अस्ट्रेलियालाई नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिन्छ। प्रदीप भट्टराई निर्देशित ‘महाजात्रा’ ले अस्ट्रेलियाको सिड्नीमा कीर्तिमान कायम गरेको छ।
यसअघिको ‘जात्रै जात्रा’ ले बनाएको २७ शो र ‘कबड्डी ४’ ले बनाएको २९ शोको रेकर्ड तोड्दै ३५ शो सम्पन्न भएसँगै ‘महाजात्रा’ ले अस्ट्रेलियामानयाँ रेकर्ड बनाएको हो।
डायस्पोरा वितरक कम्पनि एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले फिल्मको लोकप्रियताले यो सम्भव भएको जनाएको छ। सिड्नी प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार फिल्मको माग अझै छ।
‘सिड्नीमा अघिल्लो सबै रेकर्ड आजदेखि तोडेको छ। महाजात्राले सिड्नीमात्र नभई अष्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने छ। पछिल्लो समय खडेरी झैँ भएको बजारलाई हराभरा बनाउन फिल्मको भूमिका प्रशंसनीय छ’, उनले भने।
डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार सिड्नीमा मात्र नभई अमेरिका, क्यानाडा, युरोप अन्तर्गतका देशहरू, मध्यपूर्वका देशहरू, बेलायतलगायतका देशमा समेत नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। कम्पनीका अनुसार ११ करोड बढीको व्यापार भारत बाहेकका डायस्पोरामा भएको छ।
कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले डायस्पोरामा कीर्तिमानी व्यापार गरेर सफल बनाएकोमा दर्शकलाई धन्यवाद दिए।
प्रदीपकै लेखन रहेको ‘महाजात्रा’ नेपालमा छैटौँ सातामा प्रदर्शन भइरहेको छ। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले नेपालमा सोह्र करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ।
यस फिल्ममा विपिन कार्की, वर्षा राउत, हरिवंश आचार्य, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन्।
Shares
प्रतिक्रिया