गायिका एलिना चौहानले आफूलाई नसोधी, आफ्नो इच्छाविपरीत ‘ब्रेकअप’को समाचार बनाइएको भन्दै आक्रोशसँगै गम्भीर पीडा पोखेकी छन्।
आफू सार्वजनिक व्यक्तित्व भए तापनि आफ्नो व्यक्तिगत जीवन पनि हुने उल्लेख गर्दै उनले यस्ता विषय गोप्य राख्न पाउनुपर्ने अधिकार आफूसँग रहेको जिकिर गरेकी छन्।
‘अझै कोही छुट्नुभएको छ मेरो समाचार बनाउन कि सबैले खोजी पत्रकारिताको बिट मारिसक्नुभयो’, एलिनाले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेकी छन्, ‘म मान्छु कि म सार्वजनिक व्यक्तित्वभित्र पर्छु। तर पनि मेरो व्यक्तिगत जीवन छ। त्यसलाई गोप्य राख्न चाहने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसँग मात्र छ।’
आफ्नाबारे धेरैलाई धेरैभन्दा धेरै कुरा थाहा पाउने चाहना छ भन्ने विषयमा आफू जानकार भए पनि आफ्नो इच्छाबिना र सही समय नपर्खीकन हतारहतार समाचार बनाएकाले आफूलाई मानसिक पीडा भएको एलिनाले उल्लेख गरेकी छन्।
‘के कसैले मलाई सोधेर यो समाचार बनाएको हो? के कसैलाई मैले बनाउन लगाएको हो? कोही सामान्य गफ गरेको भरमा मलाई नसोधी मेरो इच्छाबिना समाचार बनाउँछन्। कोही मैले देशलाई नै घात पुर्याउने काम गरेजसरी स्रोतका अनुसार भन्दै समाचार बनाउँछन्। र, फेरी त्यही समाचारअनुसार मेरा पुराना टिकटमा रोएर अपलोड गरेका गीतहरूको भिडिओ प्रयोग गरेर भिडिओ समाचार बनाउँछन्’, आक्रोश पोख्दै एलिनाले अगाडि भनेकी छन्, ‘मानौँ, मेरो पीडा जस्ताको त्यस्तै देखाउन खोजेका हुन्, मानौँ मेरो स्थिति दर्शाउन खोजेका हुन्। थोरै लाज, सरम भन्ने कुरा त हुनुपर्छ एक नाम चलेको मिडिया हाउसहरूसँग। मानवता र संवेदनशिलता त राख्नुपर्छ, हैन र? बिछोड धोकाजस्ता शब्दहरू भनेकै पीडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरू हुन तर आज समाचार यसरी बन्दै छ कि मैले कुनै नौलो कुरा गरेँ र, त्यो कुरा सारा नेपालीले थाहा पाउनुपर्छ र रमाउनुपर्छ।’
अनुपयुक्त सयमा यस्तो संवेदनशील कुरा सार्वजनिक गरिँदा आफूलाई गम्भीर मानसिक आघात पुगेको गुनासो एलिसाले गरेकी छन्।
‘म कहाँ छु, कुन स्थितिमा छु, के गर्दै छु, कति तयार छु यी सबै कुराको लागि, यो सामान्य कुरा त हजुरहरूले सोचिदिनु भएको भए हुने। मलाई यस्तो कुरा बाहिर ल्याउनु थियो भने म आफैँ सही समयमा ल्याउने थिएँ, यसरी हजुरहरूले खोजी पत्रकारिता गरेर समय बर्बाद गर्नु पर्थेन’, उनले भनेकी छन्, ‘थाहा छ– हजुरको यो पत्रकारिताको धर्मले मलाई कति असर गरेको छ? अनुमान लगाउन सक्नुहुन्छ– यसले मेरो मानसपटलमा कति हानि पुर्याएको छ? के पाउनुभयो यो समाचार बनाएर वा यसरी बनाएर? न देशले केही पायो न केही गुमायो? सिवाय हजुरहरूको सस्तो लोकप्रियता र केही डलर अनि मलाई गहिरो चोट!’
यस्तो छ उनको पूरा स्टाटस-
नमस्कार
अझै कोही छुट्नुभएको छ- मेरो समाचार बनाउन कि सबैले खोजी पत्रकारिताको बिट मारिसक्नुभयो?
म मान्छु कि म सार्वजनिक व्यक्तित्वभित्र पर्छु, तर पनि मेरो व्यक्तिगत जीवन छ र त्यसलाई गोप्य राख्न चाहने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसँग मात्र छ। थाहा छ- धेरैले मेरो धेरैभन्दा धेरै कुराहरू थाहा पाउन चाहनुहुन्छ। तर यो भन्दैमा सञ्चारकर्मीहरूले मेरो इच्छाबिना अथवा सही समयको पर्खाइबिना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रुपमा पीडा दिनु भएन।
के कसैले मलाई सोधेर यो समाचार बनाएको हो?
के कसैलाई मैले बनाउन लगाएको हो र?
कोही सामान्य गफ गरेको भरमा मलाई नसोधी मेरो इच्छाबिना समाचार बनाउँछन्। कोही मैले देशलाई नै घात पुर्याउने काम गरेजसरी स्रोतको अनुसार भन्दै समाचार बनाउँछन्। र, फेरि त्यही समाचारअनुसार मेरा पुराना टिकटमा रोएर अपलोड गरेका गीतहरूको भिडिओ प्रयोग गरेर भिडिओ समाचार बनाउँछन्।
मानौँ, मेरो पीडा जस्ताको त्यस्तै देखाउन खोजेका हुन्। मानौँ, मेरो स्थिति दर्शाउन खोजेका हुन्। थोरै लाजसरम भन्ने कुरा त हुनुपर्छ, एक नाम चलेको मिडिया हाउसहरूसँग। मानवता र संवेदनशीलता त राख्नुपर्छ, हैन र र? बिछोड, धोकाजस्ता शब्दहरू भनेकै पीडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरू हुन्। तर आज समाचार यसरी बन्दै छ कि मैले कुनै नोलो कुरा गरे र त्यो कुरा सारा नेपालीले थाहा पाउनुपर्छ र रमाउनुपर्छ।
म कहाँ छु, कुन स्थितिमा छु, के गर्दै छु, कति तयार छु- यी सबै कुराको लागि? यो सामान्य कुरा त हजुरहरूले सोचीदिनुभएको भए हुने। मलाई यस्तो कुरा बाहिर ल्याउनु थियो भने म आफैँ सही समयमा ल्याउने थिएँ। यसरी हजुरहरूले खोजी पत्रकारिता गरेर समय बर्बाद गर्नु पर्थेन। थाहा छ- हजुरको यो पत्रकारिताको धर्मले मलाई कति असर गरेको छ? अनुमान लगाउन सक्नुहुन्छ- यसले मेरो मानसपटलमा कति हानि पुर्याएको छ?
के पाउनुभयो यो समाचार बनाएर वा यसरी बनाएर? न देशले केही पायो न केही गुमायो, सिवाय हजुरहरूको सस्तो लोकप्रियता र केही डलर अनि मलाई गहिरो चोट।
हजुरहरूको खोजी पत्रकारिताले मैले भोगेका दुःख, पीडा, अपमान किन देख्दैन? थाहा छ- कलाकारहरूले हरेक पाइलामा कति अपमान सहजु परेको हुन्छ? अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ती जा भनियो। नत्र उहाँहरूले चाहेसम्म गाएको गायै गर्न निर्देश गरियो, हाम्रै संगीत क्षेत्रको अभिभावकले।
त्यसपछि अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दुर्व्यवहार गर्न खोज्यो र मैले त्यसको तुरुन्त प्रतिकार गरेँ। यो आयोजकको गल्ती हैन र? यस्ता कुरामा सजग हुने पर्ने हैन र?
अरु पनि धेरै छन्, जसमा सञ्चारकर्मीहरूले सानो कलम चलाइदिँदा सभ्य समाजको निर्माण हुन सक्छ? जसले गर्दा कालाकार देशको गहना हो भने झै सही सम्मान पाउन सक्छन्।
अरु त अरु भए मैले नजिकबाट चिनेका र साथीझैँ सम्बन्ध भएका सञ्चारकर्मीहरूले पनि मलाई यसरी मानसिक पीडा दिन केही कसुर छाड्नु भएन। जसरी हुन्छ, आफ्नो कन्टेन्ट बिकाउनु छ। सबैलाई चाहे त्यसले अरुलाई जतिसुकै पीडा किन नपुर्याओस्।
सारंशमा भन्न चाहन्छु- म यो समाचारको हेडलाइन बन्न तयार थिइनँ र यो मेरो इच्छाविरुद्ध हो, खेद प्रकट छ।
धन्यवाद
Shares
प्रतिक्रिया