ad ad

कला


क्यानडामा ‘नेपाल फेस्टिभल’ सम्पन्न, ५ हजार नेपाली सहभागी

क्यानडामा ‘नेपाल फेस्टिभल’ सम्पन्न, ५ हजार नेपाली सहभागी

नेपालखबर
असार २६, २०८१ बुधबार १४:८, काठमाडौँ

क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा पहिलोपटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ।

लालिगुरास स्पोर्ट्स एन्ड कल्चरल क्लबको प्रस्तुतिमा यही जुलाई ७ अर्थात् असार २३ मा सम्पन्न एकदिने महोत्सवमा पाँच हजारभन्दा बढी नेपालीको उपस्थिति थियो।

महोत्सवमा सहभागीले नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रुचाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए।

‘यो महोत्सवमा नेपालीहरुको सहभागिताले हामीलाई हौसला प्रदान गरेको छ। हामीले अपेक्षा गरेको भन्दा दोब्बर सङ्ख्यामा उपस्थिति रह्यो। परदेशमा नेपाललाई मिस गरिरहनुभएको हामीले महसुस गरेका छौँ। आउँदो वर्ष पनि यस्तै समयमा यसलाई निरन्तरता दिनेछौँ। पहिलोपटक आयोजना गरेकाले केही सिमितता थियो, अर्को पटक झनै भव्य गर्ने छौँ। महोत्सवमा आइपुग्नेले नेपालमै पुगेको महसुस गर्नुभयो’, उनले भने।

निःशुल्क इन्ट्री रहेको महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसीलगायत विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरिएको थियो।

गायक हिमाल सागरसँगै कलाकार देविका केसी, मानसिंह खड्का, हिमालयन भाइब्स ब्यान्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुतिमार्फत महोत्सवमा नचाए। गायक हिमाल सागर महोत्सवमा आफ्ना चर्चित गीत गाएका थिए। 

उनले क्यानडामा रहेका नेपाली माँझ प्रस्तुति दिन पाउँदा छुटै अनुभूति भएको बताए। 

‘प्रवासमा पाइने माया र आफ्नोपनलाई शब्दमा व्यक्त गर्न सकिँदैन। महोत्सवमा नेपाली गीतसङ्गीत र नेपाल प्रति दर्शाउनु भएको माया अद्‌‌भूत छ। प्रवासमा रहनुहुने नेपालीलाई थोरै भए पनि नेपालको न्यास्रो मेटाउने काम यस्ता महोत्सवले गरेको छ, जस्तो लाग्छ’, हिमालले भने।

लालिगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबका क्रिजल अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

क्यानडामा रहेका सम्पूर्ण नेपाली सङ्घसंस्थाको सहकार्यमा सम्पन्न महोत्सवले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नेपालीबीच सामीप्यता बढाउन सफल भएको आयोजकले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .