ad ad

कला


लेखक–निर्देशकलाई सञ्चारमन्त्रीको प्रश्न : विदेशी फिल्म चल्ने, नेपाली फिल्म नचल्ने कारण के हो?

लेखक–निर्देशकलाई सञ्चारमन्त्रीको प्रश्न : विदेशी फिल्म चल्ने, नेपाली फिल्म नचल्ने कारण के हो?

सेमिनार उद्घाटनका बेला


नेपालखबर
माघ २६, २०७९ बिहिबार ९:१०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई फिल्मका लेखक–निर्देशकलाई विदेशी फिल्म महिनौँ चल्ने तर नेपाली फिल्म एक दिन नचल्ने अवस्था किन छ भनेर प्रश्न गरेकी छन्। 

चलचित्र निर्देशक समाजले यूएनडीपीसँग मिलेर आयोजना गरेको ‘कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्मस्’ शीर्षकको सेमिनार मंगलबार उद्घाटन गर्दै उनले विदेशी फिल्म चल्ने र नेपाली फिल्म नचल्ने कारण पहिल्याउन जरुरी रहेको धारणा राखेकी थिइन्। 

‘मैले चलचित्र उतिसारो बुझेको छैन तर प्रशस्त हेरेकी छु। अरुका फिल्म चल्ने तर हाम्रा फिल्म नचल्ने अवस्था छ। नेपाली फिल्म चलाउन चलचित्र विकास बोर्डले के गर्न पर्ने हो र मन्त्रालयले के गर्न पर्ने हो? छलफल गरौँ। तर यो अवस्थाको अन्त्य हुन जरुरी छ,’ उनको भनाइ थियो। 

उनले नेपाली फिल्मले क्वान्टिटीभन्दा पनि क्वालिटी बढाउने गरी काम गर्नुपर्ने र जलवायु परिवर्तनजस्ता विषयमा हुने छलफलले विषयवस्तुमा विविधीकरण हुने धारणा राखेकी थिइन्।

‘समाज तथा राजनीतिक परिवर्तनका लागि पनि नेपालमा गीत संगीत र फिल्मको ठूलो योगदान छ,’ उनले भनिन्, ‘अहिले जलवायु परिवर्तनका मुद्दालाई जनतासम्म पुर्‍याउन पनि सिनेमाको माध्यम उपयोगी हुन्छ। अहिले माघमै गर्मी भएको छ, यसको कारण के हो , हामी पर्दामा हेर्न उत्सुक छौँ।’

सञ्चारमन्त्री शर्माले कुनै समय आफू पनि भारतीय सिनेमा बन्द गर्ने मोर्चाको अग्रभागमा रहेको स्मरण गर्दै अहिले अरुलाई निषेध गर्नेभन्दा पनि प्रतिस्पर्धा गरेर जाने समय भएकोले नेपाली सिनेमा पनि प्रतिस्पर्धी बन्नुपर्ने बताएकी थिइन्। यसका लागि मन्त्रालयबाट गर्नुपर्ने नीतिगत काम आफूले अगाडि बढाउने बताउँदै चलचित्र ऐन संसद्‌मा लैजाने तयारी गरिरहेको जानकारी दिइन्।  

सेमिनार बुधबार सम्पन्न भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .