चिज गुरुङको गीत ‘हावा सरर’ विवादमा तानिएको छ। पुरानो गीत ‘छोडेर आएँ म’ सँग हुबहु मिलेको भन्दै यस गीतमाथि चोरीको आरोप लागेको छ।
२०५० सालमा रेकर्ड गरिएको ‘छोडेर आएँ म’ गीतमा राजेन्द्र लम्सालको स्वर सुन्न सकिन्छ। उनकै छोरा तथा कलाकार सागर लम्साल ‘बले’ ले आफ्नो बुवाको गीतसँग गुरुङको गीत हुबहु मिलेको भन्दै आपत्ति जनाएका छन्।
फेसबुकमा स्टाटस राख्दै सागरले गीत हटाउन आग्रह गर्दै गुरुङ समाजको आडमा धम्की नदिनसमेत भनेका छन्।
‘करिब एक महिनाअगाडि रिलिज भएको गायक चिज गुरुङको आफ्नै युट्युब च्यानलमा राखिएको ‘हावा सरर’ बोलको गीतको संगीत मेरो बुवा राजेन्द्र लम्साल तथा नारायण रायमाझीले गाउनुभएको तथा कृष्ण उजाड पौडेलले संगीत गर्नुभएको गीत ‘छोडेर आएँ म’ सँग हुबहु मिल्दो देखियो,’ उनले लेखेका छन्, ‘चोरिएको गीत बजारमा आएको केही मिनेटमा मैले यो गीतको संगीत त मिल्दोजुल्दो देखियो भनेर सम्बन्धित पक्षलाई जानकारी गराउँदा तपाईं जे गर्न सक्नुहुन्छ गर्नुस्, मसँग मेरो समाज छ, मेरो तर्फबाट मेरो समाज लड्छ भन्ने जवाफ आयो।’
सागरले गीत हुबहु मिलेको जानकारी गराएपछि गुरुङले गीतको परिचयात्मक विवरण (डिस्क्रिप्सन)बाट संगीतकारको नाम हटाएर खाली राखेका छन्। तर, गीतको भिडिओको अन्त्यमा गीतकार र संगीतकारको नाममा चिज गुरुङ नै छ।
गीत नहटाएको खण्डमा उक्त गीतविरुद्ध राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानदेखि प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय र प्रहरीमा उजुरी दिनेसमेत उनको भनाइ छ।
Shares
प्रतिक्रिया