ad ad

कला


घृणाको राजनीति दुत्कार्ने ‘रकी और रानी की प्रेमकहानी’

घृणाको राजनीति दुत्कार्ने ‘रकी और रानी की प्रेमकहानी’

नेपालखबर
साउन २२, २०८० सोमबार २१:३३, काठमाडौँ

यो साल रिलिज भएका केही बलिउड सिनेमाले नब्बेको दशकमा खुब मन पराइएका खास ढर्राका प्रेमकथा शृंखलाको स्मरण गराइदिएको मात्र छैन, त्यो फर्मुलालाई दर्शकले नपत्याउने गरी मन पनि पराइदिएका छन्। २ जुनमा हल्लाखल्ला नगरी मल्टिप्लेक्समा चलेको बिकी कौशल र सारा अलि खानको कमेडी रोमान्स ड्रामा  ‘जरा हटके जरा बचके’ ले नपत्याउनेगरी व्यापार गर्यो। धेरै तडकभडक नगरिएको यो सिनेमा हेर्न जाने दर्शकको भीड देखेर फिल्म समीक्षकहरु नै चकित परे। 

त्यसपछि २९ जुनमा आयो कार्तिक आर्यन र कियारा आड्वाणीको सोही जनरामा बनेको ‘सत्य प्रेमकी कथा।’ यसले पनि नपत्याउने पाराले बक्स अफिसमा आफ्नो उपस्थिति जनायो। अहिले हलहरुमा खचाखच दर्शक पाएको त्यही जनरामा बनेको सिनेमा हो, ‘रकी और रानी की प्रेमकहानी’। यी तीनवटै सिनेमामा केही समानता छन्– यी एउटै जनरामा बनेका हुन्। शीर्षक मिल्दाजुल्दा छन्। धेरै तडकभडक नगरिकन ल्याइएको यी सिनेमाका कलाकार पनि नयाँ पुस्ताका छन्। 

इसिता मोइत्रा र शशांक खेतानद्वारा लिखित करण जौहरले निर्देशन गरेको कथा ‘रकी और रानी कि प्रेमकहानी’ मा करण जौहरले धर्मेन्द्र र शवाना आजमीबीच फिल्माएको चुम्बनको दृश्य बाहेक नयाँपन खास छैन। सिनेमा मेकिङ करणले विरासतमा पाएको यश जौहरको धर्मा प्रडक्सनको परम्पराबाट मुक्त छैन तर पारिवारिक यो ड्रामा यस्तो कालखण्डमा रिलिज भएको छ, जुन समय भारतीय समाज खण्डखण्डमा विभाजित छ। 

साम्प्रदायिक राजनीतिलाई आदर्श ठान्ने दलले राज गरेको भारतीय समाज अहिले यसरी खण्डीकरण भएको छ, जहाँ एउटा समुदायले अर्काे समुदायलाई देख्दा लुक्नुपर्ने/त्रसित हुनुपर्ने अवस्था छ। अमेरिकाको ‘ह्वाइट सुप्रिमेसी’ र हिटलरको ‘आर्यन सुप्रिमेसी’ को रुपान्तरण भई त्यसको अभ्यासमा परिणत भएको जस्तो देखिन्छ, अहिलेको भारतीय समाज। यो दम्भले अन्तर्जातीय विवाह समेतलाई सामाजिक अपराधको दर्जामा राखिदिएको छ। मानौँ,  लोकतान्त्रिक भारत तालिवानी शासन व्यवस्थामा रुपान्तरित हुन चाहन्छ। यस्तो विषाक्त राजनीतिक वातावरणमा महिला, दलित र उपेक्षितका मुद्दा झन् बढी दमित भएको छ।  

सामाजिक सौहार्द्रता असाध्यै बिग्रिएको छ। हिंसात्मक झडपमा दिनहुँ मान्छे मारिन थालेका छन्। बहुसाँस्कृतिक समाजमा पिषको रुपमा किकसित भएको यस्तो त्रासमा मान्छेले मान्छेको अनुहारदेखि तर्सनु परेको छ। यो विषाक्त राजनीतिको प्रभाव बलिउडमा पनि मनग्य परेको छ। त्यहाँ पनि संस्थापन र विपक्षमा विभक्त छन् कलाकार। यस्तो भयावहताबाट तत्काल निस्कने भारतीय समाजमा कुनै अचुक औषधि पनि देखिएको छैन। रकी और रानी की प्रेमकहानीले बिग्रँदो यस्तो सामाजिक परिवेशबाट भारतीय समाजलाई बाहिर निकाल्ने सत्प्रयत्न गरेको छ। त्यसैले केही नवीनताबिनाको यो सिनेमा आफैँमा विशेष बन्न पुगेको छ। 

तपाईंले विश्वभर धुमधाम चलिरहेको र साथमा काठमाडाँै उपत्यकाका हलहरुमा पनि निकै रुचाइएको हलिउड सिनेमा ‘बार्बी ‘ हेर्नुभएको छ कि छैन? त्यसमा जसरी महिलालाई गुडिया ठान्ने पुरुष सोचविरुद्ध बार्बी अर्थात सचेत ‘गुडिया’ हरुको एकताबद्ध संघर्ष हुन्छ, कमोबेस त्यस्तै पुरुष चिन्तन विरुद्धको सामाजिक विद्रोह यो सिनेमामा पनि देखाइएको छ। महिला उपभोग्य पस्तु मात्र होइनन्। तिनलाई चुलाचौकामा सिमित गर्ने कोसिस गर्नुहुँदैन। तिनलाई खुला आकाशमा उड्न दिइनुपर्छ भनी पैरवी गरिएको छ। क्षेत्र, जाति, वर्ग, वर्ण र शरीरको बनोटका आधारमा कोही पनि सानोठूलो हुँदैन, अपितु मानवतावादले मान्छेको भूमिका निर्धारण हुन्छ भन्ने देखाउन त्यस्ता परिवेश र पात्रहरु तयार पारिएको छ। परम्पराका नाममा परिवारलाई यथास्थितिमा राख्न खोज्ने केन्द्रीय पात्र जया बच्चनले आफ्नो भूमिका प्रभावकारी रुपमा निभाएकी छन्। 

पञ्जाबी व्यावसायिक घरानाका नायक (रनवीर सिंह) र बंगाली बौद्धिक परिवारकी नायिका (आलिया भट्ट) बीच फक्रिएको प्रेमकथा भिन्न सांस्कृतिक परिवेशले कसरी प्रभावित हुन्छ, पट्यार नलाग्नेगरी फिल्मांकन गरिएकोछ। हास्यरसले भरिपूर्ण छ सिनेमा। यो विशुद्ध पारिवारिक सिनेमा हो। यसमा ड्रामा छ, मेलोडी छ, रोमान्स छ। ३ घण्टा हाँसीहाँसी बित्छ। समाज तोड्ने घृणाको राजनीतिले हाँसो हराइरहेको भारतीय समाजमा यो सिनेमाले तिनलाई जोड्न केही मात्रामा भए पनि सहयोग पुर्याउन सक्छ।

नेपाललखबर मल्टिमिडिया टिमले यो रमाइलो सिनेमा छाया सेन्टरस्थित क्यूएफएक्स मल्ल्टिप्लेक्समा हेरेको थियो। त्यहाँ भरिभराउ दर्शक हेर्दा रकी और रानी की प्रेमकहानी नेपाली दर्शकले पनि मन पराएको देखिन्छ। तपाईं पनि कामको दबाब केही मात्रामा हलुका पार्न चाहनुहुन्छ भने हलमा गई यो सिनेमा हेर्न सिफारिस गरिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .