ad ad

कला


‘परदेशी-२’ टिम मोफसल दौडमा, हिरोमा रुचाइएलान् प्रकाश सपूत?

‘परदेशी-२’ टिम मोफसल दौडमा, हिरोमा रुचाइएलान् प्रकाश सपूत?

नेपालखबर
असोज ६, २०८० शनिबार ९:३८, काठमाडौँ

आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझि निर्देशित फिल्म ‘परदेशी २’टिम अहिले मोफसल दौडमा छ। 

आफ्नो फिल्मको लक्षित समूहका दर्शकलाई हलसम्म तान्ने प्रयास स्वरुप परदेशी २ टिम काठमाडौंको कलेजपछि अहिले नारायणगढ पुगेको हो । त्यहाँका विभिन्न कलेजमा पुगेर निर्माण टिमले दर्शक फकाइरहेको छ।

फिल्म युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित छ । स्वभाविक रुपमा यसको लक्षित वर्ग कलेजका विद्यार्थीहरु हुन् । फिल्मको टिमले पनि प्रचारका लागि कलेज नै रोजेको छ। 

फिल्मको कथा बुझाउन नाटक समेत तयार गरिएको छ। त्यही नाटक लिएर काठमाडौंपछि फिल्मको टिम यतिबेला मोफसल दौडाहामा छ । असोज १२ गतेसम्म पश्चिम नेपालका विभिन्न शहरहरुमा फिल्मको मोफसल टुर जारी रहनेछ।

बिहीबार र शुक्रबार नारायणगढका केही कलेजमा नाटक देखाउँदै निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीले त्यहाँका विद्यार्थीहरुलाई परिवारसहित फिल्म हेर्न निम्तो दिए।

अब बुटवल, नेपालगञ्ज र पोखरामा यही शैली अपनाइनेछ । नाटकलाई विद्यार्थीहरुले रुचाएका छन् । नाटक हेर्दा कति विद्यार्थी भावुक भएको निर्देशक रायमाझीले बताए।

फिल्मका निर्देशक रायमाझीले ‘परदेशी’ र ‘परदेशी २’को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुलै फरक रहेको दाबी गरेका छन् । कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको निर्देशक रायमाझीको भनाई छ। 

गीतसंगीतलाई फिल्म जसरी छनक दिने गायक तथा संगीतकार एवम् परदेशी २ बाट पहिलो पटक फिल्ममा पाइला चालेका अभिनेता प्रकाश सपुतले कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रुपमा जोडिएको जानकारी दिए।

उनले अगाडी भने, ‘गीतसंगीत गर्नु र सिनेमा गर्नु विल्कुलै फरक रहेको परदेशी २ मा जोडिँदा चुनौती नै मोलेर फिल्ममा आवद्ध भएपनि निर्देशक नारायण सर र म गीतसंगीत कै भएकाले काम गर्न त्यति असहज भएन्।’ 

फिल्ममा एउटा विदेशिने विद्यार्थीको भूमिकामा देखिए भन्दै परदेश हुदाँ घर, साथी, पढाईसँगै काममा हुने भोगाइ र यादहरुलाई चित्रण गरिएको जानकारी उनले दिए।

अभिनेत्री केकी अधिकारीले फिल्मको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको बताइन् । फिल्ममा एकजना परदेशी हुँदा उसको परिवार त सधैँ उसको पर्खाइमा रहने भयो तर उसँग जोडिएको उसको प्रेमलाई पनि फिल्ममा देखाएको छ । अनि कुनैपनि काम मन लगाएर गरेको खण्डमा देशमै सुन फल्छ भन्ने मूलमर्म फिल्मले बोकेको उनले भनिन्।

अभिनेता प्रशान्त तामाङ अभिनीत २०७२ सालमा रिलिज भएको फिल्म ‘परदेशी’ सुपरहिट भएको थियो। यसपटक पनि उनी फिल्ममा विशेष भूमिकामा देखिने छन् । फिल्मको कथा प्रकाश सपूतको वरिपरी घुमेको छ। 

यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका सपुत गायनमा स्थापित नाम हो । एकातिर यो फिल्मलाई अघिल्लो श्रृंखलाको खास जोगाउनुपर्ने चुनौती छ भने अर्कोतिर प्रकाशलाई गायक हिरोको रुपमा सफल हुनुपर्ने चुनौती छ।

नीर शाह, दीलिप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको फिल्म नारायण रायमाझी र राजेश बंशलले संयुक्त रुपमा निर्माण गरेका हुन्। 

फिल्ममा गीतकार रमेश विजीको कथा लेखन, मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको छ।

दुई दिने नारायणगढ यात्रा सकेर परदेशी २ टिम भोली नेपालगञ्ज पुग्दै छ । शनिबार त्यहाँका विभिन्न हल र कलेजको पुगेर फिल्मको टिमले दर्शक भेटघाट तथा प्रचारका विभिन्न कार्यक्रममा सहभागी हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .