कला


यी डकुमेन्ट्री, जो सिनेमा हलमा प्रदर्शन भए

यी डकुमेन्ट्री, जो सिनेमा हलमा प्रदर्शन भए

लक्ष्मी बलायर
माघ १९, २०८० शुक्रबार २१:४९, काठमाडौँ

नेपाली वृत्तचित्र 'ढोरपाटन' यतिखेर चर्चामा छ। पुस २७ गतेबाट काठमाडौँको सीडीसी सिनेमाजमा रिलिज भएको यो डकुमेन्ट्री चौथो हप्तामा प्रदर्शनरत छ।

७९ मिनेटको डकुमेन्ट्रीले रित्तो गाउँ चौकीदारी गर्ने सौताहरुको कथा भन्छ। दर्शकहरुबाट राम्रो साथ पाएसँगै चौथो हप्तामा प्रदर्शन गर्न सम्भव भएको बताउँछन् निर्माता तथा निर्देशक राजन कठेत।

'आर्थिक रुपमा भन्दा पनि यस्तो डकुमेन्ट्री हेर्न आउँछन् कि आउँदैनन् भन्ने थियो। स्वतन्त्र फिल्ममेकर धेरै हुनुहुन्छ। उहाँहरुको पनि अडियन्स बनोस् र भविष्यमा हामीलाई पनि सजिलो होस् भनेर प्रयास गरेका थियौँ,' कठेतले भने, 'दुईतीन दिनपछि त खाली हुन्छ होला सोचेका थियौँ। तर, अचम्मको कुरा चौथो हप्तासम्म पनि दर्शकहरुले डकुमेन्ट्री हेरिरहनुभएको छ। दर्शकहरुको माया देख्दा छक्क परेका छौँ।'

मेकरले दर्शकसँग पुग्ने प्रयत्न नगर्दा यस्ता डकुमेन्ट्री/फिल्ममा चासो कम भएको उनको तर्क छ। भन्छन्, 'हामीले त्यस्ता अडियन्ससँग प्रयत्न नगरेका हौँ कि जस्तो लाग्छ। ऐना झ्यालको पुतली यस्तै खाले फिल्म थियो। तर मानिसहरुले मज्जाले हेरे। हामीले त्यो खाले अडियन्समा पुग्ने आँट र प्रयास नगरेको हो कि!'

डकुमेन्ट्री हलमा प्रदर्शन भएको यो पहिलोपटक भने होइन्। यसअघि पनि केही डकुमेन्ट्रीहरु हलमा फिल्मसरह नै रिलिज भइसकेका छन्। सन् २००३ मा नेपालमा डकुमेन्ट्री 'भेडाको उनजस्तो' प्रदर्शन भएको थियो। यो डकुमेन्ट्री जयनेपाल हलमा एक हप्तासम्म चलेको सम्झन्छन् निर्देशक किरणकृष्ण श्रेष्ठ।

रिपोर्टिङका बेला रसुवाको लाङटाङ पुगेका पत्रकार नारायण वाग्लेको ध्यान त्यहाँको स्थानीय भाकाले निकै तानेछ। जुन भाका वाग्लेले नेपथ्य ब्यान्डका गायक अमृत गुरुङलाई सुनाए। र, ०५९ को अन्त्यतिर बाग्लेसहित गुरुङ, संगीतकार डानियल कार्थकसँग निर्देशक श्रेष्ठ गीतको खोजीमा निस्किए। लाङटाङ पुगेपछि वाग्लेको शब्द र गुरुङमा स्वरमा 'भेडाको ऊनजस्तो' गीत बन्यो। त्यही गीतको खोजीमा यात्रालाई डकुमेन्ट्रीमा समेटेको उनी सुनाउँछन्। झण्डै एक घण्टा लामो डकुमेन्ट्रीमा गोङ्गबु बसपार्कदेखि रसुवाको लाङटाङ र गोसाइँकुण्डसम्मको यात्रालाई देखाइएको छ।

सन् २००१ मा जयनेपाल हल नयाँ स्वरुपमा आएको थियो। जयनेपाल पनि डकुमेन्ट्री रिलिज गर्न सकारात्मक भएपछि सहज भएको सुनाए उनले।

'त्यो बेला जय नेपाल नयाँ स्वरुपमा खुलेको थियो। उनीहरु पनि नयाँ प्रयोग गर्न सकरात्मक थिए। अप्रोच गरेपछि सजिलै मान्नुभयो। त्यसअघि खासै हलमा डकुमेन्ट्री रिलिज भएका थिएनन्। हाम्रो डकुमेन्ट्री रिलिज भएपछि हलमा पनि डकुमेन्ट्री चल्दोरहेछ भन्ने भयो। एकहप्ताजति चलेको यस डकुमेन्ट्रीले राम्रो प्रतिक्रिया पाएको थियो।'

प्रदर्शनअघि डकुमेन्ट्री 'भेडाको ऊनजस्तो' दक्षिण एसियाली चलचित्र महोत्सवमा प्रिमियर गरिएको थियो। उक्त फेस्टिबलमा यस डकुमेन्ट्रीले स्पेसल जुरी मेन्सन अवार्ड समेत जितेको थियो। त्यसपछि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेस्टिबलमा पुगेको बताउँछन् उनी।

निर्देशक श्रेष्ठको अर्को डकुमेन्ट्री समेत हलमा रिलिज गरिएको थियो। भुषण दाहालको निर्देशनमा नेपथ्यले डोल्पा पुगेर 'स कर्णाली' गीत निकालेको थियो। त्यसै गीतको यात्रालाई श्रेष्ठले 'स कर्णाली: टु डोल्पा' नामबाट डकुमेन्ट्री बनाए।

जुन डकुमेन्ट्री सन् २००६ मा हलमा प्रदर्शन भएको उनले बताए। कुमारी हलमा रिलिज भएको यो डकुमेन्ट्री दुई सातासम्म चलेको थियो।

'यो डकुमेन्ट्री पनि नेपथ्यकै गीतको सुटिङको यात्रा थियो। गीतको भिडिओ से-फोक्सुन्डो पुगेर खिचिएको थियो। नेपालयले निर्माण गरेको डकुमेन्ट्रीमा डोल्पाको संस्कृति, जीवनशैली, मन छुने परिदृश्य र म्युजिक भिडिओ बनाउने कलालाई समेटिएको छ,' उनले भने।

पैसा कमाउने उदेश्यभन्दा पनि लोकप्रिय बनाउने हेतुले हलमा डकुमेन्ट्री रिलिज गरेको उनको दाबी छ। उनले भने, 'कमर्सियल नभएकाले हलमा डकुमेन्ट्री रिलिज गर्न गाह्रो हुनु संसारभरिकै समस्या हो। हलबाट पैसा कमाउनेभन्दा पनि देखाउने हाम्रो उद्देश्य थियो। डकुमेन्ट्रीलाई पपुलर बनाउने अभियानको रुपमा लिएका थियौँ। जसकारण हामीले नाफा/घाटा हेरेनौँ।'  

राम्रो डकुमेन्ट्री बन्दा दर्शकहरुले मन पराउने बताउँछन् उनी। 'राम्रो डकुमेन्ट्री बन्दा दर्शक आउँछन्। अहिले मल्टिप्लेक्स हलहरु धेरै छन्। जसकारण नियमित रुपमा हेर्न पाइन्छ कि भन्ने आस छ।'

मनोज पण्डित निर्देशित डकुमेन्ट्री 'ग्रेटर नेपाल' पनि हलमा रिलिज भएको थियो। १८ वर्षअघिको यो डकुमेन्ट्री नेपालको सिमाना र ऐतिहासिक विषयवस्तुमा आधारित छ। हलसहित विद्यालयमा समेत देखाइएको डकुमेन्ट्रीले त्यसबखत राम्रै पनि बटुलेको थियो। यस वर्ष पण्डितले यसै वृत्तचित्र नयाँ शृंखला ल्याउने घोषणा गरेका छन्।

केसाङ छेतेन निर्देशित डकुमेन्ट्री 'हु विल बि अ गुर्खा' हलमा रिलिज भएको थियो। सन् २०१२ मा रिलिज भएको यो डकुमेन्ट्री देशभरका पाँच सहरमा प्रदर्शन गरिएको वितरक राजेशले गोङ्गजुले जानकारी दिए।

'विभिन्न अन्तर्राष्ट्रिय फेस्टिबलमा पुगेपछि निर्देशक र मैले नेपालमै रिलिज गर्ने योजना बनाएका थियौँ। काठमाडौँसहित पोखरा, बुटवल गरेर हामीले पाँचवटा सहरमा रिलिज गरेका थियौँ। हाम्रो डकुमेन्ट्रीले अरु कमर्सियल फिल्मसरह नै शो पाएको थियो,' उनले भने।

गोर्खा सैनिकमा भर्ती भई बेलायत जाने सपना बोकेका युवाहरुको कथा यस डकुमेन्ट्रीले भन्छ। भर्ती प्रक्रिया र सहभागीहरुको मनोविज्ञानलाई चित्रण गरिएको वृत्तचित्र पोखराको भर्तीकेन्द्रमा ८ महिना लगाएर खिचिएको थियो।

एक सातासम्म चलेको यस डकुमेन्ट्रीले दर्शकहरुबाट समेत राम्रो प्रतिक्रिया पाएको बताउँछन् उनी। साथै हलमा प्रदर्शन गर्न आफूहरुले निकै गाह्रो भएको उनको भनाइ छ।

'त्योबेला पनि हलमा डकुमेन्ट्री रिलिज गर्नु गाह्रो कुरा थियो। नेपालभरि नै वितरण गर्न कठिन भएको थियो। हामीले रेडियो र टेलिभिजनमार्फत प्रचारप्रसार गरेका थियौँ,' उनी भन्छन्।

यो डकुमेन्ट्री ३०/३५ लाख बजेटमा निर्माण गरिएको थियो। विभिन्न ग्रान्ट पाएको 'हु विल बि अ गुर्खा' लाई अल जरजिराले समेत एक कार्यक्रमको लागि ३० हजार पाउण्डमा किनेको थियो। पैसा कमाउनेभन्दा पनि यस्ता डकुमेन्ट्रीको लागि माहोल सिर्जना गर्न हलमा रिलिज गरेको उनले सुनाए। हलबाट आएको पैसाले डकुमेन्ट्रीको प्रचारप्रचारदेखि प्रदर्शनको खर्च उठेको उनको दाबी छ। 

हलसम्म दर्शक तान्न कथा र विषयवस्तु नै राम्रो हुनुपर्ने सुनाउँछन् उनी। भन्छन्, 'विषयवस्तुले दर्शकलाई तान्न सक्ने हुनुपर्यो। मान्छेलाई थोरै भएपनि सोचनीय बनाउनुपर्यो। अलिकति मनोरञ्जन पनि दिन सक्नुपर्छ। पैसा तिरेर हलमा आएर मानिसहरुले खल्लो स्वाद लिने कुरा हुँदैन।'

नेपालमा मात्रै नभई विश्वभरि नै डकुमेन्ट्री रिलिज गर्न गाह्रो भएको सुनाउँछन् उनी। 'विश्वभरि हलमा डकुमेन्ट्री रिलिज गर्न गाह्रो छ। कम डकुमेन्ट्री मात्र हलमा चलेका छन्। भारतमा पनि विरलै हुन्छ। राम्रो सुरुवात थियो। तर, निरन्तरता दिन सकिएन।'

'क्याराभान' निर्देशक एरिक भ्यालीको डकुमेन्ट्री पनि हलमा रिलिज भएको थियो। एरिक भ्याली निर्देशित 'क्याराभान' नेपालबाट अस्कर मनोनयनमा पर्ने पहिलो फिल्म हो।

सो डकुमेन्ट्री 'बियोन्ड द क्लाउड' लाई क्यूएफएक्सका हलमा सन् २०१८ अक्टोबर १८ रिलिज गरिएको विष्णु कल्पित बताउँछन्। जसले यो डकुमेन्ट्री खिचेका हुन्।

'बियोन्ड द क्लाउड क्यूएफएक्सअन्तर्गतको जयनेपाल र कुमारी हलमा रिलिज भएको थियो। यो हेरेपछि सबैजनाले प्रशंसा गर्नुभएको थियो। त्यही आठ/दश दिनजति चलेको थियो,' कल्पितले भने।

विष्णु लामो समयदेखि डकुमेन्ट्री तथा फिल्म प्रोजेक्टमा सक्रिय छन्। कल्पित निर्देशित डकुमेन्ट्री 'गड्स बफेलो'ले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो।

यसै वर्षको वैशाखमै डकुमेन्ट्री 'पासाङः इन द स्याडो अफ एभरेस्ट' पनि प्रदर्शन गरिएको थियो। प्रिमियरसँगै क्यूएफएक्सको हलमा रिलिज भएको यो डकुमेन्ट्री पनि तीनचार दिन चलेको थियो।

यो डकुमेन्ट्री राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको जीवनमा आधारित छ। पासाङ ल्हामु फाउन्डेसनले निर्माण गरेको डकुमेन्ट्री अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनको निर्देशनमा बनेको हो।

दुर्गम क्षेत्रकी एक आदिवासी महिलाले अघि बढ्न गरेको संघर्ष, अवरोध र समाजदेखि परिवारसम्मको सहयोग फिल्ममा समेटिएको छ।

फाट्टफुट्ट डकुमेन्ट्रीहरु हलमा लागे पनि निरन्तरता भने पाउन सकेको सकेका छैनन्। मेकरले डकुमेन्ट्री सीधै हलमा देखाउने आँट कहिले गर्लान्? त्यो भने समयले देखाउला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .