कला


४६ वर्षपछि फेरि नेपाली गीत गाउन यसरी तयार भएकी थिइन् लता मंगेशकर

४६ वर्षपछि फेरि नेपाली गीत गाउन यसरी तयार भएकी थिइन् लता मंगेशकर

यज्ञराज जोशी
माघ २३, २०७८ आइतबार १६:०, काठमाडौँ

मुम्बईमै बसेर संगीतकर्म गरिरहेका नेपाली संगीतकार शिखर सन्तोषले ‘बाँचुञ्जेलीलाई’ गीतको डमी लता मंगेशकरको कार्यालयमा बुझाएको तीन वर्ष पुगिसकेको थियो। 

प्रसिद्ध भारतीय गायिका लताले गीत नगाए पनि एकपल्ट सुनिदिए हुन्थ्यो भन्ने उनको आशा थियो। तर ३६ भाषामा ३० हजार बढी गीत गाइसकेकी लताबाट गीत गाउन लगाउन हजारौँ लामबद्ध हुन्थे। डमी बुझाएको तीन वर्षसम्म पनि पालो नआउँदा सन्तोषमा निराशा छाउन लागिसकेको थियो। तर उनले हार भने मानेका थिएनन्। झिनो आशा बाँकी थियो। 

‘केही समयको अन्तरालमा म कार्यालयमा फोन गर्थे। सकारात्मक जवाफ भने कहिल्यै पाइनँ,’ सन्तोष एक दशकअघिको कुरा सम्झन्छन्, ‘एकदिन अचानक फोन आयो, ‘दिदीले तपाईंलाई बोलाउनुभएको छ’ भन्दा मेरो खुसीको सीमा नै रहेन।’ 

सन्तोषले गीतका शब्द र रामकृष्ण ढकालले गाएको सीडी पठाएका थिए। त्यो सुनेकी लताले सन्तोषसामु भनिन्, ‘शब्द, संगीत दोनो अच्छा है। आवाज भी अच्छी है, डमी किसने गाया है?’

सन्तोषले रामकृष्ण ढकालको बारेमा विस्तृतमा बताए। उनको चर्चित गायकका बारेमा सुनेपछि लता गीत गाउन राजी भइन्। त्यहीबेला उनले धेरैपहिले आफूले नेपालका राजाको अनुरोधमा गीत गाएको स्मरण गरेकी थिइन। 

२०२३ सालमा रिलिज भएको फिल्म ‘माइतीघर’को ‘जुन माटोमा मेरो’ लताले गाएको पहिलो नेपाली गीत हो। जुन तत्कालीन राजा महेन्द्र शाह (मविवि शाह)ले लेखेका थिए। लगत्तै मविवि शाहकै अर्को गीत ‘आकाशका तिर्मिरे म गन्न सक्तिनँ, मनको कुरा मुखमा ल्याई भन्न सक्दिनँ’ गीत समेत उनले गाएकी थिइन्। 

त्यसयता लताको आवाजमा नेपाली शब्द नगुञ्जिएको ४६ वर्ष भैसकेको थियो। ‘बाँचुञ्जेलीलाई’ गाउन तयार हुनु नेपाली संगीतका लागि मात्रै नभएर संगीतकार सन्तोष र गायक रामकृष्णका लागि पनि अविस्मरणीय क्षण थियो। 

‘लता मंगेशकरसँग गाउन को चाहँदैन र? भारतका कति चर्चित कलाकारले समेत उहाँसँग युगल गीत गाउने मौका पाएका छैनन्,’ ढकाल भन्छन्, ‘नेपालबाट गएर उहाँलाई प्रस्ताव राख्नु भनेकै ठूलो कुरा थियो। उहाँसँग युगल गीत गाउने पहिलो नेपाली गायक बनन पाउनु मेरो जीवनकालकै सौभाग्य हो।’

लताले डमी सुनिसकेपछि ढकालसँग कुरा गर्न चाहिन्। लताको फोन आउँदा आफू निकै नर्भस भएको अनुभव ढकाल सुनाउँछन। 

‘उहाँसँग बोल्दा म निकै नर्भस थिएँ। काँपिरहेको थिएँ,’ ढकाल सम्झन्छन्, ‘मैले डमी सुनेँ। तपाईंजस्तो त म गाउँन सक्दिनँ तर म राम्रो गर्न कोसिस गर्छु भन्नुभयो। त्यत्रो ठूलो गायकले त्यति भन्नु मेरा लागि धेरै ठूलो कुरा थियो।’

‘हजुरजस्तो कलाकारसँग गाउन पाउनु मेरा लागि सौभाग्य हो। यति शब्द भन्नु मेरा लागि अर्को ठूलो सौभाग्य हो,’ ढकालले जवाफ फर्काएका थिए। 

मुम्बईको अँधेरी वेस्टस्थित स्वरलता स्टुडियोमा लताले एकल र रामकृष्ण ढकालसँग युगल गरेर दुई पटक ‘बाँचुञ्जेलीलाई’ गाएकी थिइन्। 

लता प्रायः हिन्दीमै बोल्थिन्। केही केही शब्दहरु थाहा थियो। त्यसबेला नेपाली टोलीले लताका लागि पशुपतिनाथ मन्दिरको फ्रेमिङ उपहार लगेर गएका थिए। दिनेबित्तिकै लताले ‘ओ पशुपतिनाथ’ भन्दै खुसी भएर ग्रहण गरेकी थिइन्। 

ढकालका सामु लताले नेपाल आउने इच्छा समेत व्यक्त गरेकी थिइन्। तर, त्यसबेला ८२ वर्ष पुगिसकेकी लतालाई बाथलगायत स्वास्थ्य समस्याले सताइरहेकाले यात्रा गर्ने अवस्थामा थिइनन्। प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट ‘बाँचुञ्जेलीलाई’को एल्बमले विमोचित गर्दा ढकालले लतालाई नेपाल ल्याउने प्रयास समेत गरेका थिए। तर स्वास्थ्यका कारण त्यसबेला सम्भव नभएको उनी बताउँछन्। 

कवि मुरारी सिग्देल लताको निधनले नेपाली गीतसंगीतमा समेत अपुरणीय क्षति पुगेको बताउँछन्। नेपाली फिल्म र नेपालसँग लताको लगाव हुनुको प्रमुख कारण पशुपतिनाथ र हिन्दु धर्मप्रतिको उनको आस्था रहेको उनी बताउँछन्। 

‘उहाँ शिवभक्त भएकाले पशुपतिको देश भनेर नेपाललाई अत्यन्त श्रद्धा गर्ने गर्नुहुन्थ्यो,’ उनी भन्छन्।

सन १९२९ मा मध्य प्रदेशको इन्दौर सहरमा जन्मिएकी लताका बुबा पण्डित दीनानाथ मंगेशकर पनि गायक थिए। उनको परिवार शास्त्रीय संगीतमा भिजेको थियो। उनले कहिलै औपचारिक शिक्षा लिएकी थिइनन्। बीबीसीका अनुसार एक कामदारबाट उनले मराठी र एक पुरोहितबाट संस्कृत शिक्षा हासिल गरेकी थिइन्। 

१९४० को दशकमा बुबाको निधनपछि जेठी छोरी लताले परिवार चलाउन अभिनय समेत गरेकी थिइन्। उनले आठ मराठी र केही हिन्दी फिल्ममा अभिनय गरेकी थिइन्। परिवार पाल्नकै लागि अभिनयमा होमिए पनि उनलाई त्यसमा रुचि थिएन। 

१९४९ मा ‘महल’ फिल्मका लागि उनले पहिलो गीत गाएकी थिइन्। त्यसबेला उनको गायकीको निकै प्रशंसा भएको थियो र संगीतकारहरुले उनलाई पछ्याउन थाले। त्यसपछि उनले कहिलैपछि फेरेर हेर्नुपरेन। 

१९६२ मा भारत–चीन युद्धका दौरान सहिद भएका भारतीय सैनिकको सम्मानका लागि लताले गाएको ‘ऐ मेरे वतन के लोगों’ गीत सुनेपछि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुका आँखा समेत रसाएका थिए। 

अघिल्लो महिना कोरोना भाइरसबाट संक्रमित मंगेशकरको मुम्बईस्थित एक अस्पतालमा आइतबार बिहान ९२ वर्षको उमेरमा निधन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .