नेपाली चलचित्रका प्रसिद्ध निर्देशक तथा निर्माता दीपेन्द्र के खनाल अहिले पशुपति-२ 'भस्मे डन' को शुटिङमा व्यस्त छन्। शुक्रबार पशुपति परिसरमा फिल्मको ३६औँ दिनको शुटिङ थियो।
रातको दृश्य कैद गर्नुपर्ने भएकाले शुटिङ युनिटले पशुपतिस्थित जंगलमै रात बितायो। बिहान ३ बजेसम्म शुटिङ गरेपछि निर्देशक दीपेन्द्रसहित केहीले जंगलमा रहेको समाधि छेउछाउ सुते। गिरिपुरीमा सिंगो रात बिताएपछि निर्देशक दीपेन्द्रले श्रम गरेर थकाइ लागेपछि चिहानमै पनि निदाउन सकिने बताएका छन्।
शनिबार बिहान समाधिस्थलबाट सार्वजनिक भिडिओमा उनले भनेका छन्, 'सिंगो रात हामीले यहीँ बितायौँ, सबैभन्दा ठूलो अनुभूति चाहिँ मलाई थकाइ लागेपछि चिहानमाथि पनि निदाउन सक्नु रह्यो।'
उनले चिहानमाथि पनि निदाउन सक्नका लागि श्रम गर्नुपर्ने बताएका छन्। अगाडि उनले भनेका छन्, 'चिहानमाथि पनि निदाउन सक्नलाई श्रम गर्नुपर्दो रहेछ। त्यसैले श्रम गरौँ, अल्छी नबनौँ चिहानमाथि पनि मस्त निद्रा लाग्दो रहेछ।'
सात वर्षअघि नेपाली बक्स अफिसमा हिट भएको फिल्म ‘पशुपति प्रसाद’को लोकप्रिय पात्र भस्मे डनको कथा ‘पशुपतिप्रसाद २’मा समावेश गरेर फिल्म निर्माण हुन लागेको हो। पशुपतिप्रसादको सिक्वेलका रूपमा यो चलचित्र निर्माण हुन लागेको हो निर्माण समूहले बताएको छ।
Shares

प्रतिक्रिया