ad ad

कला


नेपालखबरकर्मी श्रीजु सरललाई ‘फिल्म कृटिक्स अवार्ड’

नेपालखबरकर्मी श्रीजु सरललाई ‘फिल्म कृटिक्स अवार्ड’

नेपालखबर
साउन २२, २०८१ मंगलबार २१:५५, काठमाडौँ

नेपालका लागि युरोपियन युनियनको डेलिगेसनद्वारा आयोजित ‘फिल्म कृटिक्स अवार्ड–२०२४’ को नतिजा सार्वजनिक भएको छ।

नेपालखबरकर्मी श्रीजु सरलले पहिलो स्थान प्राप्त गरेकी छन्।

त्यसैगरी, अनलाइनखबरका प्रसुन संग्रौला दोस्रो भए।

प्रतिस्पर्धामा १४ फिल्म समीक्षक सहभागी भएका थिए।

इयुले गत वर्ष २०८० को चैत ७ देखि चैत १० गतेसम्म आयोजना गरेको ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल–२०२४’ मा देखाइएका ९ युरोपियन फिल्म र ११ नेपाली सर्ट फिल्म गरी २० फिल्ममध्येबाट दुवै कित्ताका १/१ फिल्ममाथि समीक्षा गर्न आह्वान गर्दै प्रतिस्पर्धा राखेको हो।

युरोपियनतर्फ मार्टिन म्याकडोना निर्देशित ‘द वान्शीज् अफ इनिसेरिन’ र नेपालीतर्फ अनिल कुर्मी निर्देशित ‘फेरा’ (द ह्विर्ल) माथि समीक्षा गरेकी श्रीजु सरलले प्रतिस्पर्धामा प्रथम हुँदा आश्चर्य र खुसी लागेको बताइन्।

उनले भनिन्, ‘सबैभन्दा पहिला त म आश्चर्यचकित छु। साथै, यो प्रतिष्ठित प्रतिस्पर्धामा प्रथम भइरहँदा गौरव पनि महसुस गरिरहेकी छु।’

सरलले अगाडि भनिन्, ‘कुनै पनि एउटा निर्देशक वा एउटा समीक्षक उत्कृष्ट हुँदैन बरू निश्चित समयमा ऊबाट निस्किएको काम उत्कृष्ट हुनसक्छ। आज यतिबेला मेरो निश्चित काम उत्कृष्ट भएको हुनसक्छ। तर, सहभागी सबैजना नै उत्तिकै योग्य हुनुहुन्छ भन्ने मलाई लाग्छ।’

यस्तै, प्रसुनले युरोपियनतर्फ भिक्टोर बोजिनभ निर्देशित बल्जरियन फिल्म ‘द नेकेड ट्रथ अबाउट झिगुली ब्याण्ड’ र नेपालीतर्फ मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी’ (अ टेल अफ् टर्मोइल, टेम्प्टेशन एण्ड ट्रायम्फ) माथि समीक्षा गरेका थिए।

प्रतिस्पर्धाको निर्णायक टिममा सिने पत्रकार एवं सिनेकर्मी सामीप्यराज तिमल्सेना, कवि विमला तुम्खेवासँगै युरोपियन युनियनका प्रतिनिधि रहेका थिए।

प्रमुख जुरी तिमल्सेनाले इयुले नेपालमा पहिलोपटक फिल्म समीक्षकहरूका लागि प्रतिस्पर्धात्मक कार्यक्रम ल्याउनु उल्लेखनीय भएको बताएका छन्।

उनले भने,‘विश्वभरि नै फिल्म समीक्षालाई सिनेसंस्कारको एउटा महत्त्वपूर्ण हिस्साको रूपमा लिने गरिन्छ। युरोपका विभिन्न राष्ट्रहरूमा फिल्म समीक्षाकै कारण त्यहाँका राष्ट्रिय सिनेमाहरूले नयाँ दिशा पाएका इतिहास छन्। उदाहरणका लागि इटालीलाई नै लिन सकिन्छ। तर, हामीकहाँ त्यही स्तरको हस्तक्षेपको अपेक्षा गरिहाल्न सकिने अवस्था छैन। किनभने, हाम्रो सिनेमा उद्योग, फिल्म निर्माता र फिल्म समीक्षक आफै पनि फिल्म समीक्षाले बोक्ने महत्ताको बारेमा पर्याप्त जानकार छैनन्। र यस्तो अवस्थामा इयुले फिल्म समीक्षकहरूका लागि यस्ता कार्यक्रम ल्याउनु प्रशंसनीय छ।’

निर्णायक तिमल्सेनाले १४ प्रतिस्पर्धीमध्येबाट दुईजना विजयी समीक्षक छनोट गर्न गाह्रो परेको बताउँदै भने, ‘प्राप्त सबै समीक्षाहरू उत्तिकै अब्बल हुँदा छनोट गर्न गाह्रो थियो। हामीकहाँ यस्तो अभ्यास यसअघि नभएका कारणले पनि के आधारमा छनोट गर्ने भन्ने मापदण्ड तयार थिएन। हामीले मापदण्ड तयार गरीकन विजेता छनोट गरेका हौँ।’

साथै, ‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल्स- २०२४’ मा देखाइएका ११ नेपाली लघु चलचित्रबीच पनि प्रतिस्पर्धा राखिएको थियो। उक्त प्रतिस्पर्धाको नतिजा पनि सोही कार्यक्रमबीच सार्वजनिक गरिएको छ। प्रतिस्पर्धी चलचित्रमध्येबाट शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘ध्ये ड्रिम्स’ले‘उत्कृष्ट लघु चलचित्र’को उपाधि हासिल गरेको हो भने स्वयन मास्के मानन्धरको‘द बुल, द काउ, द काफ’ले विशेष मनोनयन प्राप्त गरेको हो।

नेपालसँगको ५० वर्ष लामो सहकार्यमा युरोपियन युनियनले गत वर्ष १३औं संस्करणको चलचित्र महोत्सव आयोजना गरेको हो भने फिल्म समीक्षातर्फ पहिलोपटक प्रतिस्पर्धा आयोजना गरेको हो।

दुवै प्रतिस्पर्धातर्फका चारैजना विजेतालाई इयुले ब्रसेल्समा हुन गइरहेको नेपाली चलचित्र महोत्सवमा सहभागिताका लागि लैजाने घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .