नेपाली कथानक चलचित्र ‘वर एण्ड वधू’ निर्माण हुने भएको छ।
यो चलचित्रको शीर्ष भूमिकामा अभिनेत्री आँचल शर्मा देखिने भएकी छिन्।
आँचलको जोडी कलाकारको भने खोजी भइरहेको छ। मिलन चाम्सले निर्देशन गर्न लागेको यो चलचित्रमा आँचल ‘वधू’को भूमिकामा देखिने छिन्।
भर्खरै चलचित्र ‘गोर्खा वारियर २’को निर्देशन सकेर बसेका चाम्सले यो चलचित्र मार्फत कमेडी र प्रेमकथा प्रस्तुत गर्नेछन्। फागुन तेस्रो साताबाट छायांकनमा जाने चलचित्रको कथावस्तु रोचक भएको चाम्स बताउँछन्।
उनले भने ‘कोरोनाको तेस्रो लहर कम भयो भने फागुनबाट छायांकनमा निस्कने तयारीमा छौँ।’
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नायक खोजी भइरहेको छ। हिरोको रुपमा नयाँ कलाकारलाई इन्ट्री गराउने सोच बनाएका चाम्सले इच्छुक कोही भए सम्पर्क गर्न समेत भनेका छन्।
चलचित्रका प्राविधिक अन्य कुरासँगै कलाकार र निर्माताका बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिने तयारी रहेको निर्देशक मिलनले सुनाए।
Shares

प्रतिक्रिया