्ञिक यात्रा पार गरेको अवसरमा खुसी तथा गर्व लागेको बताए।
उनले भने, ‘नेपाली सिनेमाको प्राज्ञिक तथा बौद्धिक कुरा आउँदा अस्कर कलेजको नाम छुटाउनै नहुने रुपमा स्थापित भइसकेको छ।’
कलेजका सञ्चालक समिति, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा भएको २० औं वार्षिकोत्सवको अवसरमा १३ औं ब्याचका विद्यार्थीहरुलाई बिदाइ र सत्रौं र अठारौं ब्याचका विद्यार्थीहरुलाई स्वागत गरियो।
कार्यक्रममा पूर्व तथा वर्तमान विद्यार्थीहरुले नृत्य, गायन तथा कविता वाचन आदि प्रस्तुति दिएका थिए।
Shares
प्रतिक्रिया