ad ad

कला


‘ट्रयाजेडी क्वीन’ मीनाकुमारी, जसलाई जन्मेकै दिन बुबाले छोडेका थिए अनाथ आश्रममा

‘ट्रयाजेडी क्वीन’ मीनाकुमारी, जसलाई जन्मेकै दिन बुबाले छोडेका थिए अनाथ आश्रममा

नेपालखबर
साउन १६, २०८० मंगलबार १७:१९, काठमाडौँ

बलिउडमा अभिनेत्री मीना कुमारीलाई ट्रयाजेडी क्वीन भन्ने गरिन्थ्यो। उनको जीवनमा विछोडको कथा जन्मिएकै दिनबाट सुरु भयो। उनका बुवा उनलाई छोराका रुपमा हेर्न चाहान्थे। तर, छोरी भएर जन्मिएकै कारण मीनाले जन्मिएकै दिन अनाथआश्रम पुग्नु पर्यो।

मीना कुमारी जन्मने दिन उनका बुवा अली बक्श अस्पतालको अपरेसन रुमबाट नर्स दौडिएर छोरा जन्मेको खुसीको खबर सुनाउने आशमा बसेका थिए। तर उल्टो भयो। छोराको पर्खाइमा रहेका अलीका लागि छोरी जन्मिएको खबर राम्रो थिएन। उनले आफ्नी छोरीलाई केही समयमा काखमा बोकेर त्यही दिन अनाथालयमा छोडिदिए। जन्मिएकै दिन अनाथालयमा छाडिएकी त्यहि केटी थिइन्, मेहजबीन उर्फ मीना कुमारी। यो उनको जीवनको पहिलो दिन थियो।

मीनाकुमारीलाई ट्रयाजेडी क्वीनका रुपमा चिनिन्छ। उनले जन्मदै बुवाको माया पाइनन्। अवस्थाले सानै उमेरमा श्रम गर्नु पर्यो। मानिसलाई क्षमताले जस्तै अवस्थामा पनि साथ दिन्छ भन्ने कुराको बलियो उदाहरण थिइन मीना। प्रतिभाकै कारण उनी स्टार बनिन्। तर उनको ३८ वर्षे जीवन यात्रा सुखद भने रहेन।

आमाको निधनमा शोक समेत मनाउन पाइनन्
मीना कुमारीका बुबा अली बख्शले अनाथ आश्रम छाडेर अस्पताल पुग्दा उनकी श्रीमती अन्य बच्चा हेरेर रोइरहेकी थिइन। श्रीमतीको विक्षिप्त अवस्था देखेपछि अलीले आफ्नी छोरीलाई अनाथालयबाट फिर्ता ल्याए। तर, उनमा छोरीप्रति प्रेम भरिन वर्षौं लाग्यो।

मीना कुमारी बाल्यकालदेखि नै पढ्न चाहान्थिन्। तर परिवारको कमजोर आर्थिक अवस्थाले पढ्न पाइनन्। उनका बुवा थिएटर कलाकार थिए। उनले ४ वर्षकी मीना कुमारीलाई थिएटर लिएर जान थाले।

सन् १९३९ मा निर्देशक विजय भट्टले मीनालाई फिल्म ‘लेदरफेस’मा पहिलो पटक  बाल कलाकारको रूपमा कास्ट गरे। पहिलो फिल्मबाट मीनाले २५ रुपैयाँ पारिश्रमिक पाइन्। त्यसपछि उनले लगातार फिल्ममा बालकलाकारका रुपमा काम गरिन्।

आधा दर्जन चलचित्रमा बाल कलाकारको रुपमा काम गरिसकेकी मीनालाई १३ वर्षको उमेरमा चलचित्र ‘बचनको खेल’मा नायिकाको रुपमा कास्ट गरियो। यो फिल्म रिलिज भएको १८ महिनामा मीनाकी आमा इकबाल बेगमको निधन भयो। आमाको निधनले मीनालाई विक्षिप्त बनायो। तर, घरको जिम्मेवारीले आमाको निधनको शोक समेत मनाउन पाइनन्।

निर्देशकले बदला लिन ३१ थप्पड लगाए
मीना कुमारीले ५० को दशकमा सबैभन्दा सफल र सुन्दर अभिनेत्रीका रुपमा पहिचान बनाएकी थिइन्। मीना कुमारीले एक समय राम्रो प्रभाव जमाएकी थिइन्। एक पटक मीनाले ठूलो निर्देशकसँग काम गर्ने अवसर पाइन्। सुटिङको एक दिन अगाडि उनी निर्देशक मीना कुमारीको मेकअप रुम पुगेका थिए। त्यहाँ खाजाको लागि टेबुल पहिले नै सेट गरिएको थियो। निर्देशकले टोलीलाई पहिले नै बताइसकेका थिए कि उनले मिनासँग उनको मेकअप कोठामा एक्लै दिउँसोको खाना खान उनीसँग फिल्मका बारेमा छलफल गर्नेछन्।

खाजा सुरु हुने बित्तिकै उनले निर्देशकको टेबुल मुनि मीना कुमारीको खुट्टामा खुट्टा राख्न थाले र उनको हात नजिक ल्याएर चुम्बन गर्न थाले। मीना कुमारीले उनको मनसाय बुझिन् र ठूलो स्वरले हल्ला गर्न थालिन्। बाहिर उभिरहेका मानिसहरू भित्र आए र सेटमा कोलाहल मच्चियो। मीना कुमारीले रिसाएर उक्त निर्देशकलाई पिट्न थालिन्। निर्देशक चुपचाप बसे र सबैलाई भने यो एक दृष्यको अभ्यास हो।

त्यतिबेला निर्देशक मौन रहे, तर अपमानको बदला लिन कटिबद्ध थिए। सम्झौताका कारण मीनाले पनि फिल्म छाड्न सकिनन्। जब सुटिङ सुरु भयो, निर्देशकले स्क्रिप्ट परिवर्तन गरे र मीनालाई थप्पड मारेको दृश्य सम्मिलित गरे। स्क्रिप्ट एक्कासी परिवर्तन हुँदा सबै कलाकार स्तब्ध भए। तर, निर्देशकको मनमानी अगाडि कसैको केही चलेन।

निर्देशकले एक्सन बोल्ने बित्तिकै भारी हातले एक अभिनेताले मीनालाई कडा थप्पड हाने। मीनाको गाला रातो भयो। निर्देशकले बदला लिने नियतले शट खराब भएको र फेरि गर्नुपर्ने बताए। मीना कुमारीले आफूसँग बदला लिइएको बुझेकी थिइन्, उनी चुपचाप बसिन्। उनले त्यस बखत चुपचा ३१ वटा थप्पड सहनुपरेको थियो। यसका साक्षी थिए अभिनेता अनवर हुसैन, जसले बलराज साहनीसँग यो कथा सेयर गरेका थिए।

कमल अमरोहीको प्रेममा परेपछि बुबाले ढोका खोल्नुभएन
सन् १९५२ मा कमल अमरोहीले मीना कुमारीलाई फिल्म ‘अनारकली’मा साइन गरे। कमलले ५ वर्षको उमेरमा बाल कलाकारका रुपमा नै मीनालाई देखेका थिए। कमल अमरोहीको फिल्ममा साएइन गर्दा मीनाको उमेर १९ वर्ष भएको थियो। यो फिल्ममा साइन गरेपछि मीना ठूलो दुर्घटनाका कारण अस्पताल भर्ना भइन्। कमल अमरोही फूल लिएर दिनहुँ अस्पताल पुग्थे र मीनासँग घण्टौं कुरा गर्थे। त्यतिबेला कमलले दुई पटक बिहे गरिसकेका थिए। उनी मीना भन्दा दोब्बर उमेरका थिए।

मीनाका बुबा कठोर स्वभावका मानिस थिए। उनले मीनालाई धेरै बन्देजमा राख्थे। कमल र मीनाबीचको कुराकानी बढ्दै गएको देखेपछि उनी आफै अस्पतालमै बस्न थाले। यस्तो अवस्थामा कमल र मीना चिठ्ठी मार्फत कुराकानी गर्थे। दुवैले एकअर्कालाई माया गर्न थाले। मीनाका बुवाले सम्बन्धको बारेमा थाहा पाउने बित्तिकै प्रतिबन्ध बढाए। मीनालाई फिल्म ‘अनानकली’ छोड्न आदेश दिए।

अस्पतालबाट निस्किएपछि मीना कुमारीले फिजियोथेरापी गराइन्। मीनालाई घरबाट एक्लै निस्कन पनि दिइएन। उनका बुबाले उनलाई हरेक दिन बिहान ८ बजे कान्छी बहिनी मधुसँग क्लिनिकमा छोड्थे। ठीक १० बजे उनलाई लिन पुग्थे। जब प्रतिबन्ध बढ्यो, माया पनि बढेर गयो। उनीहरुको विवाह गराईदिन बुवाले मान्नु हुन्न भन्ने कुरा मीनालाई थाहा थियो, त्यसैले उनी एक दिन थेरापीको बहानामा क्लिनिक पुगिन्। बुबा जाने बित्तिकै कमल आएर मीना र कान्छी बहिनीलाई लिएर बिहे गराए। यो सन् १९५२ को कुरा हो।

मीना–कमलको गोप्य विवाह गरे। विवाहपछि मीना आफ्नै बुवाको घर फर्किन। विवाहपछि पनि मीना आफ्नो बुवासँगै बसिरहेकी थिइन। तर एक दिन यो रहस्य खुल्यो। बुबाले सम्बन्धविच्छेदका लागि धेरै दबाब दिए। यो घटनाले उनको घरमा ठूलो हंगामा भयो। एक दिन मीना कुमारीले फिल्म ‘डायरा’ साइन गरिन्। उनका बुवाले मीनाका लागि घरको ढोका खोलेनन्। त्यसपछि मीना कमलको घर पुगिन्।

मीना कमलको घर पुगेपछि सर्त राखियो। कमलले मीनालाई अरु निर्देशकका फिलममा काम गर्न नपाउने, खुल्ला लुगा लगाउनु पर्ने, साँझ ६ बजे घर फर्किसक्नु पर्ने, लगायतका सर्त राखे। मीना सर्त मान्न राजी भइन। त्यसपछि यी दुई सँगै बस्न थाले। बुबाको प्रतिबन्धपछि मीनालाई श्रीमानको प्रतिबन्ध थियो।

सर्तै सर्तको जीवन
फिल्म ‘मै चुप रहुंगी’को सुटिङका क्रममा नरगिस र मीना कुमारीको कोठा छेउछाउमा थियो। एक दिन नर्गिसले मीनाको कोठाबाट चिच्याएको आवाज सुनिन्। केही बेरपछि कमल उनको कोठाबाट निस्किएको देखियो। भोलिपल्ट मीना कुमारीको अनुहार उदास थियो। एक पटक ‘साहेब बीवी और गुलाम’को सुट सकेर घर फर्किदा ढिला भयो। श्रीमानको डरले आफैंलाई थप्पड हानिन्। कमल मीनालाई सार्वजनिक रुपमै गाली गर्थे।

मीनाले विवाहको ८ महिनाका लागि सबै सर्त स्वीकार गरिन् तर त्यसपछि उनले विरोध गरिन्। त्यसपछि हरेक दिनको अन्त्य झगडामा हुनथाल्यो। एक पटक मीनाको आग्रहमा कमलले अन्य फिल्ममा काम गर्न दिन राजी भए। त्यसपछि पनि सर्त राखे फिल्म साइन गर्नु अघि सबै स्क्रिप्ट मलाई पनि सुनाउनु

३ गर्भपात, थप्पड र भाँचिएको घर
मीना कुमारी आमा बन्न चाहँदैनथिन्। उनी पहिलो पटक गर्भवती हुँदा गर्भपात भएको थियो। त्यसपछि मीना दुई पटक गर्भवती भइन। दुवै पटक मीनाले श्रीमानलाई नभनी गर्भपतन गराइन। जब कमलले यो कुरा थाहा पाए, मीनालाई रिसाएर थप्पड हाने।

मीना कुमारीका सौतेनी छोरा ताजदार अमरोहीले एक अन्र्तवार्तामा भनेका थिए, ‘मीना विवाहपछि पनि फिल्मको शीर्ष अभिनेत्री बन्न चाहन्थिन्। त्यसैले उनले सन्तान चाहिनन्। कमल भने मीनाको बच्चाको पिता बन्न चाहान्थे।

कमलसँग डिभोर्स, डिप्रेसन र ड्रग्सको लत
कमल मीनका हरेक गतिविधि निगरानीमा राख्थे। एक दिन कमलका सहायक बकर अलीले गुलजार मीनाको मेकअप रुममा गएको देखे, उनले मीनालाई सार्वजनिक रूपमा थप्पड हाने। सहायकको थप्पडबाट नराम्ररी भाँचिएकी मीना कुमारीले तुरुन्तै श्रीमान् कमलको घर छाडेर बहिनीसँग बस्न थालिन्।

उनीहरुको सन् १९६२ मासम्बन्धविच्छेद भयो। त्यसपछि मीना कुमारी डिप्रेसनमा गइन्। उनलाई दीर्घकालीन अनिद्रा भयो। जब उनी डाक्टर कहाँ गइन्, डाक्टर तिमुर्जनाले उनलाई सुत्नुअघि दिनहुँ एक कप ब्रान्डी पिउन सल्लाह दिए। त्यो कप ब्रान्डी कतिबेला धेरै गिलासमा परिणत भयो कसैलाई थाहा भएन।

मीना लगातार मदिरा सेवनका कारण बिरामी पर्न थालेकी थिइन्। उनलाई सन् १९६८ मा कलेजो सिरोसिस भयो। त्यसपछि मीना उपचारका लागि लण्डन र स्विट्जरल्याण्ड गएकी थिइन्। उनलाई पूर्ण रुपमा निको भएन।

उपचारबाट फर्किएपछि, मीनाले बान्द्राको कार्टर रोडमा रहेको ल्यान्डमार्क भवनको ११ औं तलामा अपार्टमेन्ट किनिन्। मीना कुमारीले पति कमलसँग सन् १९५६ मा उनको सपनाको फिल्म ‘पाकिजा’मा नायिका बन्ने वाचा गरेकी थिइन्। बिरामी र सम्बन्धविच्छेदका बावजुद मीनाले त्यो वाचा पूरा गरि ‘पाकिजा’को सुटिङ पूरा गरिन्। सुटिङका क्रममा धेरै पटक उनको स्वास्थ्य बिग्रियो। त्यो समय उनलाई सेटबाटै अस्पताल लगियो।

रक्सीको लतका कारण मीनाको अवस्था बिग्रँदै गएको कमल अमरोहीलाई थाहा थियो। कमलले मीनालाई धेरै सम्झाउन खोजे। मीना कमलसँग रक्सी नपिउने वाचा गर्थिन। एक दिन कमल घर पुगे। उनले बाथरुममा राखिएको डेटोलको बोतल रक्सीले भरिएको देखे। मीना हरेक दिन लुकाएर रक्सी पिउँथिन्।

फिल्म ‘पाकिजा’को प्रिमियर ३ फेब्रुअरी सन् १९७२ मा मुम्बईको मराठा मन्दिर थिएटरमा भयो। मीना कमललाई लिएर आइन् र उनको छेउको कुर्सीमा बसिन्। मीनाले फिल्म हेरेपछि कमललाई निपुण कलाकार भएको टिप्पणी गरेकी थिइन।

मृत्यु अघि ३ दिन कोमामा
मार्च २८ मा मीना कुमारीलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरियो। त्यो समय उनलाई कोमामा राखिएको थियो। तीन दिनको उपचारपछि ३१ मार्च १९७२ मा उनको निधन भयो। मीना कुमारीको मृत्यु फिल्म ‘पाकीजा’का लागि फाइदाजनक साबित भयो।

उनलाई अन्तिम पटक हेर्न हलमा दर्शकको ठूलो भीड लाग्यो। फिल्म ब्लकबस्टर घोषित भयो। तर दुःखको कुरा मीनाले ‘पाकिजा’को सफलता देख्न पाइनन्।

मीनाको पार्थिव शरीर कमलको आदेशमा रहमताबाद कब्रिस्तानमा गाडिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .