चर्चित लोक गायक बद्री पंगेनी पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेको पक्षमा भोट माग्न पुगेका छन्।
पाल्पा नै गृहजिल्ला भएका पंगेनीले नेता गैरेलाई शालिन नेताको संज्ञा दिँदै केही वर्षअघि एमालेका लागि गाएको गीत 'सै पनि एमाले मै पनि एमाले...' गुन्जाएका हुन्।
उनले त्यसक्रममा ठाकुर गैरे जस्तो इमान्दार र सरल जीवशैली भएका नेतालाई संसदमा देख्नका लागि आफू उनको पक्षमा जुटेको बताएका हुन्।
'म यहाँ ठाकुर गैरेले बोलाएर आएको होइन। उहाँको शालिन व्यक्तित्व देखेर आफैँ आएको हुँ', उनले भने, 'कालापानी र नेपाली भूमि अतिक्रमण गरिरहेको भारतीय विस्तारवाददेखि एनसेलको करछलीविरुद्ध उहाँले उठाएको आवाज हामीले भुलेका छैनौँ, ठाकुर गैरेलाई जिताउन म आफैँ यहाँ आएँ।'
उनले ठाकुर गैरैको नेतृत्वमा कयौँ जनपक्षीय आन्दोलन भएको बताउँदै पाल्पाको विकास, भविष्य र परिवर्तनका लागि जित्नु पहिलो शर्त रहेको बताए।
पंगेनीले स्थानीय मतदातालाई पनि सूर्यमा मतदानका लागि अपिल पनि गरे। 'ठाकुर गैरेलाई नचिन्ने र उहाँको क्रान्तिकारी छविबारे जानकार कोही नहोला। उहाँ जस्तो शालीन, सरल र स्वच्छ छवि भएको नेता अरु छैनन्', उनले भने, 'मैले उहाँसँग कयौँ पटक संगत गरेको छु। क्षेत्र नम्बर २ का कयौँ ठाउँमा सडक, खानेपानी, अस्पताल निर्माणसँगै रोजगारी सिर्जना गर्न पनि उहाँलाई जिताउनु आवश्यक छ।'
पंगेनीले चुनाव जितेर गएपछि नेताहरुले वाचा गरेका कुरा पूरा नगर्दा आफूहरु जस्ता समर्थकहरुले गाली खाने बताउँदै गैरेलाई सचेत गराए।
Shares
प्रतिक्रिया