ad ad

कला


फिल्म फेस्टिभलमा सहभागी हुन अमेरिका उडे नवीन सुब्बा र दयाहाङ राई

फिल्म फेस्टिभलमा सहभागी हुन अमेरिका उडे नवीन सुब्बा र दयाहाङ राई

नेपालखबर
असार ५, २०८१ बुधबार १४:१८, काठमाडौँ

निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई बुधबार अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकाको मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म आयोजना हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन उनीहरू त्यसतर्फ गएका हुन्। महोत्सवमा उनीहरूको सहकार्यमा बनेको ‘गाउँ आएको बाटो’ ओपनिङ स्क्रिनिङ हुँदै छ। 

महोत्सवको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन्। मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा जुन २० मा ‘गाउँ आएको बाटो’ प्रदर्शन गरिने भएको छ।

चलचित्रमा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ।

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा गाउँमा सडक आएपछि बाबु-छोराको सम्बन्धमा आउने उतारचढाव देखाइएको छ।

महोत्सवमा समापन चलचित्रका रूपमा ‘द रेड सुटकेस’ प्रदर्शन हुनेछ। यो चलचित्र फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले बनाएका हुन्। 

महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ फिल्म स्क्रिनिङ हुनेछन्।

महोत्सवमा राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु-ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन गरिनेछ। 

प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्ड दिइनेछ।

महोत्सव उद्घाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीले जनाएको छ।

चार दिनसम्म चल्ने महोत्सवका चलचित्र भने एएफआई सिल्भर थिएटर र ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुनेछ।

महोत्सवका दौरान फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुने जनाइएको छ।

मेरिल्यान्ड राज्यको ‘पार्क्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुन लागेको हो।

सन् २०१७ देखि हरेक वर्ष महोत्सव आयोजना गर्ने क्रम जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .