शुक्रबार बिहान ७ बजेदेखि जारी स्थानीय तहको निर्वाचनमा कलाकारले पनि उत्साहजनक सहभागिता जनाइरहेका छन्।
कलाकारहरुले आ–आफ्ना क्षेत्रका मतदान केन्द्रबाट मतदान गरिरहेका छन्।
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले बूढानीलकण्ठ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदानपछि उनले फेसबुकमा लेखेका छन् ‘मैले त मतदान गरें, तपाईंले गर्नुभयो?’

यसैगरी अभिनेता राजेश हमालले लैनचौरस्थित कन्या हाइस्कुल केन्द्रबाट मतदान गरेका छन्। उनले मतदानपछि पनि जनप्रतिनिधिलाई खबरदारी गर्न आग्रह गरेका छन्।
कलाकार सरिता लामिछानेले काठमाडौंबाटै मतदान गरेकी छन्। सरिताले मतदानपछि सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मतदान, मेरो अधिकार।’
अभिनेत्री रेखा थापाले चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट मतदान गरेकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी रेखाले मतदानपछि चुनाव जितिसकेपछि जनतासामु नाकमुख नै नदेखाउने नेताहरुको प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताइन्।
गायक हेमन्त शर्माले रुपन्देहीको सिद्धार्थनगरअन्तर्गत भानु माध्यमिक विद्यालयबाट मतदान गरेका छन्। अभिनेत्री सारिका घिमिरेले ललितपुर २३ बाट आफ्नो मत खसालेकी छन्।

देशका ७५३ वटै स्थानीय तहका विभिन्न पदका लागि बिहान ७ बजेदेखि मतदान जारी छ। साँझ ५ बजेसम्म जारी रहनेछ।
Shares

प्रतिक्रिया