कला


एलिना चौहानलाई साउन्ड सिस्टम व्यवसायीको नाजायज धाकधम्की

एलिना चौहानलाई साउन्ड सिस्टम व्यवसायीको नाजायज धाकधम्की

लक्ष्मी बलायर
फागुन २८, २०८० सोमबार १९:२३, काठमाडौँ

मञ्चमा एलिना चौहान गीत गाइरहेकी थिइन्। साउन्ड सिस्टममा समस्या देखियो। उनले सिस्टम मिलाउन प्राविधिकलाई आग्रह गरिन्।

प्रस्तुति दिइरहेकी गायिकाले आग्रह गरेपछि उनको आवश्यकताअनुसार साउन्ड सिस्टम व्यवस्थित गरिनुपर्ने हो। तर, साउन्ड टेक्निसियनले उनलाई उल्टै भने, 'पहिले तपाईँ आफ्नो भोकललाई क्लियर गर्नू, अनि हामीसँग लेबल माग्नू।'

टेक्निसियन आफूलाई स्वर र सुर मिलाउन सिकाएपछि एलिना रिसाइन्। 'तपाईँको बोल्ने ढंग सुधार्नू, बुझ्नुभयो! आफ्नो गल्ती देख्नुहुन्न, यहाँ उभिएर एकचोटि हेर्नु त?' उनले रिस पोखिन्।

प्राविधिक पनि पछि हटेनन्। उनले पुरानै अडान दोहोर्‍याए।

त्यसपछि एलिनाले उनको क्षमतामा प्रश्न उठाइन्, 'तपाईँले मलाई सिकाउनुपर्दैन बुझ्नुभयो? नाच्न नजान्ने आँगन टेढो भनेको यही हो। साउन्ड मिलाउन आउँदैन?' त्यसपछि उनी मञ्च छाडेर दर्शकलाई धन्यवाद दिँदै बाहिरिन्।

फागुन २० गते पर्वतमा आयोजित तेस्रो ऐतिहासिक मगर महोत्सवमा गायिका चौहान र साउन्ड टेक्नेसियनबीच भएको भनावैरी हो यो। यो सानो विवाद त्यहीँ टुंगिनुपर्ने थियो। तर, त्यसो भएन।

बरु एलिना र टेक्निसियनबीचको विवाद अहिले तन्किँदै दुई व्यावसायिक क्षेत्रबीचको झगडामा बदलिएको छ। कतिसम्म भने साउन्ड सिस्टम व्यवसायीले एलिनाको कार्यक्रम बहिष्कारसम्मको धम्की दिए। ५ वटा साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी नमागेसम्म साउन्ड सिस्टम उपलब्ध नगराउने भन्दै विज्ञप्ति नै निकाले। र, एलिनाले पनि स्टेज नपाउने ‘डर’ले आत्मोचना गर्दै माफीसमेत मागिन्।

विवाद अझै टुंगिएको छैन। यस घटनामा एलिनामाथि अन्याय भएको भन्दै केही संगीतकर्मी आक्रोशित बनेका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि साउन्ड सिस्टम व्यवसायीले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाइसकेको छ। साउन्ड सिस्टम उपलब्ध नगराउने अभिव्यक्ति तुरुन्त सच्याउनुपर्ने प्रतिष्ठानको माग छ।

त्यस्तै, राष्ट्रिय संगीतकर्मी संघ, प्रस्तोता समाज नेपालले पनि विज्ञप्ति जारी गर्दै साउन्ड सिस्टम कम्पनीहरूको धम्कीको विरोध गरेका छन्।

चर्चित गीतकार राजेन्द्र थापा फेसबुकमार्फत एलिनाको बचाउमा उत्रिएका छन्। साउन्ड अपरेटर समूहले एलिनालाई बहिष्कार गर्ने घोषणा ब्ल्याकमेलिङ भएको उनको भनाइ छ।

उनी लेख्छन्, 'साउन्ड अपरेटर समूहले एलिनालाई बहिष्कार गर्ने घोषणा एक किसिमको ब्ल्याकमेलिङ नै हो। विवाद एक अपरेटरले माइकद्वारा असभ्य तरिकाले एक गायिकाको स्वर विषयमै अपमानजनक बोलेका थिए। जो कसैले पनि सहन सक्दैन।'

एलिनाको गल्ती नभएको उनको भनाइ छ।

'मञ्चमा अलगअलग कलाकारको फरकफरक भोकल हुन्छ। त्यसमाथि महिलाको पिच बढी हुनाले बेस बढाइन्छ। र, पुरुषकोमा बेस घटाएर पिच बढाइन्छ। टोन र लेभल हरेकको फरक हुन्छ। तर, यी अपरेटरले जान्दैनन्। सायद भाषणको साउन्ड मिलाउने होलान्। संगीतको ज्ञान रहेनछ,' अपरेटरप्रति कटाक्ष गर्दै थापाले लेखेका छन्।

यो घटना एलिना चौहानविरुद्ध नभई गायन जगतविरुद्धको रहेको उनको भनाइ छ। यस्तो गलत कार्य हुँदा पनि संगीतकर्मीहरू एलिनाको पक्षमा नबोलेको उनको टिप्पणी छ।

संगीतकार दीपक शर्मा पनि एलिनामाथि अस्वाभाविक व्यवहार भएको बताउँछन्।

'खासमा यो विवाद नै अस्वाभाविक छ। टेक्निसियनले गायिकालाई स्वर निखारेर आउनुहोस्, तपाईंको सुर लागेन भन्न पाउँदैन। टेक्निसियनको काम कसरी साउन्डलाई व्यवस्थापन गर्ने भन्ने हो। व्यवस्थित नभएको खण्डमा पर्फर्मरले यहाँनिर कमजोरी भएको छ, मिलाइदिनुहोस् भन्न पाइन्छ। तर, सामान्य तरिकाले भने पनि गायिकामाथि अस्वाभाविक व्यवहार गरेको देखिन्छ,' उनले नेपालखबरसँगको कुराकानीमा भने।

एलिनाले सामाजिक सञ्जालमा माफी मागे तापनि साउन्ड टेक्निसियनले विवाद लम्ब्याएको उनको बुझाइ छ।

भन्छन्, 'जब साउन्ड टेक्निसियनको तर्फबाट विज्ञप्ति आयो। त्यसपछि स्वतस्फूर्त रूपमा गायिकाले सामाजिक सञ्जालमा माफी मागिसक्नुभएको छ। जुन एलिनाको महानता हो। माफी मागेपछि उहाँहरूमा पनि मिल्नुपर्छ भन्ने भावको विज्ञप्ति आउनुपर्ने हो। तर, उहाँहरूले प्रत्यक्ष भेटेर माफी माग्नुपर्ने कुरा गरिरहनुभएको छ, जुन नाजायज छ।'

साउन्ड टेक्निसियनले बहिष्कार गर्ने धम्की पनि सरासर गलत भएको उनी बताउँछन्।

'घटनास्थलमा दुवै जनाको कमीकमजोरी हुन सक्छ। दुवैले सच्याएर अर्को निकालेको भए विवाद सकिन्थ्यो। तर, एउटा भर्खरै आएको गायिकालाई यसरी बहिष्कार गर्छु भन्नु गलत हो,'  उनले भने।

लोकदोहोरी गायिका राधिका हमाल पनि गायिकालाई बहिष्कार गर्ने कुरा जायज नभएको उनको तर्क छ।

'म पनि स्टेज पफर्मर भएकाले एलिना बहिनीकै पक्षमा छु। हामी र साउन्ड सिस्टमका साथीहरू परिपूरक हौँ। तर, बहिष्कार नै गर्ने कुरा जायज होइन। त्यो त एक ठाउँको घटनालाई जोडेर सबै ठाउँमा रोक्न खोजेजस्तो भयो। यो उहाँहरूको गलत प्रवृत्ति देखियो,' उनले भनिन्, 'भिडिओअनुसार दुवैको गल्ती देखिन्छ। टेक्निसियनले पनि कम गर्नुभएको छैन। जनताले मानेको कलाकारलाई त्यसरी भन्न मिल्दैन। एलिनाले त माफी मागिसक्नुभयो। अब उहाँले पनि माफी माग्नुपर्छ।'

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी हमालले सबैले गल्ती सुधारेर अगाडि बढ्नुपर्ने विचार राखिन्।

लोकदोहोरी गायक बद्री पंगेनीले एलिनालाई मात्रै दोषी देखाउनु गलत हुने टिप्पणी गरेका छन्। घटनाको कारक एलिना मात्रै नभएर साउन्ड सिस्टम व्यवसायीहरूले पनि यसमा आफ्नो कमजोरी स्वीकार्न सक्नुपर्ने मत राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .