ad ad

कला


यस्तो छ विश्व चर्चित गायिका लता मंगेशकरको संघर्ष कथा

स्वर कोकिलाको उपाधि पाएपछि विष खुवाएर मार्न खोजियो
यस्तो छ विश्व चर्चित गायिका लता मंगेशकरको संघर्ष कथा

नेपालखबर
माघ २३, २०७९ सोमबार १४:१९, काठमाडौँ

गायिका लता मंगेशकरको नाम विश्वभर लोकप्रिय छ। उनले आफ्नो जीवनकालमा थुप्रै भाषाका गीत गाएकी छन्। लताले गाएका केही नेपाली गीत आज पनि लोकप्रिय छन्। गायिका लताको आज पहिलो पुण्यतिथि, अघिल्लो वर्ष आजकै दिन लताको देहवसान भएको थियो।

गायिका लताले आफ्नो जीवनकालमा भनेको एउटा भनाइ उनका फ्यानले आज पनि सम्झना गर्छन्। उनलाई एक अन्तर्वार्तामा सोधिएको थियो, ‘के फेरि जन्मिँदा लता मंगेशकर बन्न चाहन्छिन्?’

उनले जवाफमा भनेकी थिइन्, ‘यदि म साँच्चै फेरि जन्मेछु भने कहिल्यै लता मंगेशकर बन्न चाहन्न किनभने मलाई लता मंगेशकरको समस्या मात्र थाहा छ।’

वर्षाैंअघि दिएको अन्तर्वार्तामा उनको जीवनभरको संघर्ष यही एउटा जवाफमा थियो। उनले आफ्नो जीवनकालमा ५० हजारभन्दा बढी गीत गाइन्, संगीतको दुनियाँको सर्वोच्च व्यक्तित्व बनिन्, उनले नपाएको कुनै सम्मान थिएन, तर पनि उनी फेरि लता मंगेशकर बन्न चाहान्थिन्।

बाल्यकालदेखि अन्तिम साससम्म उनले दुःख र संघर्ष देखिन्। सानै उमेरमा बुबाको मृत्यु भएपछि घरको जिम्मेवारी उनको काँधमा आयो। थोरै पैसा जोगाउन उनी थुप्रै  किलोमिटर हिँडेर रेकर्डिङ स्टुडियो जान्थिन्, ताकि बचेको पैसाले तरकारी किन्न सकियोस्। धेरै कथा छन्, जसले उनको जीवनमा कठिनाइ देखाउँदछन्।

पुर्खाको गाउँको नामबाट मंगेशकर थर
लताको पहिलो नाम हेमा थियो। पछि उनका बुबाले उनको नाटक भाव बन्धनको मुख्य महिला पात्र लतिकाबाट प्रभावित भएर उनको नाम लता राखिदिए। पहिले लताको बुबाको नाम दीनानाथ अभिषेकी थियो, तर उनी आफ्नो आगामी पुस्ताको नाम बिलकुलै फरक होस् भन्ने चाहन्थे। उनका पुर्खाको गाउँको नाम मंगेशी र परिवारका देवताको नाम मंगेश थियो। यसरी उनले आफ्नो थर बदलेर मंगेशकर राखे।

लतालाई संगीत सिकाउने निर्णय बाबुको
लताका बुवा संगीतकार थिए। घरमा सधैं संगीतको माहोल रह्यो। उनीसँग संगीत सिक्न मानिसहरु आउँथे। दिनभर नाटकका गीतहरुको रिहर्सल हुन्थ्यो। लता पनि संगीत सुन्ने गर्दथिन्, तर बुबाको अगाडि गीत गाउँथिनन्। जब उनकी आमाले भान्साकोठामा खाना पकाउँथिन्, लता त्यहीँ गएर गीत गाउँथिन्। लताकी आमा भने उनलाई गाली गर्थिन् र भान्साबाट बाहिर जान भन्थिन्। 

एक दिन दीनानाथ घरमा कसैलाई संगीत सिकाउँदै थिए। त्यसपछि अचानक केही कामका कारण घरबाहिर निस्किनुपर्‍यो। जाँदा उनले संगीत सिक्न आएका व्यक्तिलाई भने– ‘म केही बेरमा आउँछु, तबसम्म रियाज गर।’

५ वर्षीया लता ग्यालरीमा उभिएर यी सबै कुरा सुनिरहेकी थिइन्। दीनानाथ गएपछि त्यो मानिसले रियाज सुरु गर्‍यो तर गलत नोटका साथ। त्यसमा लताले उनलाई रोकेर यसरी गाउन भनिन्। लतालाई थाहा थिएन कि उनका बुबाले उनको पछाडि उभिएर यो सबै सुनिरहेका छन्। बुबालाई देखेपछि उनी त्यहाँबाट भागेर आमाकहाँ पुगिन्। यो घटनापछि दीनानाथले उनलाई संगीत सिकाउन थाले। 

९ वर्षको उमेरमा पहिलो स्टेज प्रस्तुति
बुबा दीनानाथले नाटक कम्पनी चलाउँथे। एक दिन कम्पनीका केही मानिसहरू उनकहाँ आए र उनलाई आफ्नै क्लासिकल प्रस्तुति दिन आग्रह गरे। यो कुरामा उनी सहमत भए। ९ वर्षीया लताले पनि उनीसँग अभिनय गर्न आग्रह गरिन्। सुरुमा बुबाले मानेनन् तर खम्बावती रागमा गाउने बताएपछि भने बुबा राजी भए। त्यसपछि सोही साँझ उनी बुबासँग प्रदर्शन गर्न गइन्। पहिलोपटक प्रस्तुति दिएकी लतालाई निकै माया मिलेको थियो। त्यसपछि दीनानाथले प्रस्तुति दिए। गीत गाउँदै गर्दा लता उनको काखमा सुतिन्। दीनानाथले आफ्नो काखमा लतालाई सुताएर आफ्नो पूरा प्रस्तुति दिएका थिए।

करियरको पहिलो गीत
सन् १९४२ मा आएको चलचित्र ‘किती हसाल’का संगीतकार सदाशिवराव निभ्रेकर लताका बुवाका धेरै असल साथी थिए। उनलाई यो फिल्मका लागि लताको स्वरमा एउटा गीत चाहियो। यो कुरा बुबा दीनानाथलाई भने, उनले मानेनन्। लताले फिल्म उद्योगमा काम गरून् भन्ने उनको चाहना थिएन। निभ्रेकरले मनाएर त्यो गीत लताको स्वरमा रेकर्ड गराए। तर पछि त्यो फिल्म रिलिज भएन। करिअरको पहिलो रेकर्डेड गीत कता हरायो लता आफैंलाई थाहा थिएन। 

आर्थिक अभावका कारण फिल्ममा 
लताका बुवाको सन् १९४२ अप्रिलमा निधन भयो। उनको प्रस्थानसँगै परिवारको सम्पूर्ण जिम्मेवारी जवान लताको काँधमा आयो। यसैबीच, मास्टर विनायकले उनको मराठी फिल्म ‘पहिली मंगला गौर’का लागि उनलाई सम्पर्क गरे। एनले लतालाई सोधे, ‘पैसा चाहिएको छ?’ लताले ‘हो’ भनिन्। त्यसपछि उनले त्यो फिल्ममा सानो भूमिका निर्वाह गरिन्। उनले फिल्मको गीत पनि गाइन्। फिल्मको गीत गाएबापत उनले २५ रुपैयाँ र फिल्ममा गरेको अभिनयको ३ रुपैयाँ पारिश्रमिक लिइन्। त्यसपछि उनले मास्टर विनायकको कम्पनीमा काम  गरिन्।

लता परिवारसँग कोल्हापुर आउँदा मास्टर विनायकले दिएको घरमा बस्थिन्। मास्टर विनायकको सन् १९४७ मा निधन भयो। त्यसपछि उनका आफन्तले लतालाई घर खाली गर्न दबाब दिए। यसैबीच एक क्यामेराम्यान लतालाई भेट्न आए। उनले भने, ‘हरिश्चन्द्र बाली हुनुहुन्छ, जो तिमीलाई भेटेर तिम्रो गीत सुन्न चाहानुहुन्छ।’ भोलिपल्ट गएर लताले भेटिन्। उनले लताको कुरा सुने र उनलाई गीत गाउने मौका दिए। गीत गाएबापत लताले १४ हजार पारिश्रमिक पाइन्। उनले त्यही पैसा लगेर घरभाडा बुझाएकी थिइन्। त्यसपछि उनलाई त्यही घरमा बस्न दिइयो।

हरिश्चन्द्र बालीको गीत गाएपछि लतालाई मास्टर हैदर अलीलाई भेट्न सन्देश आयो। भोलिपल्ट उनी आफ्नो काकासँग मास्टर गुलाम हैदर अलीको स्टुडियोमा भेट्न गइन्। त्यहाँ उनी बिहानदेखि बेलुकासम्म पर्खिएर बसिन्। अन्ततः उनको भेट मास्टर हैदर अलीसँग भयो। उनले लामो समय कुराएकोमा लतासँग माफी मागे। त्यसपछि गाउन भने। उनी लताबाट निकै प्रभावित थिए।

मास्टर हैदर अलीले लतालाई फिल्म ‘शहीद’मा काम गरिरहेका निर्माता शशधर मुखर्जीसँग परिचय गराए तर उनले लतालाई काम दिन अस्वीकार गरे। मुखर्जीले भने– ‘यो केटीको स्वर निकै पातलो छ।’ यसबारे मास्टर हैदर अलीले भने– ‘आगामी दिनमा निर्माता र निर्देशकले यी युवतीको पाउमा खसेर आफ्नो फिल्ममा गीत गाउन अनुरोध गर्नेछन्।’ पछि, १९४८ मा मास्टर हैदर अलीले लतालाई फिल्म ‘मजबूर’को ‘दिल मेरा तोडा, मुझे कहीं का ना छोड दिया’ गीत गाउन दिए, जुन उनको लागि ठूलो ब्रेक साबित भयो।

सन् १९४८ मा मधुबालाको स्वर बनेर लताले चलचित्र ‘महल’को ‘आयेगा आने वाला’ गीत गाएकी थिइन्। यो गीत मधुबालामा खिचिएको हो। यो त्यही गीत थियो जसले लतालाई हिन्दी सिनेमामा गायिकाको रुपमा चिनाएको थियो।

करियरको सुरुवाती दिनमा लता घरबाट हिँडेर रेकर्डिङ स्टुडियो जान्थिन्। गीत रेकर्ड गरिसकेपछि उनी फुर्सदको समयमा पनि रेकर्डिङ स्टुडियोमा बस्ने गर्थे। दिनभरि केही नखाई बिताउँथिन्। उनलाई थियो रेकर्डिङ स्टुडियोमा पनि क्यान्टिन छ भन्ने थाहा थिएन। अर्को उनीसँग कम पैसा हुन्थ्यो। उनी आफूसँग भएको पैसा जोगाएर परिवारका लागि खर्च गर्थिन्।

दिलीप कुमारको गालीका कारण उर्दू सिकिन्
दिलीप कुमारसँग लताको परिचय दिँदै अनिल विश्वासले भने– ‘दिलीप, यिनी लता मंगेशकर हुन् र उनी निकै राम्रो गाउँछिन्।’ त्यसमा दिलीप कुमारले कहाँको हो भनेर सोधे। अनिल विश्वासले यो मराठी भएको बताए।

मराठी शब्द सुन्नेबित्तिकै दिलीप कुमारले आफ्नो अनुहार अनौठो बनाए र भने, ‘मराठी जनताको भाषामा के छ? मराठीहरु उर्दु जान्दैनन्।’

उनको यो कुराले लतालाई नराम्रो लाग्यो। यसपछि उनले उर्दू सिक्ने निर्णय गनिर र छोटो समयमा सिकिन्। 

लता मंगेशकरले आफ्नो करियरको पहिलो फिल्मफेयर अवार्ड सन् १९५८ को फिल्म ‘मधुमती’को ‘आजा रे परदेसी’ गीतका लागि प्राप्त गरेकी थिइन्। यो गीतलाई सलिल चौधरीले संगीत गरेका छन्। उनले दोस्रो फिल्मफेयर अवार्ड ‘कहीं दीप जले कहीं दिल के लिए’ बोलको गीतले प्राप्त गरेको थियो।  

विष दिएर मार्न खोजियो
३३ वर्षको उमेरमा लताले स्वर कोकिलाको उपाधि पाइन्। सबैले उनको प्रगति पचाउन सकिरहेका थिएनन्। उनलाई त्यही समय कसैले विष दिएर मार्ने प्रयत्न गरेको थियो। यो लताको जीवनको सबैभन्दा कठिन र डरलाग्दो चरण थियो। जसका कारण उनी ३ महिना ओछ्यान परिन्। यो कठिन समयमा मजरुह सुल्तानपुरी उनको सहयोगी बने। दिनभरको काम गरेपछि मजरुह साँझ लताकहाँ गएर कविता सुनाएर बस्थे। 

आफ्नो यो कठिन समयलाई सम्झँदै लताले एकपटक भनेकी थिइन्, ‘यदि यो कठिन समयमा मजरुह मेरो साथमा नभएको भए म यो कठिन समयलाई पार गर्न सक्दिनथेँ। यो दुर्घटनाका कारण लताले आफ्नो आवाज गुमाइन् भन्ने हल्ला पनि चलेको थियो। तर, पछि उनले यो कुरालाई अस्वीकार गर्दै भनिन्, ‘मैले कहिल्यै आफ्नो आवाज गुमाएको छैन।’

पछि लतालाई कसले विष खुवाएको पत्ता त लाग्यो तर ठोस प्रमाणको अभावमा प्रहरीले उनीहरुलाई कारबाही भने गर्न सकेन। लामो उपचारपछि लताले ‘कहीँ दीप जले कहीँ दिल’ गीत गाइन्। उनको यो गीतले अवार्डसमेत जित्यो। 

शास्त्रीय गायिका बन्न नसकेकामा जीवनभर पश्चाताप
 बुवाको निधनपछि घरका सम्पूर्ण जिम्मेवारी लताको काँधमा आयो। कारण उनले फिल्मको कथाले मागे अनुसारका गीत गाउनुपर्‍यो। उनले शास्त्रीय गायनमा अभ्यास गर्न पाइनन्। उनको शास्त्रीय संगीत पूरै छुटेको थियो। करियरको उचाइमा पुग्दा पनि शास्त्रीय गायिका बन्न नसकेकोमा पछुतो मान्थिन्। 

करिअरको सफल समयमा उनले थुप्रै ठूला संगीतकारसँग काम गरिन्। तर संगीतकार ओ.पी. नयरले उनलाई कहिल्यै मौका दिएनन्। लताको आवाज हरेक संगीतकारका लागि ग्यारेन्टी हिट गीत थियो, तर ओ.पीले लताको स्वर आफूले बनाएको धुनसँग मेल खाँदैन भन्ने विश्वास नै गरेनन्। सफल गायिका बनेपछि लतारले मराठी फिल्म ‘राम राम पावने’ मा संगीत निर्देशकका रूपमा काम गरिन। त्यसपछि उनले आधा दर्जन मराठी फिल्ममा संगीत पनि दिइन्।

लता मंगेशकरले सन् १९९० मा आफ्नो प्रोडक्सन हाउस सुरु गरिन्। यही ब्यानरमा उनले गुलजारले निर्देशन गरेको फिल्म ‘लेकिन’ निर्माण गरिन्। यसपछि लताले फिल्म निर्माण गरिनन्। प्रोडक्सन हाउस सुरु गर्नुअघि नै लताले वडाल (मराठी फिल्म) ‘झाँझर’ र ‘कञ्चन गंगा’ जस्ता फिल्ममा पैसा लगानी गरिसकेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .