नेपाली चलचित्र उद्योगमा थुप्रै खाले घटना सार्वजनिक भइरहन्छन्। समाज परिवर्तनको एजेन्डा बोकेर उद्योगमा लागेकाहरू बेलाबेला आफैं पीडित हुने गरेका छन्। विशेषगरी उद्योगमा लैङ्गिक विभेदका घटना प्रशस्तै भेटिन्छन्। तर, एउटा हिंसामा पर्दा अर्कोले बोल्ने चलन खासै देखिँदैन। त्यसैले धेरै हिंसाका घटना भित्रभित्रै मिलाउने गरिएको छ।
संस्थागतरुपमा पनि फिल्म उद्योगका विभेदका बारेमा खासै बोलेको पाइँदैन। अब भने चलचित्र उद्योग भित्रको लैङ्गिक विभेदले चलचित्र विकास बोर्डको ध्यान तानेको छ। उद्योग भित्रका विभेदका घटनालाई अब विकास बोर्डले समाधान गर्नेछ।
धेरैले त उद्योग भित्रका विभेद र हिंसाका घटना बाहिर आउँदैनन्। बाहिर ल्याएको खण्डमा पनि पीडितले न्याय पाउँने गरेको दृष्टान्त छैन। त्यसैले पनि धेरैले हिंसाका घटनापश्चात उद्योग नै छोड्ने गरेका छन्।
घटना बाहिर आएर पनि न्याय नपाएको ज्वलन्त उदाहरण हो- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसीबीचको लफडा। पाका अभिनेता भुवनले आफूमाथि हिंसा गरेको आरोप लगाएकी शाहको मुद्दा नेपाल चलचित्र कलाकार संघसम्म त पुग्यो। संघले दुवैलाई मिलाउने कोसिस गर्यो। अन्ततः यो विवाद त्यसै सेलायो।
पीडितको पक्षमा दह्राे भएर उभिदिने संस्था नहुँदा साम्राज्ञीजस्ता थुप्रै महिला कलाकारले आफ्नो मुद्दालाई त्यसै छोडिदिएका छन्। यस्तै प्रकारका उजुरीमाथि अब चलचित्र विकास बोर्डले नेपाल प्रहरीमार्फत अनुसन्धान गराएर आरोपितलाई कारबाही गराउने भएको छ।
लैङ्गिक विभेदका उजुरी माथि न्यायिक समितिमार्फत समाधान गर्ने बोर्डले जनाएको छ। यो न्यायिक समितीले महिला र पुरुष दुवैमा भएको लैङ्गिक हिंसाको मुद्दालाई हेर्ने बोर्डका अध्यक्ष दयाराम दाहालले बताए।
लैङ्गिक विभेदका समस्या समाधानका लागि बोर्डको महिला शसक्तीकरण समितिले काम गर्नेछ। समितिको संयोजकका रुपमा भिमा मैनालीले उजुरी हेर्नेछिन्।
Shares

प्रतिक्रिया