कला


धुर्मुस-सुन्तलीले रंगशाला निर्माणबाट हात झिके

धुर्मुस-सुन्तलीले रंगशाला निर्माणबाट हात झिके

नेपालखबर
पुस ६, २०७८ मंगलबार १६:३६, काठमाडौँ

हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निक्कै तामझामका साथ चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थाले। धेरैले उनीहरुको प्रशंशा गरे। देश तथा विदेशमा रहेका थुप्रै नेपालीले आर्थिक सहयोग पनि गरे।

तर सीताराम जोडीले सोचेको जस्तो सजिलो थिएन अरुले गरेको सहयोगबाट रंगशाला निर्माण गर्ने काम।

धुर्मुस सुन्तली फाउण्डेसन खोलेर काम सुरु गरेका सीताराम काम गर्न सहज नभएपछि चिन्ता ब्यक्त गर्न थाले। उनको प्रशंशा गर्नेहरुले पनि विरोध गर्न थाले। अन्ततः सीतारामले रंगशाला निर्माण कार्यबाट हात झिकेका छन्। धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गर्दै पत्राचार गरेको छ। 

रंगशाला निर्माणका लागि आवश्यक आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँगको सम्झौता अनुसार नै स्वामित्व हस्तान्तरण गर्न लागिएको बताइएको छ। धुर्मुस सुन्तली फाउण्डेसनका अनुसार कोरोना महामारीका कारण आर्थिक स्रोत जुटाउन नसकिएको हो।

विगत ५ महिनादेखि निर्माण कार्य रोकिएको रंगशालाको स्वामित्व विषम परिस्थितीका कारण महानगरपालिकालाई हस्तान्तरण गर्न लागिएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ। 

धुर्मुस-सुन्तली फाउण्डेसनले महानगरपालिकालाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रङ्गशाला निर्माण कार्य कठिनाइ भएको छ।’

महानगरपालिका प्रमुख रेनु दाहालले निर्माण कार्य कठिन भएकाले फाउण्डेसनलाई स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताइन। यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको दाहालको भनाई छ।

रंगशाला निर्माणका लागि बहुवर्षीय योजना अन्र्तगत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको दाहालले बताइन। भरतपुर महानगरपालिकाको महत्वपूर्ण आयोजना भएकाले यसलाई सम्पन्न गर्न आफू लागि परेको दाहालको भनाई छ। 

रंगशालाको ३५ प्रतिशत काम सम्पन्न गरिसकेको बताउने फाउण्डेसनले अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भएको दाबी गरेको छ। रंगशाला सम्पन्न गर्न ३ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad