ad ad

कला


पुरन खड्काका आर्टको एकल प्रदर्शनी, बिक्रीमा पेन्टिङ

पुरन खड्काका आर्टको एकल प्रदर्शनी, बिक्रीमा पेन्टिङ

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १४:३९, काठमाडौँ

आधुनिक अमूर्तकलाका अग्रज कलाकार हुन् स्व. पुरन खड्का। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको हलमा पुरनद्वारा सिर्जित कलाकृति राखेर एकल प्रदर्शनी भइरहेको छ।

पुरनको सम्झनामा मंगलबारबाट सुरु भएको ‘सूत्रपातदेखि सम्पूर्णता’ शीर्षकको प्रदर्शनी मंसिर २८ गतेसम्म चल्नेछ। अरनिको हलमा जारी प्रदर्शनीमा पुरनका पेन्टिङहरू बिक्रीमा समेत राखिएको छ।

नेपालको सामाजिक-सांस्कृतिक पक्षहरूतर्फ झुकाव र मानवचित्र वा परिदृश्य चित्रण गर्न रुचाउने खड्काका अवधारणा र कलाशैली अमूर्त छन्। खड्काले तीन दशक बढी समय चित्रकला सिर्जनामा बिताएका थिए।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला, सर्जक र सिर्जनाको सम्मान गर्न प्रदर्शनी राखिएको बताए। कलाक्षेत्रमा लाग्नेहरूले सांस्कृतिक रूपमा समाजलाई बुझ्नुपर्ने र विश्वव्यापी रूपमा कलाका बारेमा बहस गर्नुपर्ने उनको भनाइ छ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले पुरन खड्काजस्ता अग्रज व्यक्तित्वलाई समेटेर प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

यो प्रदर्शनी नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, समसामयिक चित्रकला विभागको आयोजना र एन्सेन्ट नेपालको सहकार्यमा गरिएको हो।

२०१२ वैशाख ३० गते अछाममा जन्मेका पुरनले तीन दशक बढी समय कला सिर्जनामा बिताए। मुम्बईको जे-जे स्कुल अफ आर्टबाट ललितकलामा स्नातक गरेका उनले ६ पटक एकल कला प्रदर्शनी समेत गरेका थिए।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा समेत भाग लिएका खड्काले ललितकला क्याम्पसमा चित्रकला विषयको प्राध्यापन समेत गरेका थिए। संस्कृति मन्त्रालय र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानबाट प्रदान गरिने सुदूरपश्चिमाञ्चल क्षेत्रीय पुरस्कार २०६७ र २०६५ द्वारा पुरनलाई सम्मानित गरिएको थियो। २०७३ सालमा पुरनको निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .