बलिउडका स्टारहरू प्रायः आफ्नो भूमिकाका लागि हदैसम्म प्रयास गर्छन्। फिल्ममा वास्तविक देखिन उनीहरू शरीर परिवर्तन गर्नेदेखि रक्सीको नशामा डुब्नसम्म पछि पर्दैनन्।
यसै क्रममा भारतीय पत्रिका अमर उजालाले सलमान खानसँग सम्बन्धित एउटा यस्तै किस्सा प्रस्तुत गरेको छ, जुन थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ।
घटना चलचित्र ‘चल मेरा भाइ’को सुटिङका क्रममा भएको हो। फिल्ममा सलमान खान र सञ्जय दत्त मुख्य भूमिकामा थिए। फिल्मलाई डेभिड धवनले निर्देशन गरेका थिए। फिल्मको एक दृश्यमा सलमानले मादक पदार्थ पिएको अभिनय गर्नुपर्ने थियो, त्यसलाई वास्तविक देखाउन उनी साँच्चिकै रक्सी खाएर सेटमा पुगेका थिए। जसका कारण फिल्मका निर्देशकले सुटिङ नै रद्द गर्नुपरेको थियो।
यो रोचक किस्सा सलमान आफैंले कफी विथ करण शोमा खुलासा गरेका हुन्। कार्यक्रममा उनले भने, ‘चल मेरा भाइ’को एउटा गीतमा म मातेको अवस्थामा देखिनुपर्ने थियो, तर गीतको छायांकन राम्ररी हुन सकेको थिएन। यसपछि मैले वास्तविक देखिन रक्सी पिउने निर्णय गरेँ।’
शोमा अभिनेता खानले बताएअनुसार उनी खाली पेटमा दुई पेग पिएर सुटिङ स्थलमा पुगेका थिए तर नशाका कारण उनले अभिनय गर्न सकेनन्। त्यसपछि डेभिड धवनले सुटिङ रद्द गर्नुपरेको थियो। चल मेरे भाइ सन् २००० मा रिलिज भएको थियो।
यो कमेडी फिल्मलाई दर्शकले निकै मन पराएका थिए।
यसैबीच सलमान चाँडै ‘किसी की भाइ किसी की जान’ मा देखिँदै छन्। फिल्ममा उनीसँगै पूजा हेगडे, वेंकटेश र शहनाज गिल मुख्य भूमिकामा देखिनेछन्। उक्त फिल्म इदमा रिलिज गर्ने तयारी छ।
प्रतिक्रिया