ad ad

कला


उनी भन्थे– ‘मर्दा पनि जनताकै गीत गाएर मर्न पाइयोस्!’

उनी भन्थे– ‘मर्दा पनि जनताकै गीत गाएर मर्न पाइयोस्!’

समर्पण श्री
भदौ १०, २०७८ बिहिबार १७:१८, काठमाडौँ

आमा दिदी बहिनी हो कति बस्छौ दासी भई
सुखको सधैँ प्यासी बनेर

जेबी टुहुरेले २०३३ सालमा गाएको यो गीतले आँसु बगाउने थुप्रै आमाहरूको मुटु दरिलो पारेको थियो। उनीहरूमा विद्रोहको चेत भरेको थियो। कलिला नानीहरूले लैंगिक असमानता र अन्यायविरुद्ध आवाज उठाउने कसम खाएका थिए।

दुनियाँ बदल्न हुटहुटी लगाउने यो र अरु थुप्रै कालजयी गीतका गायक टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको छ। 

मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित निवासमा लडेपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो। उपचारमा संलग्न चिकित्सकहरुले उनलाई ‘स्ट्रोक’ भएको बताएका थिए।

‘अब हामी सँगैसँगै एकैसाथ सुनिन पाउने छैनौँ, सबैलाई माया गर्ने प्रिय मान्छे अब हाम्रो साथ फेरि भेटिने छैनन्,’ जनगायक जीवन शर्मा जेबी टुहुरेलाई गुमाउनु पर्दा भावविह्ल बन्छन्। 

नहुन् पनि कसरी, गीत गाउँदै जनताका घरदैलोदेखि समुद्रपारिका मुलुकसम्म टुहुरेसँगै पुगेका थिए शर्मा। 

‘जनआन्दोलनमा सँगै गीत गाएको क्षण, ०६२/६३ को जनआन्दोलनको बेलामा गोली बारुदको धुँवासँगै आन्दोलन गरेका क्षण कसरी बिर्सनु?’ शर्मा मलिन स्वरमा भन्छन्। 

जीवनले ०३६ सालको आन्दोलनदेखि जेबी टुहुरेको साथ पाएका थिए। त्यसयता उनीहरूको साथ निरन्तर रह्यो। 

‘मर्दा पनि जनताकै गीत गाएर मर्न पाइयोस् जीवन,’ जेबी टुहुरेले एकपटक आफूलाई भनेको सम्झिरहन्छन् शर्मा।

२००१ सालमा धरानमा जन्मेका थिए टुहुरे। उनको बाल्यकालको नाम थियो जुठबहादुर खड्गी। २१ वर्षको उमेरमा बा गुमाएपछि उनले आफ्नो नामको पछाडि ‘टुहुरे’ झुण्ड्याएका थिए। 

बाको मृत्युपछि उनका दुःखका दिन सुरु भए। परिवार गरिब थियो। रोजीरोटी चलाउन उनले जीवनभर अनेक व्यवसाय गरे। 

काठमाडौँ आएर गीत गाउन थालेपछि उनको संगत कम्युनिस्ट कार्यकर्ताहरुसँग भयो। ०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए उनले। त्यसपछि उनले गरिब, निमुखा र दुःखीहरूको पक्षमा गीत गाउन थाले। पञ्चायती व्यवस्थाविरुद्ध पौँठेजोरी खेल्दै गाउँगाउँ पुगेर दमित, उत्पीडितहरुमा विद्रोहको दियो सल्काउन थाले। 

अभाव र गरिबीमा हुर्किएको उनको जीवन र उनले गाएका गीतहरूबीच थुप्रै समानता थिए। 

‘आँधीखोलैले मलाई रोइ रहने बनायो साहुको जालैले’ 

होस् वा 

‘लाखौंको लागि उजाड छ यो देश
मुट्ठीभरलाई पो स्वर्ग छ!’

यस्ता दर्जनौँ जनवादी गीत गाएका थिए जेबी टुहुरेले। जनवादी गायक रामेश मालेमा हुँदा जनवादी सत्ता ल्याउने सपना साँचेर टुहुरेसँगै गरेको काम सम्झिरहन्छन्। 

‘हामीले माले पार्टी बनाउन सबैभन्दा कठिन समयमा, कठोर हण्डर खाएर पनि काम ग¥र्यौँ,’ रामेश भन्छन्। 

पार्टी संगठनमा उनीहरूको अभियानको अतुलनीय योगदान थियो।  

टुहुरेसँग रामेशको भेट ०३२ सालमा भएको थियो। रामेशहरुले त्यसबेला राल्फा आन्दोलन चलाइरहेका थिए। जसमा टुहुरेको पनि साथसहयोग रह्यो।

पछि रामेशले पार्टी त्याग गरे। तर, टुहुरे भने सक्रिय थिए।

‘त्यसपछि भने हाम्रो कमै भेटघाट हुन्थ्यो। तैपनि उहाँले जुन त्याग गर्नुभएको थियो त्यसबाट म प्रभावित थिएँ,’ रामेश सम्झन्छन्। 

जनगायक रायनसँग पनि थुप्रै स्मृति छन् टुहुरेसँगका। ०२६ सालतिर उनीहरूको पहिलो भेट भएको थियो काठमाडौंमा। त्यतिबेलैदेखिको सम्बन्ध पछि विभिन्न सहकार्यमा पनि बदलियो। 

‘कुनै गीत नयाँ बन्दा सुन्ने, सुनाउने हाम्रो बानी थियो। अझ यसमा राम्रो कसरी गर्न सकिन्छ भनेर एकले अर्कालाई सुझाव दिन्थ्यौं। त्यसले गीत राम्रो बन्न सहयोग पुगेको थियो,’ रायन पुराना दिन सम्झिन्छन्।  

रायन पछिल्लो समय टुहुरेलाई भेट्न नपाएकोमा दुःखी छन्। 

‘कोरोनाका कारण हामीले सक्दो सहयोग गर्न सकेनौं। उहाँको दुःखद् अवसान भयो। उहाँको निधनले जनपक्षीय चेतना छर्नेहरूका निम्ति अपूरणीय क्षति पुगेको छ,’ रायन सम्झन्छन्। 

टुहुरेले ५ दशकसम्म योगदान गरेको पार्टी नेकपा एमालेबाट पछिल्लो समय आफू उपेक्षित भएको महसुस गरेका थिए। नेताहरुसँग गुनासो गर्दा उपेक्षापूर्ण जवाफ पाएको उनले निकटस्थहरुलाई सुनाएका थिए। 

त्यसैले उनी ०६६ मा नेकपा माओवादीमा प्रवेश गरे। र, संविधान सभाको सदस्य पनि भए। 

टुहुरे पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरुबाट निराश थिए। गणतन्त्र आए पनि जनताका जीवन नबदलिएको गुनासो उनी गरिरहन्थे।

‘हामीले जनताका गीत गाएर ल्याएको लोकतन्त्र जनतासम्म पुगेको छैन,’ उनी भन्ने गर्थे। 

सम्पूर्ण जीवन निमुखा र श्रमजीवीको हितमा खर्चेका टुहुरेको दुःखद् विदाइसँगै एउटा विद्रोहको आवाजले विश्राम लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .