कला


सक्रियताको अर्को नाम हरिवंश आचार्य

सक्रियताको अर्को नाम हरिवंश आचार्य

लक्ष्मी बलायर
चैत २२, २०८० बिहिबार ९:४९, काठमाडौँ

तीसको दशकदेखि अभिनयमा हरिवंश आचार्यको निरन्तर सक्रियता अहिले पनि लोभलाग्दो छ। यस्तो लाग्छ सक्रियताको अर्को नाम नै हरिवंश हुन्। रंगमञ्च होस् वा प्रहसन। हास्यव्यङ्ग्य विधासँगै गीतसंगीतमा पनि उनको उत्तिकै महत्त्वपूर्ण योगदान छ।

कहिले नायक त कहिले खलनायक भएर उनी पर्दामा देखा परे। तर, सबैभन्दा बढी उनी हास्यकलाकारका रुपमा जनमानसको मनमा बस्न सफल छन्। थुप्रै फिल्ममा काम गरिसकेका हरिवंश कहिले सहायक भूमिकामा देखिएका छन् भने कहिले मुख्य पात्रमा। तीमध्ये बलिदान, के घर के डेरा, बासुदेव, तँ त साह्रै बिग्रिस् नि बद्री र महापुरुषमा उनी मुख्य भूमिकामा देखिएका छन्।

गतवर्ष रिलिज भएको महापुरुषबाट हरिवंशले सरकारबाट उत्कृष्ट अभिनेताको अवार्ड समेत पाएका थिए। अहिले सिनेमाहलमा चलिरहेको ‘महाजात्रा’ मा उनी खलनायक बनेका छन्।

फिल्ममात्रै होइन, टेलिफिल्ममा पनि उनले अत्यधिक काम गरेका छन्। महसञ्चारबाट निर्माण गरिएका १५ गते, हरिबहादुर मदनबहादुर, दसैँ, लालपुर्जा, ५०/५० र भकुण्डे भूत लगायतका रुचाइएका टेलिफिल्म हुन्।   

पाँच दशकदेखि अभिनयमा निरन्तर सक्रिय हरिवंशका लागि २०८० साल पनि विशेष रह्यो। यो वर्ष उनले मुख्य भूमिकामा दुईवटा ठूला सिनेमा खेले। जसमध्ये प्रदर्शनरत ‘महाजात्रा’ बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। यस फिल्ममा भ्रष्ट नेताको रुपमा देखिएका हरिवंशको अभिनयको पनि तारिफ भइरहेको छ।

केही महिनाअघि मात्रै सुटिङ सकिएको फिल्म ‘भूठान’ मा पनि हरिवंश मुख्य भूमिकामा छन्। यो फिल्म ‘बुलबुल’ फेम्ड विनोद पौडेलको कथा र निर्देशनमा तयार भएको हो। यस फिल्मले भुटानदेखि भारत र नेपाल हुँदै अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवनयात्राको कथा प्रस्तुत गर्छ। भूठान (द वर्ल्डस् ह्यापिएस्ट म्यान) सन् २०१९ मा बुसान फिल्म फेस्टिबलको स्क्रिप्ट पिचिङमा समेत छानिएको थियो।

यो फिल्मका लागि हरिवंशले अमेरिकामै पुगेर सुटिङ गरेका हुन्। जहाँ उनले हलिउडका चर्चित कलाकार ब्रुस डर्नसँगै भारतीय रंगकर्मी अनुराधा मजुमदारसँग स्क्रिन सेयर गरे। अन्तर्राष्ट्रिय फिल्ममा काम गर्न पाउँदा दंग छन् हरिवंश।

भूठानको सुटिङ अनुभव सुनाउँदै उनले भने, ‘यस फिल्ममा मैले भुटानको बुढो पात्रमा खेलेको छु। जो भुटानको मान्छे अमेरिकामा शरणार्थी भएर गयो, त्यसको कथा हो। म फिल्मभरि भुटनिज भएर बसे। अनि त्यहाँ भुटानी शरणार्थीहरू पनि हुनुहुन्थ्यो। हाम्रो कथामा तपाईंहरू खेल्नुभयो भनेर उहाँहरू निकै खुसी हुनुभयो। निकै रमाइलो भयो। हिउँ पर्ने बेलामा सुटिङ भएर जाडो चाहिँ असाध्यै भयो।’

हलिउड एक्टर ब्रुस डर्नसँग काम गर्दाको अनुभूति पनि उनले सुनाए। ‘ब्रुस डर्न सिनियर एक्टर हुनुहुन्छ। फिल्ममा उहाँसँग मेरो एउटा सिन परेको थियो। जहाँ उहाँ र मबीच कुराकानी पनि भएको थियो। उहाँले तपाईंको एक्सप्रेसन राम्रो छ भन्दै तारिफ समेत गर्नुभएको थियो। उहाँ ८४ वर्षको भएर सुटिङ बेला मात्रै आउनुहुन्थ्यो। सुटिङको बेलामा धेरै कुरा गर्नु पनि भएन। त्यस्तो सिनियर एक्टरले मलाई राम्रो  भन्नु नै मेरो लागि ठूलो कुरा हो।’

सिनेमामा अभिनय गर्नेबाहेक हरिवंश बेलाबेला सार्वजनिक छलफलहरूमा पनि सहभागी हुन्छन्। यो वर्ष पनि उनी ११ औँ लिटरेचर फेस्टिबलमा उपस्थित भए। मदनकृष्ण श्रेष्ठको साथमा। महजोडीले आफ्नो दोस्तीबारे गफ गरेका थिए।  यसैवर्ष हरिवंश संगीतक्षेत्रमा पनि निकै सक्रिय रहे। किनकि यसपालि उनले चारवटा म्युजिक भिडिओ ल्याइसकेका छन्। यी गीतमा उनकै लेखन र स्वर समेत छ।

‘२०८० मा म एकदमै बिजी भएँ। रंगमञ्चमा चाहिँ यो वर्ष केही गरिएन। तर, फिल्म दुईवटा गरेँ। टेलिभिजनमा सामाजिक सन्देशका कामहरू गरेँ,’ उनले भने, ‘तीन/चार दिनअघि मात्रै हाम्म हाम्म बोलको गीत आएको छ। यो गीतसहित काउली, ए केटा मादल पड्का र मुटु फस्याथ्यो गीतहरू रिलिज गरे। यी सबै गीतहरू चेतनामूलक नै छन्।’

फिल्मको प्रचारप्रचारमा पनि हरिवंश पुगिरहेका हुन्छन्। प्रदीप भट्टराई निर्देशित फिल्म महाजात्राको प्रचारताका उनी व्यापक खटिएका थिए। महाजात्रा टिमको महाकमेडी यात्रा होस् वा धरानका मेयर हर्क साम्पाङसँग गरिएको सिनेमा संवाद। जता जता महाजात्राको टिम पुग्यो, हरिवंश पनि त्यहीँ पुगे।

पछिल्लो समय नेपाली सिनेक्षेत्रमा कलाकारले समय नदिँदा बेलाबेलामा विवाद आउँछ। नयाँ पुस्ताका कलाकारले प्रचारमा साथ नदिएको भन्दै फिल्ममेकर गुनासो गर्छन्। तर, हरिवंश भने ६६ वर्षको उमेरमा पनि सबैलाई सहयोग गर्छन्। सायद यही सहयोगी भावनाले गर्दा पनि उनलाई धेरैले मन पराएका र काम गर्न खोजेका हुन् कि!

समय व्यवस्थापनको सूत्र
हरिवंशको समय व्यवस्थापन अब्बल देखिन्छ। सबैतिर उनी कसरी पुग्न भ्याउँछन् त?

जवाफमा हरिवंश भन्छन्, ‘कलाकारिताबाहेक मेरो अरु केही काम छैन। म सकेसम्म घरपरिवारलाई पनि टाइम दिन्छु। तर, फिल्म रिलिज भएको बेलामा त सबै काम छोडेर पनि आउनु परिहाल्यो। किनभने फिल्ममा खेलेपछि फिल्म चलोस् भन्ने दायित्व पनि हुन्छ। अनि त्यही दायित्व निर्वाह गर्नका लागि आउने गर्छु। फेरि मलाई फिजिकली त्यस्तो गाह्रो पनि छैन। भ्याएसम्म पुग्नुपर्छ जस्तो लाग्छ।’

उनको सक्रियता यहीँ रोकिएको छैन। आउँदो वर्ष पनि उनी महजसञ्चारको महजात्रा टुरका लागि विदेश जाँदैछन्। आगामी जेठतिर एक महिनामा अस्ट्रेलियाका सात/आठ राज्यमा शो हुनेछ। त्यसपछि न्युजिल्यान्डमा पनि शो तय भएको हरिवंशको भनाइ छ।

हरिवंशले महसञ्चारबाट फिल्म शत्रु गते र दाल भात तरकारी समेत निर्माण गरिसकेका छन्। तर, तुरुन्तै फिल्ममा लगानी गर्ने योजना नरहेको हरिवंश सुनाउँछन्।

भन्छन्, ‘अहिले तुरुन्तै महसञ्चारबाट फिल्म गर्न गाह्रो छ। फिल्म भनेको टिमवर्क हो। अहिले फुसर्द पनि छैन। एकदुईवटा प्रस्ताव पनि आएका छन्। तर, स्क्रिप्ट फाइनल भएको छैन। म चाहिँ सबै फिल्म खेल्दिन। छानेर मात्रै फिल्म खेल्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .