बर्लिन फिल्म फेस्टिभलमा मिन भाम निर्देशित फिल्म ‘शाम्भाला’ छानिएको छ।
फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यो फिल्म छनोट भएको हो।
बर्लिनमा यो विधामा छनोट हुने शाम्भाला पहिलो फिल्म हो। साथै यस फिल्मले १९ फिल्मसँग सर्वोच्च पुरस्कार 'गोल्डन बेयर' का लागि प्रतिस्पर्धा गर्नेछ।
मिनको पहिलो फिचर फिल्म 'कालोपोथी' नेपालबाट अस्करका लागि सिफारिस भएको थियो। साथै यो फिल्म भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो।
भानसहित अविनाश विक्रम शाहले शाम्भालाको कथा लेखेका हुन्। यस फिल्मले हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा गएको कथा समेटेको छ।

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको छायाङ्कन डोल्पामा गरिएको हो।
थुप्रै अन्तर्राष्ट्रिय ग्रान्ट (अनुदान) जितिसकेको यस फिल्ममा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्हा लगायतको अभिनय छ।
यसअघि यो फिल्मको नाम 'चिसो वर्ष (अ इयर अफ कोल्ड)' थियो। उक्त नाममै फिल्मको पटकथाले ७५ हजार युरो (करिब १ करोड ३ लाख नेपाली रूपैयाँ) बराबरको पुरस्कार जितेको थियो। पुरस्कार टर्कीको 'टुवेल्भ पुन्टो स्क्रिप्ट ल्याब'ले प्रदान गरेको हो।
Shares

प्रतिक्रिया