कला


‘द रेड सुटकेस नेपालमा बनिराख्ने फिल्ममध्ये एकदमै दुर्लभ फिल्म हो’

‘द रेड सुटकेस नेपालमा बनिराख्ने फिल्ममध्ये एकदमै दुर्लभ फिल्म हो’

नेपालखबर
चैत २०, २०८० मंगलबार १६:२४, काठमाडौँ

आज काठमाडौंमा फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर कार्यक्रम गरिएको थियो। जहाँ निर्माता रामकृष्ण पोखरेलले ‘द रेड सुटकेस’ लाई दुर्लभ फिल्मको रुपमा घोषित गरे। विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा फन्को लगाएपछि यो फिल्म नेपालमा प्रदर्शन हुन लागेको हो।

‘सबैजनाको अथक प्रयासबाट यो फिल्म बनाएका हौँ। यो फिल्म एकदमै खतरा/राम्रो भन्दा पनि नेपालमा बनिराख्ने फिल्ममध्ये एकदमै दुर्लभ फिल्म हो। थाहा छैन भविष्यमा कसैले यस्तो फिल्म बनाउँछ कि बनाउँदैन। हुनत धेरैले कोशिस पनि गर्नुभयो, जुन राम्रो हो। नयाँ वर्षमा एउटा दुर्लभ फिल्म आउँदैछ। जसले नेपाली चलचित्र उद्योगमा नयाँ प्रयास र नयाँ कार्यको सुरुवात गर्नेछ’, उनले भने।  

पोखरेलले आफ्नो आइसफल कम्पनीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लगिरहेको समेत बताए।

उनले भने, ‘नेपालमा आ -आफ्नो भोगाइहरु हुन्छन्। हाम्रो भोगाइ र जीवनको कुरालाई चलचित्रको मार्फत देखाउँदा देशभित्रै मात्रै सिमित राख्नुहुन्न। त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने सोच्नुपर्छ। जुन हाम्रो आइसफल कम्पनीले गरिरहेको छ।’

अभिनेता सौगात मल्लले पनि यस फिल्मलाई भिन्न खालको रहेको बताए। आफूले काम गरिरहेको फिल्मभन्दा फरक अनुभव गरेको उनको भनाइ छ।

‘आर्ट फिल्म गर्न पाए हुन्थ्यो जस्तो लागिरहन्छ। यस्तो काम गर्दा मलाई पनि सन्तुष्टि हुन्छ। मलाई यस्ता फिल्ममा काम गर्दा प्यास तिर्खा मेटिएजस्तो हुन्छ’ उनले भने ।

ट्रेलरमा कलाकार प्रवीणले बोकेको रातो सुटकेश खुल्छ। त्यसपछि कार्यक्रममा उनलाई त्यो रेड सुटकेसभित्र के छ? भनेर प्रश्न गरियो।

जवाफमा उनले भने,  ‘सुटकेस एक्कासी खुल्यो। त्योभित्र सपना र आशाहरु छन्। युवाहरुले देखेका सपना छन्। निर्देशक देवकोटाको कल्पनाहरु छन्। सामाजिक राजनीतिक परिवेशलाई समेत देखाउने कोशिस गरिएको छ।’

भिजुअल एन्थ्रोपोलोजीमा विद्यावारिधी गरेका फिडेल देवकोटाको यो डेब्यु फिल्म हो। अध्यनन र अनुसन्धानले यस फिल्ममा काम गर्न सहज भएको उनको अनुभव छ।आफ्नै लेखनमा बनेको यस फिल्मले वैदेशिक रोजगारीले पारेको सामाजिक प्रभावलाई देखाउन खोजेको बताए।

उनले अर्गानिक फिल्म बनाउँदा अन्तर्राष्ट्रिय स्तरमा लैजान सकिने दाबी गरे। भन्छन्, ‘हरेक ठाउँको आफ्नै कथा भन्ने शैली हुन्छ। आफ्नो शैलीलाई पछ्याऔं भने कुनै पनि फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलमा जान गाह्रो छैन। अर्गानिक स्टोरीमा फोकस गर्दा। म भन्छु हाम्रो फिल्मले माटोको सुगन्ध बोकोस् भन्न चाहन्छु। त्यो भयो भने विश्व बजार र फेस्टिभलमा जान हामीलाई अवरोध हुँदैन जस्तो लाग्छ।’

छायांकार सुसन प्रजापतिले दृश्य सुन्दर मात्रै नभएर अर्थपूर्ण हुनुपर्छ भन्ने कुरा आफूले यस फिल्ममा काम गर्दा सिकेको सुनाए। कार्यक्रममा सृष्टि श्रेष्ठ भने उपस्थित भइनन्।

यस फिल्मले भेनिसमा मेन्सन अवार्ड जितेको थियो। साथै भेनिसमै स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु निर्देशकको रुपमा देवकोटालाई बेस्ट फिचर फिल्मको अवार्ड समेत प्रदान गरेको थियो। थुप्रै फेस्टिभलमा छनोट भएको फिल्मले विभिन्न अवार्ड जितिसकेको छ। यो फिल्म चैत ३० गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .