नेपाल इन्टरनेसनल चलचित्र महोत्सव (निफ) को सातौं संस्करण चैत १ गतेबाट सुरु हुँदैछ। आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’ प्रदर्शनसँगै निफको ओपनिङ गरिनेछ।
जेनिफर लिन र सान बाई निर्देशित यो डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिए।
आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई डकुमेन्ट्रीले प्रस्तुतिको विषय बनाएको छ। तर निर्देशक लिनले डकुमेन्ट्री आनीको स्वतन्त्रताको खोजीको रुपमा केन्द्रित रहेको बताएकी छिन्।
हङकङको सिटी युनिभर्सिटीमा आम सञ्चारकी प्राध्यापक लिनले आनीलाई ७ वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार गरेकी हुन्। सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र यसको ५ वर्षपछि काम थालेको लिनले बताएकी छिन्।
७ वर्ष लगाएर बनाएको डकुमेन्ट्री अहिले विश्वका फिल्म फेस्टिभलमा आकर्षणको केन्द्र रहँदै आएको छ। डकुमेन्ट्रीले गत साल वार्सा इन्टरनेसनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवार्ड जितेको थियो।
डकुमेन्ट्री निफमा पनि माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको। यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका छन्। विजेता चलचित्रले १ हजार नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछन्।
चैत ५ गतेसम्म चल्ने महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन हुँदैछन्। प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्कियाका कार्यक्रम पनि आयोजना गरिनेछन्।
महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल,लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्।
Shares

प्रतिक्रिया