क्राइममा आधारित वेब सिरिज ‘आरती’ को ट्रेलर सार्वजनिक भएको छ। आरतीको ट्रेलर मैथिली र नेपाली गरी दुई भाषामा रिलीज भएको हो।
‘आरती’को कथावस्तु बलात्कार र महिला हिंसामाथि आधारित छ। सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कँडेल र संसार अधिकारीको प्रमुख अभिनय छ।
‘आरती’ मा रोशन दासको कथा र निर्देशन छ भने कथा लेखन हिकमत शर्माले गरेका हुन्।
मैथिली भाषामा न्यारेशन र संवाद–अनुवाद विद्यानन्द बेदर्दीले गरेका हुन् भने डबिङ्ग स्वर सरोज खिलाडी, राम भजन कामत, कृष्ण कुमार महतो, गीता श्री, अनन्त अनुराग, गजेन्द्र गजुर, गायत्री सिंह, शिवम मिश्रा, रोशन साह, रूपा यादव र रवि शर्माको छ।
उक्त सिरिज नितेश घतानले खिचेका हुन् भने कवीर ओडले सम्पादन गरेका हुन्। आशिष दास प्रोड्युसर र राकेश शाह क्रियेटिभ प्रोड्युसर छन्।
आदर्श प्रोडक्सन्स यूट्युब च्यानलमा मैथिली र ओएसआर डिजिटल च्यानलमा नेपाली ट्रेलर सार्वजनिक भएको साहित्यकर विद्यानन्द बेदर्दीले बताए।
६ वटा एपिसोड रहेको ‘आरती’ वेब सिरिजको सम्पूर्ण एपिसोड ओटीटी प्लेटफर्म नेट टीभी र ग्यालेक्सी टीभीमा प्रसारण हुने भएको छ।
वेब सिरिजमा न्यायालय सत्ताधारीको औँलाको ईशारामा चल्ने, बलात्कार गरेर हत्या गरिएको वा दाइजोकै कारण मारेर देखावटी रुपमा फाँसीमा झुण्ड्याइएका आरतीहरूलाई न्याय दिन कति बेइमानी भइरहेको छ भन्ने कुरालाई चित्रण गरिएको छ।
यस सिरिजमा इतिहासमा सती प्रथाका कारण सती जानेहरू देशलाई सरापेको तर समाजका दानवहरूले आफ्नो स्वार्थका लागि ज्यानको आहुति दिन बाध्य बनाउने चेलीबेटीहरूद्वारा समाज र देश श्रापित नहोस् भन्ने आम जनता भावलाई यस सिरिजमा प्रस्तुत गरिएको बेदर्दीले जनाएका छन्।
Shares
प्रतिक्रिया