कला


‘नीरफूल’बारे निर्देशक बल भन्छन्- यो परिवारको बिछोड र मिलनको कथा हो

‘नीरफूल’बारे निर्देशक बल भन्छन्- यो परिवारको बिछोड र मिलनको कथा हो

चलचित्र ‘नीरफूल’को एक दृश्य


नेपालखबर
जेठ २१, २०८० आइतबार १०:२१, काठमाडौँ

नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ। क्षेत्रीय चलचित्रका रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन्। अर्थात् परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्‍याएका छन्। 

यसको राम्रो उदाहरण बनेको छ- लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’। यो चलचित्रले प्रदर्शनको ५१ दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ। आउँदो जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’मा तामाङ संस्कृति समेटिएको छ। उक्त समुदायमार्फत कथा वाचन गरिएको भए तापनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान बल बताउँछन्। 

यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन। कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो। यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ।’

समीक्षक हुँदै निर्देशकसम्मको यात्रा तय गर्दा कमीकमजोरीलाई बुझ्न मद्दत पुगेको निर्देशक बलले बताए। दुई दशक लामो पत्रकारिता यात्रापश्चात् निर्देशनमा उदाउँदै गरेका उनले यो यात्रा समीक्षक भएकै कारण सम्भव बताए। 

‘समीक्षक रहँदा अन्य चलचित्रमा देखिएको कमीकमजोरीलाई केही हदसम्म बुझ्ने मौका पाएको थिएँ। सकभर त्यो गल्ती नगर्ने कोसिस गरेको छु’, निर्देशक बलले भने, ‘नेपाली चलचित्रमा खोजिएको नयाँपन यसमा हुनसक्छ। यसमा हाम्रो कथा र व्यथा छ।’

चलचित्रका अभिनेता दयाहाङ राईले बिस्तारै नेपालका विविध संस्कृतिले चलचित्रमा मूलरुपमै स्थान पाउन थालेको बताए। उनले भने, ‘यो जरुरी पनि थियो। किनकि हामीसँग हाम्रो मौलिक कथा धेरै छन्। नीरफूलजस्ता चलचित्रले कथामा विविधता ल्याउँछन्।’

उनले यस्ता चलचित्रको महत्त्व कालान्तरमा अझै बढी हुने बताए। ‘जारी’ ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई चलचित्रको पर्दासम्म आइपुग्न व्यावसायिक जोखिमसमेत कम गरिएको उनको भनाइ छ। 

हिमाली भेगमा छायाङ्कन गर्नुपर्ने भएकाले धादिङगको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको निर्देशक बलले जानकारी दिए। ‘हामीलाई हिउँ नभएको हिमाली भूभाग चाहिएको थियो। त्यही क्रममा त्यहाँ पुग्दा छायाङ्कन गर्ने तय गर्‍याैँ’, निर्देशक बलले भने। 

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’जस्ता सधैँ बाँचिरहने चलचित्र ‘नीरफूल’ बनेको बताए। उनले भने, ‘यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ। यसमा हामीले भोगेको समयको कथा भेटिनेछ।’

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ। 

चलचित्रमा पटकथा लेखन निर्देशक बल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गरेका हुन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad