ad ad

कला


दयाहाङका ९ फिल्म रिलिज भएको ०८० साल सिनेक्षेत्रका लागि औसत मात्रै

दयाहाङका ९ फिल्म रिलिज भएको ०८० साल सिनेक्षेत्रका लागि औसत मात्रै

लक्ष्मी बलायर
चैत २८, २०८० बुधबार १७:१८, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रका लागि औसत वर्ष मात्रै रह्यो २०८०। हालसम्म यस वर्ष ४८ फिल्म रिलिज भए। जसमध्ये ‍औँलामा गन्न सकिने फिल्मले मात्र राम्रो व्यापार गर्न सके।   

वर्षको सुरुवातमा तीन नेपाली फिल्म प्रदर्शन भएका थिए। २०८० वैशाख १ मा जारी, बुलाकी र बिहेपास रिलिज भए।

दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित ‘बिहे पास’ ले कमजोर व्यापार गर्दा सुरक्षा पन्तको ‘बुलाकी’ले ऐय्या भन्नसमेत पाएन। निर्माण टिमले सो नपाएको भन्दै यस फिल्मलाई तीन दिनमै हलबाट उतारे। तर, दयाहाङ र मिरुना मगर स्टारर जारी २०८० सालको सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो। हलमा १०० औँ दिन मनाउन सफल यस फिल्मले १७ करोडभन्दा बढीको कुल व्यापार गरेको थियो।

उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको जारीले उत्साहजनक व्यापार गरे तापनि त्यसै महिना रिलिज भएका अन्य फिल्मले लगानीसमेत उठाउन सकेनन्।

वैशाखमा माथिका तीन फिल्मसहित प्रसाद २, नाइँ नभन्नु ल ६, कैदीको पत्र, ज्याकी: आइ एम ट्वान्टी वान र हल्कारा रिलिज भए। प्रसाद २ र नाइँ नभन्नु ल ६ हिट फिल्मका सिरिज थिए। जसले यी फिल्म चल्ने आशा निर्माण पक्षमा थियो। तर, यी दुवै फिल्म बक्सअफिसमा फ्लप भए। व्यावसायिक हिसाबले सफल नभए पनि महेश त्रिपाठी स्टारर फिल्म हल्काराले भने तारिफ बटुलेको थियो। 

जेठदेखि साउनसम्म रिलिज हुने फिल्महरूको हालत पनि उस्तै रह्यो। जेठमा डाकिनी, ए साथी सुन, टुल्की, हुक्का, वेलकम टु हेम्जाकोटसहित दयाहाङकै मुख्य भूमिकामा बनेको फिल्म निरफूल रिलिज भएका थिए। तर, यी सम्पूर्ण फिल्मले राम्रो कमाइ गर्न सकेनन्।

असारमा रिलिज भएका अन्तिम संस्कार र परस्त्रीले पनि जादु देखाउन सकेनन्। बरु सरोज खनालको डेब्यु निर्देशित फिल्म बगानले भने लगानी उठाउन सक्यो। साउन महिनामा हलमा लागेका लुङा, ए ढाक्रे दाइ र अदृश्य त दर्शकहरूले आए-गएको पत्तै पाएनन्।

जारीपछि कुनै फिल्म बक्सअफिसमा हिट नभए पनि भदौबाट हलहरूमा चहलपहल बढ्ने अनुमान थियो। एक त चाडपर्वको महिना। त्यसमाथि केही बहुप्रतीक्षित फिल्मको सेड्युल। तर, अनुमानअनुसार बलियो स्टारकास्ट र राम्रै प्रचारप्रचार भएका फिल्मले पनि कमाल देखाउन सकेनन्।

मुकुन भुषाल, स्वस्तिमा खड्का, वर्षा राउत अभिनित ‘ऐँचो पैँचो’ दर्शक तान्न असफल रह्यो। विपिन कार्कीको मुख्य भूमिकामा बनेको ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ पनि नराम्ररी पछारियो। यसै फिल्ममार्फत फरक कथा भन्दा झरना थापाले पहिलोपटक असफलताको स्वाद चाखिन्।

हिँड्दाहिँड्दै, जुलेबी, जय हो, गणपतिले पनि कमजोर व्यापार गर्दा मोहन राई निर्देशित ‘महानगर’ समीक्षात्मक हिसाबले उत्कृष्ट ठहरियो। विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा पुगिसकेको यस फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका थियो।

भदौमै रिलिज भएको दीपेन्द्र लामाको फिल्म ‘नांगो गाउँ’ ले भने केही हदसम्म दर्शकको माया पाएको थियो। निर्माण टिमको दाबीअनुसार यस फिल्मले चार करोडको व्यापार गरेको थियो।

असोज महिनामा कौसीद, वानर सेना, बासेन्जी र परदेशी २ रिलिज भए। जसमध्ये दसैँको छेकोमा प्रदर्शन भएको प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ ले दर्शकको साथ पायो। नारायण रायमाझी यस फिल्मले ५१ औँ दिन मनाएको थियो। यस फिल्मले ८ करोड ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।  

कात्तिकमा पनि दुई चर्चित निर्देशकका फिल्महरू प्रदर्शन भए। दीपेन्द्र के खनालले सफल फिल्म ‘पशुपतिप्रसाद’ को सिक्वेल ८ वर्षपछि ल्याए। ‘लुट’ फेम्ड निश्चल बस्नेत पनि ‘दिमाग खराब’ लिएर लामो समयपछि निर्देशनमा फर्किए।

विपिन कार्कीको मुख्य भूमिका रहेको ‘पशुपति प्रसाद: भष्मे डन’ ले राम्रै कमाइ गरेको थियो। निर्माण टिमका अनुसार यस फिल्मले नेपालभरि आठ करोडको व्यापार गरेको थियो।

दिमाग खराबमार्फत निश्चल आफ्नो साख जोगाउन सफल भए। समीक्षात्मक हिसाबले राम्रो प्रतिक्रिया पाएको यस फिल्मले घरेलु बक्सअफिसमा १० करोडको व्यापार गरेको थियो। केही हलमा यो फिल्म १०० दिन मनाउने दोस्रो फिल्म बनेको थियो, जसमा निश्चलदेखि खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, दयाहाङ राईलगायतको अभिनय छ।

हिट फिल्म दिनुका साथै निश्चलले वर्षौंदेखिको सेयर बाँडफाटको मुद्दा समेत किनारा लगाइदिए। जसलाई सिनेकर्मीहरूले यो वर्षको सबैभन्दा उपलब्धिमूलक काम मानेका छन्। दिमाग खराब रिलिज भएको केही दिनमा बलिउड फिल्म ‘टाइगर ३’ हलमा लाग्यो। राम्रो प्रतिक्रिया पाए तापनि निश्चलको फिल्मले हिन्दी फिल्मसहर शो पाउन सकेन। जसकारण दिमाग खराब टिमले असन्तुष्टि जनाउँदै विज्ञप्ति निकाल्यो।

उनीहरुले शो बाँडफाँटको कुरा मात्रै गरेनन्, सेयर बाँडफाँटको विषयलाई समेत झिकिदिए। विदेशी फिल्मबराबर नै शो र आम्दानीको ५० प्रतिशत हिस्सा सधैँ पाउनुपर्ने माग राखे। नत्र फिल्मलाई नै सम्पूर्ण हलबाट उतार्ने चेतावनी दिए। त्यसपछि फिल्म टिम र प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघबीच बैठक बस्यो। पटकपटकको वार्तापछि सेयर बाँडफाँटको विषयमा सहमति जुट्यो। यससँगै फिल्मले हलमा रिलिज हुँदा ५० प्रतिशत सेयर पाउने व्यवस्था लागू भएको छ।  

अरु बेला बिदा र चाडपर्वमा आधा दर्जन फिल्मसमेत जुधाउन पछि पर्दैनन् निर्माताहरू। तर, मंसिरसँगै जाडोयाम लाग्दा निर्माताहरू फिल्म रिलिज गर्न चाहँदैनन्। यो वर्षको मंसिर र पुसको महिनाभरि चित्रा, पर्खी बसेँ तिमीलाई, जम्प र दुई कदमसहित ४ वटा फिल्म रिलिज भए। जबकि यी फिल्महरू त्यति प्रतीक्षित पनि थिएनन्। यी सबै फिल्मका लागि दर्शकहरूको उपस्थिति खासै देखिएन।

तर, पुस २७ गतेबाट सीडीसी सिनेमाजमा रिलिज भएको डकुमेन्ट्री ‘ढोरपाटन’ एक महिनासम्म चलेको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड ‘नो विन्टर होलिडेज’ को राम्रो चर्चा भएको थियो। 

झण्डै एक महिनापछि माघ २६ गते बल्ल नेपाली सिनेमा रिलिज भए। तर, दयाहाङकै मुख्य भूमिका रहेका दुई फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ एकआपसमा जुधे। जसमध्ये दयासहित उपासना सिंह ठकुरी र सौगात मल्ल अभिनित हात्तीछाप फ्लप हुँदा माओत्से गुरुङ डेब्यु निर्देशित दयारानीले भने सुखद व्यापार गर्‍यो।

फागुन महिनाभरि हलमा ६ वटा नेपाली फिल्म रिलिज भए। फागुन सुरुवातमै रिलिज भएको ‘जिग्री’ ले दर्शक तान्न नसक्दा ‘गोर्खा वारियर’ पनि चल्न सकेन। फागुन १८ गतेबाट रिलिज भएको ‘अगस्त्य: च्याप्टर वान’ बाट निकै आशा गरिएको थियो। तर, सौगात मल्ल, मलिका महत र नाजिर हुसेन स्टारर यस फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन। यस फिल्मले नेपालभरि ३ करोड पनि कलेक्सन गर्न सकेन।

फागुनको २५ गते पनि तीनवटा फिल्मबीच भिडन्त देखियो। जसमध्ये नवल खड्का निर्देशित ‘काँडेतार’ हलमा टिक्न सकेन। हल सञ्चालकले प्रदर्शनमा असहयोग गरेको भन्दै खड्काले तेस्रो दिनबाट फिल्मलाई हलबाट उतारे। रेखा थापाको कमब्याक फिल्म ‘उपहार’ ले ठिकठाक व्यापार गर्दा दयाहाङ र मिरुनाको ‘रङ्गेली’  फ्लपको सूचीमा पर्‍यो।

चैत ९ गतेदेखि प्रदर्शनरत ‘महाजात्रा’ दर्शकहरूबाट माया पाइरहेको छ। प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको यो फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ को सिक्वेल हो। ११ करोडको ग्रस कलेक्सन गरिसकेको यो फिल्म यसवर्षको सर्वाधिक कमाउने दोस्रो फिल्म समेत हो। गत शुक्रबार रिलिज भएको ‘बद्रीबहादुर’ को अवस्था त दयनीय छ।

समग्रमा २०८० लाई फिल्मक्षेत्रको लागि खासै उपलब्धिमूलक वर्षको रुपमा लिन सकिन्न। २०७९ साल नेपाली फिल्म क्षेत्रको लागि सुखद वर्ष मानिएको थियो। किनकि गएको वर्ष १० भन्दा बढी फिल्मले उत्साहजनक व्यापार गर्न सफल भएका थिए। अझ दयाहाङ र मिरुनाको मुख्य भूमिका रहेको कबड्डीको चौथौ सिरिजले २१ करोड बढी कमाउन सफल भएको थियो। जुन नेपालको हालसम्मकै सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्म हो। कबड्डी ४ देखि छक्का पञ्जा ४, मेरो हजुर ४, महापुरुष, प्रेमगीत ३, झिँगेदाउ, फूलबारी, दुई नम्बरी, के घर के डेरा लगायतका फिल्म त्यसवर्षका सफल फिल्ममा पर्छन्।  

रोचक के छ भने दयाहाङकै फिल्मबाट सुरु भएको यो वर्ष उनकै फिल्म ‘डिग्री माइला’ले बिट मार्दै छ। यो फिल्मसहित यसवर्ष रिलिज हुने दयाहाङका ९ फिल्म पुग्नेछन्। चैत ३० गतेबाट डिग्री माइलासहित ‘द रेड सुटकेस’ पनि रिलिज हुँदैछ। यी दुई फिल्मले बक्सअफिसमा कस्तो व्यापार गर्लान् त? त्यो हेर्न २०८१ नै कुर्नुपर्ने हुन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .