कला


फुर्पाले नायिका मिरुनासँग मागे माफी, दुई पक्षबीच मिलापत्र

फुर्पाले नायिका मिरुनासँग मागे माफी, दुई पक्षबीच मिलापत्र

दुवै पक्ष मिलापत्रपछि सौहार्दता आदानप्रदान गर्दै


नेपालखबर
जेठ १७, २०७९ मंगलबार १९:७, काठमाडौँ

नेपाली चलचित्र कबड्डी ४ को प्रदर्शनका क्रममा आफूलाई ब्याड टच गरेको आरोप नायिका मिरुना मगरले मुगुका फुर्पा तामाङलाई लगाएपछि देखिएको विवाद मिलेको छ।

दुवै पक्षले केही बौद्ध लामा गुरुहरु र कबड्डी सिरिजका अभिनेता दयाहाङ राईसहितको उपस्थितिमा मिलापत्र गरेपछि यो विवाद मिलेको हो। 

सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरुलाई साथ दिन पुगेकी मिरुनाले ब्याड टच भएको आरोप फुर्पामाथि लगाएसँगै उत्पन्न विवादलाई लिएर दुवै पक्षले गल्ती स्वीकारेका छन्। 

'प्रदर्शनरत नेपाली कथानक चलचित्र कबडडी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा मिति २०७९ साल जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुग स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री समक्ष माफी मागेका र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी छिन्', सहमति पत्रमा भनिएको छ। 

अभिनेत्री मगरले पनि यो प्रकरणमा कुनै सम्प्रदाय वा जातिलाई चोट पुग्न गएकोमा क्षमायाचना गरेकी छन्। 

'कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरे पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति अभिनेत्री मगरले क्षमा याचना गरेकी छिन्', सहमति पत्रमा अगाडि उल्लेख छ। 

कबड्डी ४ की नायिका मिरुना मगरले आफूमाथि शारीरिक दुर्व्यवहार भएको भन्दै कुटपिट गरेर प्रहरीको हिरासतमा पठाइएका फुर्पा मंगलबार रिहा भएका थिए।​

उन0लाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले ३ हजार धरौटी लिएर रिहा गर्न आदेश दिएका थिए।

मिरुनाले आफूमाथि शारीरिक दुर्व्यवहार गरेको भन्दै महानगरीय प्रहरी वृत्त, जनसेवामा उजुरी दिएपछि फुर्पालाई प्रहरीले पक्राउ गरेको थियो।​

आफू अभिनित फिल्म हेर्न सिभिल मल पुगेकी मिरुनाले लामाले शरीरको संवेदनशील अंगमा हात हालेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। 

लामामाथि सिभिल मलमै दर्शककै भीडको बीचमा फुर्पालाई उनले झापड पनि हानेकी थिइन्। ​

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’को प्रतिक्रिया लिने क्रममा आफूमाथि दुर्व्यवहार भएको मगरले आरोप लगाएकी थिइन्। 

तर घटनापछि सार्वजनिक भएका भिडिओ फुटेजमा अर्कै युवकले मिरुनाको शरीरमा हात लगेको देखिएपछि उनको चर्को आलोचना सुरु भएको थियो।

भिक्षु भेषमा रहेका लामा निर्दोष हुँदा हुँदै उनलाई फसाउने काम भएको भन्दै मंगलबार चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको थियो। 

त्यहाँ लामाको पक्षमा उत्रिएकाहरुले कबड्डी-४ को पोस्टर जलाएका थिए। त्यस्तै लामालाई रिहा गर्न र मिरुनाले माफी माग्नुपर्ने अडान पनि उनीहरुले लिएका थिए। अन्तिममा फुर्पाले माफी माग्दै यो प्रकरण टुंग्याउने प्रयास दुवै पक्षले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad