भोलिबाट प्रदर्शन हुने फिल्म ‘नम्बरी सुन’ मा सरोज खनाल मुख्य भूमिकामा देखिँदै छन्।
‘पञ्चायत’, ‘मोदीबेनी’ जस्ता थुप्रै फिल्ममा देखिसकेका उनले ‘नम्बरी सुन’को चरित्र फरक रहेको बताए।
उनले भने, ‘नम्बरी सुनमा मेरो युवावस्थादेखि वृद्धावस्थासम्मको गेटअप छ। अघिल्ला फिल्ममा मलाई बूढो मुखियाका रूपमा देखाइएको थियो। तर नम्बरी सुनमा फरक युवा गेटअप छ।’
‘नम्बरी सुन’मा आफ्नो चरित्र क्रूर नभएको सरोजको भनाइ छ।
‘मेरो क्यारेक्टर सुरुमै क्रूर छैन। फिल्ममा मुखियाको एउटा मायालु परिवार छ। उसले परिवारसँगै गाउँका सबैलाई माया गर्छ। फिल्मले सुन बनाउन आउनेको इतिहास बोल्छ। सुन बनाउने कामको सुरुवात मेरै घरबाट हुन्छ’, सरोज भन्छन्, ‘विस्तारै कथा अगाडि बढ्दै गएपछि समय र परिस्थितिले उसलाई केही क्रूर पनि बनाउँछ। फिल्ममा म कमलो हृदयको मान्छे पनि छु। ट्रेलरमा हेर्नुभयो होला कि म ३-४ ठाउँ नराम्ररी रोएको छु। क्रूर मान्छे कहिल्यै पनि रुँदैन।’
‘रियल’मा आफू मुखियाजस्तो नदेखिए पनि ‘रिल’मा भने त्यस्तो क्यारेक्टर निभाउँदा रमाइलो लाग्ने उनी बताउँछन्। ‘कलाकारको पहिचान भनेकै त्यही हो। अब जस्तो देखिन्छु, त्यस्तै देखाउनु, त्यस्तै गर्नु, अथवा मलाई सजिलो हुने जनराको फिल्म मात्रै मैले गर्नु भनेको त म कलाकार नै होइन नि’, उनले भने।
काम गर्दा आफूसँग कतिपय निर्देशकहरू रिसाएको उनको अनुभव छ।
‘म काम गरेको हिसाबले न्याय दिने कोशिस गर्छु। कति निर्देशक मसँग रिसाउनु पनि हुन्छ। यो मान्छेलाई लियो भने त्यहाँ ओभरटेक गर्न खोज्छ भन्ने उहाँहरूको बुझाइ छ। हामी भलै क्यारेक्टर रोल गरिरहेका छौँ,’ उनले भने, ‘तर त्यो क्यारेक्टर यस्तो क्योक्टर हो, जसले मेन क्यारेक्टरलाई बुस्ट अप गर्छ। हामी नभई त्यो मान्छे फिल्मको मेन क्यारेक्टर हुनै सक्दैन। हामी लुज भयौं भने फिल्म पुरै लुज हुन्छ। फिल्ममा काम गरेको झण्डै ४० वर्ष भइसक्यो। कस्तो गर्दा राम्रो हुन्छ भनेर कसैले सल्लाह लिनुहन्छ भने दिइन्छ। हैन ‘मेरै गोरुको बाह्रै टक्का’ भन्ने निर्देशक पनि हुनुहुन्छ, उहाँहरूले जे भन्नुहुन्छ त्यो पनि गर्दिन्छु।’
Shares
प्रतिक्रिया