अभिनेता सौगात मल्लले भर्खर आफ्नो लामो प्रेम सम्बन्ध समाप्त गरेको बताएका छन्। करिअरमा फोकस हुन भन्दै प्रेम सम्बन्धबाट अलग भएका सौगातले पशुपति क्षेत्रमा २ महिना बिताएको अनुभव सार्वजनिक गरिरहेका छन्।
धेरैले उनले पशुपति क्षेत्रमा प्रेम वियोगमा भौतारिएको समेत भनेका छन्। तर उनले फिल्म ‘पशुपति प्रसाद २ : भस्मे डन’को पात्रको भूमिका निर्वाह गर्न पशुपति क्षेत्रमा २ महिना बिताएका हुन्। यो फिल्म यही चैत १० गतेदेखि पशुपति परिसरमा छायांकन भइरहेको छ।
फिल्ममा अनुबन्धित स्वस्तिमा खड्का र नायक विपिन कार्कीको क्यारेक्टर लुक्स सार्वजनिक गरेको फिल्म निर्माण टिमले सौगातको भने लुक्स सार्वजनिक गरेको छैन। यसैले पनि उनको भूमिकालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
छायांकन सुरु हुनुअघि सौगात २ महिनासम्म लगातार पशुपति धाए। उनी हरेक दिन पशुपति पुग्थे र त्यहाँको माहोला बुझ्ने गर्थे। यो समय उनले पशुपति दर्शन गर्न आउने मानिस र त्यहाँ बस्ने साधुहरुको मनोविज्ञान बुझ्ने काम पनि गरेका थिए।
दीपेन्द्र के खनालको निर्देशनमा छायांकन भइरहेको फिल्ममार्फत सौगातको दर्शकमाझ फरक भूमिकामा देखिने अनुमान गरिएको छ। फिल्ममा सौगात, विपिन र स्वस्तिमाका साथमा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटीलगायत कलाकारले अभिनय गरेका छन्।
Shares
प्रतिक्रिया