जब स्टेजमा गजलका बादशाह मेहदी हसन कुनै गजल गुन्गुनाउँथे, सारा संसार उनको आवाजको दिवाना हुन्थ्यो। आज पनि उनको जादू कायमै छ। उनको गजल सुनेर मानिसहरू नसामा झुम्मिन्छन्।
भारत र पाकिस्तानबीच सम्बन्ध जतिसुकै चिसो किन नहोस्, मेहदी हसनको स्वरले सधैं दुवै देशलाई आफ्नो गजलको धागोमा बाँधेर राखिरह्यो।
मेहदी हसनको जन्म जुलाई १८, १९२७ मा भएको थियो। उनको परिवार संगीतसँग नजिक थियो। उनले आफ्ना बुबा उस्ताद अजीम खान र काका उस्ताद इस्माइल खानको पर्यवेक्षणमा संगीतको तालिम लिएका थिए। त्यतिबेला मेहदी हसन १८ वर्ष पुगेपछि उनी ध्रुपद, ठुमरी र ख्याल गायनमा महारथी बनेका थिए। प्रस्तुति पनि दिन्थे। तर सफलतामा पुग्नुअघि उनले धेरै कठिनाइको सामना गर्नुपरेको थियो।
भारत-पाक विभाजनका बेला उनको संघर्ष भर्खरै सुरु भएको थियो। विभाजनपछि उनको परिवार पाकिस्तान सर्यो। उनको परिवार पाकिस्तानको पञ्जाबको सहिवाल जिल्लाको एउटा गाउँमा बस्यो। परिवारको आर्थिक अवस्था निकै नाजुक थियो।
घर खर्च चलाउन मेहदी हसनले साइकल पसलमा मेकानिकको काम गर्न थाले। उनले कार र ट्र्याक्टर पनि मर्मत गरे। तर संगीत छोडेनन्।
मेहदी हसनको संघर्ष करिब १० वर्षसम्म जारी रह्यो। सन् १९५७ मा उनले रेडियो पाकिस्तानमा गाउने मौका पाए। सुरुमा उनले ठुमरी गाउने गर्थे, जसको राम्रो चर्चा भयो। त्यसपछि उनले गजल गाउन थाले। गजल गायनले उनको लोकप्रियता विदेशमा पनि फैलियो।
उनको चर्चा यति फैलियो कि, जब भारत र पाकिस्तानबीच सम्बन्ध राम्रो रहेन तब पनि उनले दुवै देशका लागि काम गरे। दुवै देशले उत्तिकै माया गर्यो उनलाई। लता मंगेशकरलगायत धेरै भारतीय गायकहरूसँग उनले काम गरे।
विभाजनपछि भारत दुई टुक्रामा विभाजित भए पनि मेहदी हसनका फ्यानहरूको मन भने उनको लागि कहिल्यै विभाजित भएन। सन् २०१२ मा उनको स्वास्थ्य बिग्रिएपछि भारतका लाखौँ फ्यानले पनि उनका लागि प्रार्थना गरेका थिए।
१३ जुलाई २०१२ मा अगा खान युनिभर्सिटीमा उपचारका क्रममा उनको निधन भयो। तर उनको गायनलाई आज पनि उत्तिकै माया स्रोताहरूले गर्ने गरेका छन्।
मेहदी हसनले करिब ५४ हजार गजल, गीत र ठुमरी गाएका छन्। उनले गालिब, फैज अहमद फैज, अहमद फराज, कतील शिफाई, मीर तकी मीर र बहादुर शाह जफर जस्ता चर्चित सायरको गजलमा स्वर दिएका छन्।
Shares

प्रतिक्रिया