अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई शीर्ष भूमिकामा लिएर निर्माण गर्न लागिएको फिल्म ‘फर्की फर्की’को फर्स्ट लुक्स भिडिओ सार्वजनिक गरिएको छ।
फिल्म छायांकनमा जानुअगावै निर्माण टिमले टिजर रिलिज गर्दै निर्माणको औपचारिक घोषणा गरेको हो।
फिल्मको फस्टलुक भिडिओमा अनमोल केसीलाई फिचर गरिएको छ। आफैसँग अलमलमा परेका अनमोल केसीका सपना र विपनामा फिल्मको कथा केन्द्रित हुने सार्वजनिक टिजरले बताएको छ।
सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्ममा रोहित अधिकारी र ओम अग्रवालको लगानी रहनेछ। सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्ममा मनोज ओली र रामु न्यौपाने सहनिर्माता, आलोक शुक्लाको छायांकन रहनेछ।
यो फिल्मको छायांकन तिहारको लक्ष्मीपूजामा सुरु गर्ने योजनामा निर्माता अधिकारी छन्। अनमोल केसी यो फिल्मको छायांकनअगाडि सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा व्यस्त रहने छन्।
Shares
प्रतिक्रिया