दिपावलीको अवसर पारेर सिनेमा हलमा रिलिज गरिएको अक्षय कुमारको फिल्म सूर्यवंशीले एक सय करोडको आम्दानी गरेको छ। कोरोनाको जोखिम कायम रहेको समयमा पनि यो फिल्मले सय करोडभन्दा धेरै आम्दानी गरेको हो।
यद्यपि अक्षय कुमारले भने सफल हुने सूत्र कोहीसँग नभएको बताएका छन्। उनले दर्शकहरुप्रति आभार व्यक्त गर्दै भने, ‘मलाई दर्शकले यति धेरै माया दिएकोमा आफूलाई निकै भाग्यशाली सम्झिन्छु। महामारीबाट निस्किएर दर्शकहरु सिनेमाघर जानु, टिकट खरिद गर्नु र परिवारसँग हेर्ने क्रम अब सुरु भएको छ। म यसका लागि दर्शकप्रति आभारी छु।’
सूर्यवंशीमा अक्षय कुमारका साथै अजय देवगन र रणवीर सिंह पनि अतिथिको भूमिकामा देखिएका छन्। स्टार पावर र फिल्मको विषयमा कुरा गर्दै अक्षयले स्टार पावर केही नहुने र वास्तविक पावर स्क्रिप्ट र स्क्रिन प्ले हुने बताए।
सूर्यवंशी अक्षय कुमारको एक सय करोडभन्दा धेरै आम्दानी गर्ने १५ औं फिल्म हो।
Shares

प्रतिक्रिया