कला


मह जोडीको महापुरुष अमेरिकामा नियमित प्रदर्शन

मह जोडीको महापुरुष अमेरिकामा नियमित प्रदर्शन

नेपालखबर
भदौ २०, २०७९ सोमबार ७:५३, काठमाडौँ

नेपाली फिल्म ‘महापुरुष’ अमेरिकामा पनि नियमित शो हुने भएको छ। कार्तिक ११ अर्थात भाइटीकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन लागेको हो। 

प्रदीप भट्टराईले निर्देशन गरेको सिनेमा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्यपूर्वका देशमा एकसाथ रिलिज हुँदै छ।

यी मध्ये अमेरिका र अस्ट्रेलियाको प्रदर्शनको लागि लगभग रेगुलर शोको चाँजोपाँजो मिलेको छ। एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स महँगो रकममा खरिद गरेका छन्।

पाँच सदस्य मिलेर संचालनमा ल्याएको एमएसएम इभेन्ट्सले अस्ट्रेलियाका विभिन्न प्रान्तमा आयोजना हुने शो र एकै सर्भर मार्फत टिकट लिन सकिने गरी एप डेभलप गरिरहेको छ।

निर्देशक भट्टराईका अघिल्ला सिनेमाले दर्शकलाई निराश नबनाएका कारण ‘महापुरुष’को अस्ट्रेलियामा राम्रो माग रहेको एमएसएम इभेन्ट्सका एक प्रतिनिधिले बताए। अस्ट्रेलियाका बिभिन्न शहरमा सिनेमाको शो गर्दै छौँ। नेपालमा जस्तै रेगुलर शोमा प्रदर्शन हुनेछ। रेगुलर शो आयोजना गर्दा दर्शकले आफ्नो समय हेरेर पायक पर्ने ठाउँमा सिनेमा हेर्न पाउनु हुनेछ’ प्रतिनिधिले भने।

अमेरिका रिलिजको जिम्मा पाएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतीक सुवेदीले प्रदीप भट्टराई र निर्माता रवीन्द्र सिंह बानियाँको यसअघिको सहकार्यमा बनेका सिनेमाले दर्शकको मन जितेका कारण ‘महापुरुष’को राइट्स लिएको बताए।

रेगुलर शोमा सिनेमा देखाउने भएपछि आफूले वितरण कम्पनीसँग सहकार्य गरेको निर्माता बानियाँले बताए। ‘जसरी सिनेमा देखाउने शैली कम्युनिटी हलबाट सिनेमा हलमै पुग्यो। अब दर्शकलाई एउटा शो दिने भन्दा पनि रेगुलर शोमै सिनेमा देखाउने हाम्रो तयारी पूरा भएको छ। अब दर्शकले अन्य विदेशी सिनेमाझैँ आफ्नो अनुकुल समयमा हेर्न पाउनु हुनेछ’ बानियाँले भने।

अमेरिकामा नेपाल रिलिजकै दिन ३० शोको हारहारीमा सिनेमा प्रदर्शन हुनेछ। यसको अस्ट्रेलिया र अमेरिका राइट्स ५०/५० लाखमा बिक्री भएको हो।

सामाजिक कथावस्तुमा आधारित ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतका कलाकारहरुको अभिनय छ।

दीपक बज्रचार्यले खिचेको सिनेमामा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ।

षट्कोण आर्ट्स को व्यानरमा निर्मित सिनेमामा रवीन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ। म्याक्स दिपेश खत्री सिनेमाका निर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad