ad ad

कला


‘पुजार सार्की’ हेर्न राष्ट्रिय दलित आयोगको आग्रह

‘पुजार सार्की’ हेर्न राष्ट्रिय दलित आयोगको आग्रह

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १६:२३, काठमाडौँ

दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ दोस्रो हप्तामा चलिरहेको छ। आक्रामक कमाई गरिरहेको यस फिल्मले जातीय विभेदविरुद्धको कथा भन्छ।

यसैबीच, राष्ट्रिय दलित आयोगले ‘पुजार सार्की’ हेर्न आग्रह गरेको छ। निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो चलचित्र हेर्न आयोगले सबैलाई आह्वान गरेको हो। 

आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवताप्रेमीहरूले हेरेर शिक्षा लिन सक्ने खालको रहेको उल्लेख गरिएको छ। 

यो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन सबैमा विज्ञप्तिमा अनुरोध गरिएको छ। 

‘पुजार सार्कीमा देखाइए जस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ।

शिक्षित र सभ्य मानिसहरूलाई यो गम्भीर प्रश्न पनि हो। सभ्य मानिसले सत्य कुरालाई स्वीकार नगर्नु असभ्यता हो। चलचित्र ‘पुजार सार्की’ ले यस्तो अवस्थालाई उजागर पार्न खोजेको छ। 

नेपालका जातीय रूपमा अपमानितहरूले वरण गरिरहेका शब्दहरू आफै अङ्गीकार गर्ने सन्देश चलचित्रले बोकेको छ। यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवताप्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको छ,’ विज्ञप्तिमा लेखिएको छ।  

फिल्मका लेखक बिकास सुवेदीले राज्यको कुनै निकायले नेपाली चलचित्रलाई यसरी सम्बोधन गरेको पहिलो पटक भएको बताए।

‘यो चलचित्रले राज्यले नै बोल्नुपर्ने विषय बोलेको छ। चलचित्रले संविधानमा समावेश भएकै एजेन्डा बोलेको तथा दलितको आन्दोलनमा ऐक्यबद्धता जनाएको हुँदा आयोग आफैँले ‘पुजार सार्की’  हेर्न आह्वान गरेको हो भन्ने मलाई लाग्छ। नेपाली चलचित्रको लागि यो पहिलो घटना हो। ‍चलचित्र निजी क्षेत्रमा आइसकेपछि पहिलो पटक यो विशेष चलचित्र हो भनेर विज्ञप्ति नै जारी गर्नु सुखद हो।’

‘पुजार सार्की’ का निर्देशक दिनेश राउतले यो चलचित्र बनाउँदा केवल व्यावसायिक उद्देश्य मात्रै नराखी दलित मुक्तिको आन्दोलनको पुनर्जागरणको लागि निर्माण भएको बताए। 

यसैबिच, करिब दुई दर्जन राजनीतिक व्यक्तिहरूले चलचित्र ‘पुजार सार्की’  हेरेर यो चलचित्र हेर्न सबैलाई आह्वान गरेका छन्। बुधवार भएको विशेष प्रदर्शनीमा प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका लगायतकाले फिल्म हेरे। 

गत बिहीबार रिलिज भएको ‘पुजार सार्की’  दोस्रो हप्तामा चलिरहेको छ। यस फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .