कला


साहित्यकार रमेश विकलका ‘समग्र कथा, उपन्यास र नाटक खण्ड’ लोकार्पण

साहित्यकार रमेश विकलका ‘समग्र कथा, उपन्यास र नाटक खण्ड’ लोकार्पण

नेपालखबर
साउन २५, २०८१ शुक्रबार २१:१४, काठमाडौँ

नेपाली आख्यान क्षेत्रका शीर्ष साधक रमेश विकलका समग्र कथा, उपन्यास र नाटक खण्ड लोकार्पण गरिएको छ।

आज यहाँ गोकर्णेश्वरमा रमेश विकल साहित्य प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गर्दै कथा, उपन्यास र नाटकको छुट्टाछुट्टै सङ्ग्रह सार्वजनिक गरेको हो।

सार्वजनिक सङ्ग्रहले छरिएका कृतिलाई एकत्रित गरेको प्रतिष्ठानका महासचिव विजय चालिसेले बताए।

‘धेरै सहयोगी हात र गोकर्णेश्वर नगरपालिकाको सहयोगले सङ्ग्रह निकाल्न सकेका हौँ। साहित्यकार विकलले विसं २०१६ देखि विभिन्न कालखण्डमा लेखेका कथा, उपन्यास र नाटकलाई एकै ग्रन्थ बनाउन धेरै मेहनत गरेका छौँ। केही छुटेका र अन्य रचनालाई पनि क्रमबद्ध रूपमा समट्ने छौँ। अब साहित्यकार विकलका सिर्जनालाई एउटै ग्रन्थमा पढ्न पाइनेछ’, उनले भने।

महासचिव चालिसेले नगरपालिकाले साहित्यका विधामा यस्ता गतिविधिलाई प्रोत्साहित गर्ने गरेकामा धन्यवाद दिए।

नगरपालिका प्रमुख दीपककुमार रिसालले एक संस्थामा साहित्यकार विकल अध्यक्ष हुँदा आफू सचिव भएर सहकार्य गरेको स्मरण गर्दै नगरपालिकाले उनको कृतिलाई सङ्ग्रहित गर्न पाउनु गौरवको विषय रहेको बताए।  

‘साहित्य क्षेत्रलाई संरक्षण गर्नु जनप्रतिनिधिको कर्तव्य नै हो। उहाँहरूलाई प्रोत्साहन गर्न हामीले नगरभित्रका एक र नगरबाहिर जुनसुकै स्थानको एक साहित्यकारलाई सम्मान गर्ने गरेका छौँ। साहित्यकारलाई यस नगरमा अपनत्व महसुस होस् भनेर प्रकाशनमा सहयोग गरेर साहित्यलाई जीवन्त बनाउने प्रयासलाई आगामी दिनमा पनि निरन्तरता दिने छौँ’, उनले भने।

नगर प्रमुख रिसालले नगरभित्र रहेका साहित्यकर्मीले रु एक लाख बराबरको स्वास्थ्य सेवा निःशुल्क प्राप्त गरिरहेको जानकारी गराए।

सङ्ग्रहित ग्रन्थका सम्पादक ठाकुर शर्मा भण्डारीले साहित्यकार विकलको सिर्जनाको महत्व र त्यसको दूरदर्शिताको विषयमा चर्चा गरे। कार्यक्रममा रचनाका विषयमा साहित्यकार शार्दूल भट्टराई, गोपी मैनालीलगायतले समेत धारणा राखेका थिए।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, नगरउपप्रमुख सान्नानी लामा, वडा नं ८ का अध्यक्ष राजीव थापालगायत विभिन्न साहित्यकर्मीको उपस्थिति रहेको थियो। सामाजिक यथार्थवादी आख्यानकार विकलको निधन विसं २०६५ पुस २ गते भएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad