कला


टिकटक राम्रो हो तर सेलिब्रिटीहरु हलुका हुनुहुँदैन : रमेश उप्रेती

टिकटक राम्रो हो तर सेलिब्रिटीहरु हलुका हुनुहुँदैन : रमेश उप्रेती

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०७८ बिहिबार १८:३२, काठमाडौँ

नायक रमेश उप्रेतीले मल्टिमिडिया प्लेटफर्म टिकटक कला देखाउने राम्रो माध्यम भए पनि सेलिब्रिटीको परिचय बनाइसकेका कलाकारहरु हलुका हुन नहुने बताएका छन्। 

नेपालमा लोकप्रिय टिकटकबाट कयौँ कलाकारहरुले आफूलाई स्थापित गरिरहँदा सेलिब्रिटीहरुले जे पायो त्यही कुराको भिडियो बनाउन उचित नहुने उप्रेतीले बताए। 

केही वर्षअघिसम्म बिरलै भेटिने कलाकारहरुलाई अहिले दर्शकले सजिलै टिकटकमा भेट्टाउँछन्। सिनेमाको पर्दामा मात्रै देखिने कलाकार अचेल दर्शकका मोबाइलका स्क्रिनमा नाचिरहेका हुन्छन्।

यहीकारण कलाकारप्रति दर्शकको चासो घट्दै उप्रेतीको भनाइ छ। घरमै कलाकारको अभिनय टिकटकमा हेर्न पाउने भएपछि दर्शकहरु किन हलसम्म जाने? 
 

अभिनेता उप्रेती टिकटक नराम्रो नभए पनि कलाकारले रिजर्भ बस्नुपर्ने बताउँछन्। 

एक कार्यक्रममा पत्रकारले उनलाई सोधे, ‘कलाकारले टिकटक बनाउनु हुन्छ कि हुँदैन?’ उनको उत्तर थियो, ‘तपाईं नेपाली फिल्म क्षेत्रलाई माया गर्नुहुन्छ र व्यवसायिक कलाकार बन्न चाहनुहुन्छ भने रिजर्भ बस्नुपर्छ। हरेक क्रियाकलापको टिकटक बनाउनु ठीक होइन।'
 
मनोरञ्जनको माध्यम भए पनि पैसा तिरेर हलमा हेरिने कलाकारहरु टिकटकमा लागेर हलुका हुनु राम्रो नहुने उनले बताए। 

‘म निर्माताको हैसियतमा पनि भन्छु। कुनै कलाकारमाथि निर्माताले विश्वास गरेर लाखौं-करोडौंमा फिल्म बनाउँछु', उनले भने, 'तर त्यही कलाकारलाई सित्तैमा टिकटकमा हेर्न पाइन्छ भने दर्शक किन हलसम्म जान्छन्? यसबारे सबैले सोचौँ।'

उप्रेतीले पछिल्लो पटक चलचित्र ‘ऐश्वर्य’ पछि अभिनय गरेका छैनन्। उप्रेती यो फिल्मको यूट्युब राइट्स बेचेर पछुताएको पनि बताए। 

फिल्मको यूट्युब राइट्स ९९ वर्षका लागि बेचिने भएकाले आम्दानीको रोयल्टी निर्माताले एक रुपैयाँ पनि नपाउने उनले बताए। 

केही लाखको लोभमा करोडौंमा बनेको फिल्मको यूट्युब राइट्स नबेच्न पनि उनले अन्य निर्मातालाई  भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad