ad ad

कला


महाधिवेशनको मुखमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानबाट बाहिरिए विष्णु खत्री

महाधिवेशनको मुखमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानबाट बाहिरिए विष्णु खत्री

फाइल फाेटाे : गायक विष्णु खत्री


नेपालखबर
फागुन १०, २०७९ बुधबार १९:५, काठमाडौँ

गायक विष्णु खत्री राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएका छन्। प्रतिष्ठानबाट अलग भएको घोषणासँगै उनले आफूहरूले तय गर्न लागेको नयाँ यात्रामा जोडिन संस्कृतिकर्मीहरूलाई आह्वान पनि गरेका छन्। 

प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा पूर्वमहासचिव खत्रीले संस्थामा नरहेको घोषणा गरेका हुन्।

‘अग्रज कलाकारबाट नेतृत्वमा आउन मप्रति केही सद्‌भाव रहन्छ कि भन्ने झिनो आशा राखेको थिएँ तर बिडम्बना यो सौभाग्य पनि प्राप्त गर्न सकिनँ, न त अनुजले नै अग्रजको सम्मान गरेर भूमिका दिने कुनै मनसाय देखियो’, खत्रीले बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, ‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रूपले यस संस्थाको यात्रामा पूर्णविराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु।’ 

यही फागुन १२ गते धादिङमा प्रतिष्ठानको महाधिवेशन हुँदै छ। 

यस्तो छ गायक विष्णु खत्रीको वक्तव्यको पूर्णपाठ :

आदरणीय लोक संगीतप्रेमी बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरू, प्यारा शुभचिन्तक एवं इष्टमित्रजन सम्पूर्णमा सादर नमस्कार।

यतिबेला राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको महाधिवेशन नजिकिँदै गर्दा धेरैले मेरो उमेदवारीबारे चिन्ता र चासो व्यक्त गरिरहनुभएको छ। संस्थामा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिव र एक कार्यकाल महासचिव पदमा रही आफ्नो भूमिका निर्वाह गर्ने अवसर पाएको थिएँ। संस्थागत सिकाइ र अनुभवको आधारमा कलाकारहरूको हकहितका लागि केहि गर्ने सोचले लगातार अध्यक्ष पदका लागि मैदानमा उत्रिएको म उमेरको ऊर्जाशील  समय संस्थालाइ हुर्काउन/बढाउनकै निम्ति घरपरिवारभन्दा संस्थालाई शिरमा राखेर आर्थिक, भौतिक, नैतिक र सांस्कृतिक रूपले त्याग र समर्पण गरेकोले पनि एकचोटि संस्थाको नेतृत्व लिएर कलाकार र कलाकारिता जगतको उत्थानका लागि केही गर्ने दृढ सोच संकल्प र अठोट लिएको थिएँ तर  मेरो उक्त योजनामाथि बज्रपात हुन पुग्यो।

संस्था आफैँमा पवित्र र निर्दोष हुन्छ। दुःख, मिहेनत र पसिना बगाएको संस्थाको असाध्यै माया लाग्दो रहेछ। संस्थाबाहिर रहँदा पनि संस्थागत तवरबाट कुनै भूमिकामा रहेर काम गर्ने अवसर पनि प्राप्त हुन सकेन। यसपालि भने अग्रज कलाकारबाट नेतृत्वमा आउन मप्रति केही सद्‌भाव रहन्छ कि भन्ने झिनो आशा राखेको थिएँ तर बिडम्वना यो सौभाग्य पनि प्राप्त गर्न सकिनँ न त अनुजलेनै अग्रजको सम्मान गरेर भूमिका दिने कुनै मनसाय देखियो।संस्थाको नाराले मलाई नै गिज्याएको अनुभूति भयो।

अब फेरि अनुज भाइबैनीसँग चुनावी प्रतिस्पर्धामा होमिनु शोभनीय नहुने र मेरो नैतिकताले पनि यसो गर्नु उचित नहुने मेरो ठम्याइ छ। विगतमा मलाई नेतृत्वमा देख्न चाहेर स्वदेश तथा विदेशबाट संस्थाको प्रतिनिधिको रूपमा आई मलाई आफ्नो अमूल्य मत दिएर जितको ढोकामै पुर्‍याउनु हुने भगवानरूपी प्यारा शुभचिन्तकप्रति आत्मैदेखि उच्च कोटिको सम्मान टक्र्याउँदै ढोकाबाट छिर्नै नदिने पाले दाइको पनि सदा राम्रो मात्रै  खबर सुन्न पाइयोस् भन्ने कामनाका साथ अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रूपले यस संस्थाको यात्रामा पूर्णविराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु।

कलाकारको हकहितको मुद्दामा र संस्कृतिको जगेर्नार्थ कतै भेटिने अवसर मिल्यो भने सँगै सहयात्री रूपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु। मैलेजस्तो अपमान र तिरस्कार संस्थामा आइन्दा कुनै पनि  भाइबैनीले सहन नपरोस् भन्दै आउँदै गरेको महाधिवेशनको मतगणना स्थलमा बत्ती निभ्ने झन्झटबाट मुक्त भई छनोट हुनुहुने नयाँ नेतृत्वलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। कलाकारिता र  संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीहरूलाई हाम्ले तय गर्न लागेको नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेको प्रतिभा, क्षमता,दक्षता, विज्ञता र अनुभवसहित हातेमालो गर्न आउनुहुन हार्दिक अपिल गर्दै स्वागत गर्न चाहन्छौँ। धन्यवाद। जय संस्कृति।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .