कला


यी ११ भारतीय कलाकार, जसले जिते लोकसभा चुनाव

यी ११ भारतीय कलाकार, जसले जिते लोकसभा चुनाव

नेपालखबर
जेठ २३, २०८१ बुधबार १३:४६, काठमाडौँ

भारतको १८औँ लोकसभा निर्वाचनमा सहभागी १५ कलाकारमध्ये धेरैजसो विजयी भएका छन्।

भारतीय सञ्चारमाध्यमका  अनुसार कंगना रनावत, हेमा मालिनी, शत्रुघ्न सिन्हा, रवि किशन, मनोज तिवारीलगायत ११ कलाकार लोकसभा सदस्य बन्न सफल भएका हुन्। 

यीमध्ये उत्तर प्रदेशको मथुरामा भाजपाबाट चुनाव लडेकी हेमा मालिनी सबैभन्दा ठूलो मतान्तरले विजयी भइन्। ड्रिम गर्ल हेमा मालिनीले कंग्रेस उम्मेदवार मुकेश धनगरलाई २ लाख ९३ हजार ४०७ मतले हराइन्। 

यस्तै भाजपाबाटै उम्मेदवार बनेकी कंगनाले हिमाञ्चल राज्यको मण्डीमा कंग्रेसका विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराइन्।

चर्चित टेलिभिजन शो रामायणमा भगवान् श्रीरामको भूमिका खेलेर चर्चित बनेका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट लोकसभा सदस्य निर्वाचित भएका छन्। 

भाजपाको टिकटमा चुनाव लडेका अरुण गोविलले सपा नेता सुनिता वर्मालाई १० हजार ५८५ मतान्तरले हराए भने तृणमूल कंग्रेसका तर्फबाट शत्रुघ्न सिन्हाले पश्चिम बंगालको आसनसोल सिटमा भाजपा नेता एसएस अहलुवालियालाई ५९ हजार ५६४ मतले हराए। 

अभिनेता तथा पार्श्व गायक सुरेश गोपी पनि केरलाको त्रिशूर सिटमा विजयी भएका छन्।

उत्तरपूर्वी दिल्ली सिटमा भारतीय जनता पार्टीका तर्फबाट चुनाव लडेका मनोज तिवारीले कंग्रेस नेता कन्हैया कुमारलाई हराए। मनोज १३ हजार ७ सय ७८ मतका साथ विजयी भएका हुन्।

उत्तर प्रदेशको गोरखपुर सिटमा भोजपुरी स्टार रवि किशन समाजवादी पार्टीकी नेतृ काजल निषादलाई हराउँदै पराजित गर्दै सांसद बनेका छन्। 

यसैगरी पश्चिम बंगालको जादवपुरबाट चुनाव लडेकी अभिनेत्री सयोनी घोषले भाजपा नेता अनिर्बान गांगुलीलाई २ लाख ५८ हजार २०१ मतले हराइन्।

बंगाली सिनेमाकी अभिनेत्री शताब्दी रोयले भाजपा नेता देवतनु भट्टाचार्यलाई ठूलो मतान्तरले हराइन्। उनले तृणमूल कंग्रेसको टिकटमा पश्चिम बंगालको वीरभूमबाट चुनाव लडेकी थिइन्।

यस्तै बंगाली अभिनेत्री रचना बनर्जी पश्चिम बंगालको हुगली सिटमा विजयी भएकी छन्। तृणमूल कंग्रेसका तर्फबाट चुनाव लडेकी उनले अभिनेत्री तथा राजनीतिज्ञ लकेट चटर्जीलाई हराएकी हुन्। 

बंगाली सिनेमामा देव भनेर चिनिने अभिनेता अधिकारी दीपकले पनि पश्चिम बंगालको घाटाल सिट जितेका छन्। तृणमूल कंग्रेसका तर्फबाट चुनाव लडेका उनले भाजपा नेता हिरण्मय चट्टोपाध्यायलाई हराएका हुन्। 

तर, केही भारतीय सेलिब्रेटीले भने चुनावमा हारको सामना गर्नुपरेको छ।

हरियाणाको गुरुग्रामबाट चुनाव लडेका वरिष्ठ अभिनेता राज बब्बर भने भाजपाका राव इन्दरजित सिंहसँग ७५ हजार ७९ मतान्तरले पराजित भए।

यसैगरी बिहारको कराकट सिटमा उठेका भोजपुरी स्टार पवन सिंह पनि कम्युनिस्ट पार्टीका नेता राजाराम सिंहसँग ९९ हजार २५६ मतान्तरले हारे। 

भाजपाबाट चुनाव लडेका दिनेशलाल यादव निरहुआ पनि पराजति भए। उनी एक लाख ६१ हजार ३५ मतान्तरले हारेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad